किसानहरुको व्यवसायिक अलैची खेतीमा चासो

बागलुङ, ११ असार – पछिल्लो समय बागलुङका बिभिन्न स्थानमा किसानले अलैची उत्पादनमा पहल थालेका छन् । ताराखोला, बरेङ र काठेखोला गाउँपालिकाका किसानले व्यवसायिक अलैचीमा चासो बढाएका हुन् । बजारमा राम्रो मूल्य पाउने भएपछि अधिकांसले कोदो मकै फल्ने बारीमा अलैची लगाएका छन्भने फालिएको पाखोमा पनि अलैची लगाएका छन् ।

अलैची नलगाएमा ती स्थानमा बनमारा झारले ढाक्ने देखेपछि धेरै जमिन सदुपयोग भएको छ । एक पटक लगाएपछि पटक पटक उत्पादन लिन सकिने, बाँदरबाट जोगाउन सकिने र बर्षभरी दुःख गर्न नपर्ने देखेर धेरैले अलैची खेतीमा जोड दिएको बताए । ‘शुरु लगानी महंगो भएपनि नियमित आम्दानी लिन सकिने भएकोले अलैची खेतीमा ध्यान दिएका छौं’ बरेडङ गाउँपालिका २ का तुलसीराम पौडेलले भने, ‘केही बर्षअघिसम्म धान र मकै फलाउने खेतबारीमा कामदार पाउन छाडेपछि अलैची रोपेर भरेका हौं ।’ बजारमा अलैचीबाट मनग्ये आम्दानी समेत लिन सकिने उनले बताए । सोचेजस्तो मूल्य अझै पाउन नसकेपनि केही समयपछि उत्पादन बढाएर मूल्य पार्ने उनले बताए ।
काठेखोलाको लेखानी र बिहुँका किसनले पनि अलैचीमा लगानी बढाएका छन् । ‘सिंचाई भएको पाखो र खेत समेत मासेर अलैची लगाएका छौं’ लेखानीका काशीराम कंडेलले भने, ‘कामदार पाउन छाडियो, थोरै लगानीमा धेरै कमाई हुने खेतीमा लागेका छौं ।’ धान मकै लगाउँदाको खर्च फलबाट उठ्नै छाडेको उनले बताए । खेताला पाउन नसक्दा पनि अधिकांस जमिन बाँझीन थालेपछि किसानहरु खोल्साखोल्सीमा अलैची लगाउन लागेका हुन् । लेकाली बस्तीमा धान लगाउँदा लगानी उठाउन समेत कठिन थियो । तरकारीका लागि पनि धेरै मेहेनत चाहिने भएपछि अधिकांसले अलैची लगाएर कमाई गर्न थालेका हुन् ।

बरेङ गाउँपालिका वडा नं. १ र २ का किसानले तालिम र प्रविधि समेत भित्राएर व्वयसायिक बनिसकेका छन् । ताराखोलामा अलैची ब्लक बनाउने तयारी समेत छ । सुरुमा कृषि प्राविधिकको सल्लाह र बजारमा महंगोमा बिक्री भएको बुझेर लगाएको खेती अहिले उनीहरुको कमाई गर्ने माध्यम बनिसकेको छ । पौडेलले मात्र यतिबेला बार्षिक ४ लाख कमाउन थालिसकेका छन् । मूल्य नपाएकै बर्ष पनि किसानले प्रतिकेजी न्युनतम ५ सय ५० रुपैयाँमा बिक्री गरेका छन् । लामो समय शिक्षणमा बिताएका पौडेलले पूर्वेली किसानको संगतबाट अलैची गाउँ भित्राएका थिए । अहिले उनको बारीमा मात्र ४ सय गाँज छन् । एक दुई बर्षमा बरेङ गाउँपालिकामा मात्र ५० टन अलैची फलाउने लक्ष राखेका छन् ।

गाउँपालिकाको कृषि शाखाले पनि अलैची उत्पादनमा सहयोग गरेको छ । ‘पटक–पटक तालिम, प्रविधि र बीउ समेत सहयोग पाएपछि धेरै किसान हौसिएका हुन्’ नायव प्राविधिक सहायक रुपादेवी शर्माले भनिन्, ‘सुकाउनका लागि भट्टी निर्माण समेत धमाधम भैरहेको छ ।’ गाउँपालिकाकै सहयोगमा यहाँ ८ वटा भट्टी निर्माण भैसकेका छन् । एउटा भट्टी बनाउन कम्तिमा ७० हजार रुपैयाँ खर्च हुन्छ । गाउँपरिषदबाटै निर्णय गरेर ती भट्टीका लागि लगानी गरिएको अध्यक्ष कृष्णप्रसाद शर्माले बताए ।
किसान संगठित भएर नमूना अलैची कृषि समूह गठन गरेका छन् । ताराखोला गाउँपालिका २ अर्गलका मानबहादुर बिकले पनि कोदो फल्ने बारी मासेर अलैची थालेका छन् । बर्षभरी दुःख गर्दा १० पाथी कोदो फलाउन धौधौ पर्ने बारीमा २ लाख कमाउन थालेको बताए । अर्गलका दर्जनबढी घरमा अलैची खेतीको व्यवसायिक उत्पादन शुरु भैसकेको छ । केही किसानले बार्षिक ५ लाख कमाउन थालिसकेका छन् । गाउँपालिकाले पनि किसानको मेहेनत र चाहनालाई पुरा गर्न बिरुवा र प्रविधिमा साथ दिने निर्णय गरेको अध्यक्ष प्रकाश घर्तीले बताए ।

गाउँपालिकाले अर्गल र अमरभूमिमा अलैंची ब्लक बनाउने नीति लिएपछि किसान हौसिएका छन् । यहाँ पूर्वको संखुवासभाका व्यवसायी आएर तालिम र प्रविधि सिकाएका छन् । ‘बर्षभरी दुःख गरेर लगानी पनि नउठ्ने काम छाडेर अलैचीमा लागेका छौं’ स्थानीय तुलसी रोकाले भनिन्, ‘युवालाई काम खोजेर बिदेश नजाने बनाउन यो खेती उपयोगी रहेछ ।’ चार बर्षअघि परंपरागत खेती मासेर उनले अलैंची रोपेकी थिइन् । अलैंचीको मूल्य बेलाबेलामा घटी बढी हुने भएकोले किसानको उत्पादन संकलन गर्ने र मूल्य पाउँदा बिक्री गर्न भण्डारन कक्ष बनाउने तयारी समेत छ । पोखरा र झापाका व्यपारीले सम्पर्क अलैची खरिद गर्न थालेकोले भण्डारन कक्ष बनाउन गाउँपालिकाले सहयोग गर्ने घर्तीले बताए ।