नेपाली समाजमा महिला मुक्तिको प्रश्न ?

मानव समाज विकास क्रममा इतिहासलाई अध्ययन गर्दा पहिला कुनै वर्ण थिएन, विभेद थिएन सबै मानिस श्रम गर्दथे, वर्गबिहिन आदिम साम्यवादी समाज थियो, परिवार र समाजमा मुख्य भूमिका आमाको रहन्थ्यो, पुरुपहरु शिकार गरेर ल्याउथ्यो आमाले सबैलाई बाँडेर खुवाउँथिन् । त्यति बेला मातृसत्ता थियो । सबै अधिकार महिलाहरुकै हातमा थियो । ढुङगे युगपछि कृषि युग शुरु भयो । मानिसहरु उत्पादनसंग जोडिन थालेदेखि उब्जेको अन्न बचत हुन थाल्यो, त्यहीँबाट निजी सम्पत्तिको शुरुवात भई वर्ग विभाजन भयो । निजी सम्पत्ति श्रम विभाजनमा मानसिक श्रम र शारीरिक श्रमको असमानता त्यहीँदेखि श्रमको विभेदबाट वर्गिय समाजको वर्गिय सत्ताको जन्म भयो । नेपाली समाज सामन्तवादमा आधारित रहेको, सामन्तवादी सोच र चिन्तन हुनुले मातृसत्तालाई खोसे र पृतिसत्ता हाबी हुन पुग्यो । त्यसैबाट दास प्रथा युगको जन्म भयो । दास युगदेखि महिलाहरुप्रति चरम शोषण, दमन, उत्पीडन, महिला पुरुष बीचको विभेद शुरु भयो । सामन्तवादले मजवादलाई व्यवस्थित गर्दै पुरुषलाई प्रधान मान्दै विभिन्न खालको विभेद गरिदै आएको पाइन्छ । विगतदेखि हालसम्म पनि छोरा र छोरीप्रति गरिने विभेद यथावत नै पाइन्छ । विगतमा छोरीलाई शिक्षामा वञ्चित गरि चुलोचौकोमा सिमित गरियो । छोरालाई पैतृक सम्पत्ति माथिको स्वामित्वमा अधिकार रहने व्यवस्था गरि छोरीको व्यक्तिगत स्वतन्त्रतामा विभेद शुरु गरियो । कहिल्यै पनि महिला सम्पत्तिको मालिक हुन पाएनन्, सधै पुरुषको दासनै रहीरहने व्यवस्थाको विकास भयो ।

त्यतीँ बेला राजा महाराजाहरुदेखि पुँजीपति सामन्तीहरु आर्थिक र शारीरिक शोषण गर्दै अधोषित बन्धनमा राख्ने र आफ्नो उपभोग्य बस्तु बनाउने दासीहरुको रुपमा राख्ने प्रचलन रहँदै आयो । सामन्तवादी युगमा आउँदा सामाजिक, धार्मिक, रुढीवादी, अन्धविश्वास कुरीति, कुसँस्कारमा जगडिएको नेपाली समाजमा महिलालाई घर भित्रको काममा सिमित गरियो । जसअन्तर्गत चुलोचौका, ढिकीजाँतो, पानीपँधेरो, गाइबस्तु, खेतीपाती लगायतका कामहरु गर्न पर्दथ्यो । उसलाई बच्चा जन्माउने मेसिनको रुपमा हेरियो, घरेलु हिंसा, छाउपडी, दाइजो, घुम्टो, कुमारी, बोक्सी प्रथा जस्ता विभिन्न खाले विभेद रहेको अवस्था वा यहाँसम्म आइपुग्दा महिला भएकै कारण अनेकौँ प्रकारका यातना, उत्पीडन र विभेदको शिकार भई बाँच्न परेको अवस्था हो ।

सामन्तवादी राज्य सत्ताको चरित्र

सयौं वर्षदेखि एकातिर सामन्तवादी पितृसत्ता र अर्कोतिर सामन्ती राजतन्त्रात्मक केन्द्रित राज्य व्यवस्थाको दोहोरो मारमा परेका महिला सामाजिक, आर्थिक, राजनीतिक, शैक्षिक लगायत सबै क्षेत्रबाट बञ्चित गराइयो । विगतदेखि वर्तमानसम्म आइपुग्दा सामान्य परिवारदेखि सम्पन्न परिवार, शिक्षित परिवारसम्म पनि गरिने व्यवहार एउटै पाइन्छ । हाम्रो जस्तो पुरुष प्रधान समाजमा महिला दोस्रो दर्जाको नागरिकको रुपमा बाँचेका छौं । महिलामा हुने तमाम उत्पीडन रहँदारहदै पनि फेरि महिला महिलाबीच पनि थप उत्पीडन रहदै आएको छ । समाजमा एकातिर छोरी बुहारीलाई हेर्ने दृष्टिकोण पनि फरक छभने अर्कोतिर सासु र बुहारी प्रतिको अन्तरविरोध पनि कायमै छ । समाजमा यसरी हेर्दा महिलाको चेतनास्तर कमजोर भई महिलाहरु बीच अन्तरविरोध रहदै आएको देखिन्छ । वास्तविक रुपमा महिला–महिला बीचमा अन्तरविरोध जस्तो देखिए पनि सारमा सामन्ती पृतिसत्तात्मक राज्यको विभेदकारी नीतिकै कारणले गर्दा यसो हुन पुगेको हो ।

नेपालमा मनु भन्ने ऋषिले पशु, महिला ढोल, भद्र (दलित) लाई दमन गरेर तह लगाउनु पर्छ भनेर मतुस्मृतिमा उल्लेख गरेरका छन् । त्यतिबेला मनु भन्ने ऋषिले लेखेका विचारलाई राज्यको निर्देशक सिद्वान्तको रुपमा अबलम्वन गर्यो । जसअनुसार छोरीलाई पढ्न हुँदैन, बढी बोल्न हुँदैन, घर छोडेर बाहिर जान हुँदैन, छोरीबुहार संस्कारी हुनुपर्छ भन्ने मान्यताको विकास गरियो, महिला बोल्दा कति जान्ने भएकी हो ‘पोथी बासेको सुहाउँदैन’ भन्ने नेपाली उखानको समेत विकास गरि पुरुष ठुलो मान्ने महिला केही होइन भन्ने मान्यताको विकास भई आयो । महिलाहरुमा पनि हिनताबोध र निराशा भई आत्मबल नै कमजोर हुन पुग्यो । जसका कारणले आफु छोरी भई जन्मनु भाग्यले ठगेको हो भन्ने आध्यात्मवादी चिन्तनको विकास हुन पुग्यो । महिलाहरुले सामन्ती पितृसत्ताको शोषण विभेद हो भन्ने कुरा ठम्याउन सकेनन् । सामन्तवादी पितृसत्ताले आफ्नो वर्गीय सत्तालाई संस्थागत गरि आफ्नो अनुकुलताको संस्कार र संस्कृति निर्माण ग¥यो । महिला घरको लक्ष्मी हुन्, जुन घरमा महिला सधैं हाँसी खुसी रहन्छीन, सहनशील हुन्छीन, मेहेनत गरिछिन् भने त्यो घरमा लक्षिन हुन्छ । सबैथोकले बास गर्छ भनी महिलालाई घरमा सिमित बनाई राखियो । सधै बिहान ४ बजे उठेर बेलुका १० बजेसम्म मेसिन जस्तै खटिँदा पनि आफ्नो खुसी के हो, कहिल्यै थाहा भएन । सधै आवाजविहिन, सम्पत्तीविहिन, शक्तिविहिन बनाइयो ।

नेपाली समाजमा महिलाप्रतिको दृष्टिकोण

नेपाली समाजमा अहिले पनि महिलामाथि हुने उत्पीडन विभिन्न स्वरुपहरु कायम छन् । सिमित रुपमा प्राप्त भएका उपलब्धीहरुलाई रक्षा गर्ने कुरा गरिरहँदा अहिले पनि अन्धविश्वास र रुढीवादी विचारले समाज, परिवार र प्रत्येकको मस्तिष्क ग्रसित बनाएको छ । बोक्सी, छाउपडी, बलात्कार, हिंसा, बेचबिखन, हत्या बढ्दो छ । हालसालै पनि महिला र बालिकाहरुमाथि दर्दनाक घटनाहरु भएको देखिरहेका छौं । बोक्सीको आरोपमा जिउँदै जलाउने जस्ता घटना घटेको पाइन्छ । बलात्कार र सामूहिक बलात्कारले महिलाहरुको जीवन नै क्षतविच्छेद भएको छ, दाईजो नल्याएको निहुँमा महिलाहरु जिउँदै जल्नुपर्ने, बहुविवाह र बालविवाह न कानुनले न त समाजले रोक्न सकेको छ । धर्म, परम्परा र संस्कारको नामबाट छाउपडी, झुमा, देउकी जस्ता गलत परम्पराहरु कायम रहेका छन् । अर्कोतिर आधुनिकीकरणसंगै समाजमा सामाजिक अपराध बढिरहेको छ । महिलाहरुको सौन्र्दयलाई व्यापारमा लगाइएको छ । बजारमा विज्ञापनको साधन बनाएको छ ।

अझै पनि एउटै कोखबाट जन्मेका छोराछोरीमा विभेद गरिन्छ । राज्यले महिलाको लागि संवैधानिक हक अधिकारको व्यवस्था संविधानमा गरेपनि व्यवहारिकतामा समानता देखिदैन । अझैपनि नेपाली समाजमा छोरा जन्मदा खुशी हुने र छोरी जन्मदा दुःखी हुने परम्परा रहिआएको छ । गर्भ परिक्षण गरि लिङ्ग पहिचानको आधारमा गर्भपतन गरिन्छ । छोरा अंश र वण्डाका धनी हुन भनिन्छ । एउटा छोरी सानो छँदा बाबा, विवाहपछि श्रीमान र श्रीमानको शेषपछि छोराको अधिनमा रहनु पर्छ भन्ने मनुवादी सोच, मान्यता र संस्कारले घरभित्रको काम महिलाको र घर बाहिरको काम पुरुष भन्ने सोच जर्बजस्त विकास गरिएको गलत मान्यताले महिलाहरु परनिर्भर र कमजोर हुँदै गएको अवस्था हो । जब महिलाहरु घरको चुलोचौकाबाट बाहिर आउँछन्, आर्थिक उत्पादनमा सहभागी बन्छन् तब मात्र महिलाहरु बास्तवमा स्वतन्त्र हुन्छन् ? त्यसैले कार्लमाक्सले महिला समानताको लागि उत्पादनमा उनीहरुको सहभागिता अनवार्य छ भनेका थिए । पुरुष निर्भर रहन चाहने महिलाहरु कहिले पनि स्वतन्त्र हुन सक्दैनन् । धेरैभन्दा धेरै महिलाहरुलाई आत्मनिर्भर बनाउनेतर्फ ध्यान दिनु जरुरी छ ।

महिला मुक्तिको कार्यादिशा

आजको २१ औं शताब्दीमा आईपुग्दा पनि हाम्रो समाजमा सामन्ती सोच, चिन्तन, संस्कृति अझै पनि यथावत रहेका छ । नेपाली समाजमा महिलाप्रतिको बुझाई र व्यवहार अझै पनि सामन्ती कालको जस्तै रहीआएको छ । संविधानमा महिलाको ३३ प्रतिशत संवैधानिक अधिकारको सुनिश्चित भएको छ । देशको व्यवस्थापिकाको प्रमुख र न्यायपालिकाको प्रमुख पदमा महिला पुगि सकेका छन् । हाल राष्ट्र प्रमुखको हैसियतमा राष्ट्रपतिको रुपमा महिलानै पुग्न सफल भएकी छिन् । नेपालमा महिला आन्दोलनको कोणबाट हेर्दा महिलाहरु संवैधानिक रुपमा अधिकार सम्पन्न भएको अनुभूत हुन्छ । त्यसै गरी देशमा संघियता लागु भएसंगै स्थानीय तहमा महिलाहरु कार्यकारी प्रमुख र उपप्रमुख तथा भारी संख्यामा महिला सदस्यहरु भएका छन् । यसरी हेर्दा राज्यका विभिन्न निकाय र तहमा महिलाको सहभागितामा विकास हुँदै गएको छ । यो सकारात्मक पक्ष हो, अर्कोतर्फ आम महिलाको मुक्तिको कोणबाट हेर्दा देशका अधिकांश ग्रामिण महिलाहरुको अवस्था दयनिय देखिन्छ । श्रम गरेर खाने महिला खोलाको किनारमा गिटी कुट्ने, होटलमा जुठा भाडा माझ्ने महिलाहरुको दैनिकीमा सुधार नभएको अवस्था देखिन्छ । यसरी हेर्दा नेपालको महिला मुक्ति आन्दोलन संवैधानिक अधिकारको कोणबाट हेर्दा सकारात्मक र सन्तोषजनक देखिए पनि कार्यान्वयन र व्यवहारिकताको कमजोरी देखिन्छ । यसको लागि महिला आन्दोलनलाई पुनःसंगठित गर्दै सामन्ती सोच, चिन्तन र संस्कार जस्ता संस्कृतिको विरुद्व विरोध स्वरुप घना जुलुस त भएका छन् । तर संयुक्त आन्दोलन सञ्चालन गर्न नसक्दा पिडितलाई न्याय र पिडकले सजाय नपाउने स्थिति बन्न सक्छ ।
अबको दिनमा महिला संगठन र महिलाहरुको क्षेत्रमा कार्यरत संस्थाहरुको बीच समन्वय गरी ती तमाम विकृतीका विरुद्धमा एकतावद्ध सशक्त र संयुक्त आन्दोलन सञ्चालन गर्नुपर्छ । यी आन्दोलन सहर बजारमा मात्र केन्द्रित नगरी ग्रामीण क्षेत्रसम्म पु¥याउनु पर्छ । यसले समाजमा महिलाहरुलाई हेर्न दृष्टिकोणमा थप स्पष्ट र सकारात्मक बनाउने छ । महिलाहरुको सामाजिक सुरक्षाको ग्यारेन्टी गर्ने, बातावरण सिर्जना गर्छ, महिलाहरुलाई सम्मान गर्ने नयाँ संस्कृतिको विकास हुन्छ । राज्यले महिलालाई नीति निर्माण तहमा पु¥याउने महिलामैत्री ऐन कानुन निर्माण गर्ने, महिलाको आर्थिक तथा शैक्षिक क्षेत्रमा विकास गर्ने नीति तथा कार्यक्रम तय गर्ने, आत्मस्वाभिमानको विकास गर्ने जस्ता कार्यक्रमहरु ल्याइनु पर्छ । त्यसैगरि महिला आफैले पनि आफ्नो हक अधिकार र यसको प्रभावकारी कार्यान्वयन लागि एकल र संगठित रुपमा पहलकदमी लिन जरुरी छ । यसरी मात्रै महिला हक अधिकारलाई थप सुदृढ गर्न र महिला मुक्ती आन्दोलनलाई प्रभावकारी बनाउन सकिन्छ ।