आफ्नै नजरबाट नगिरौं !

देश यतिबेला ‘सलामी’ले तातेको छ । तताउने व्यक्ति धनकुटाको महालक्ष्मी नगरपालिकाका मेयर पर्शुराम नेपाल हुन् । उनले टेबुलमाथि चढेर सलामी खाएको तस्वीर सामाजिक सञ्जालमा आएपछि उनी आलोचनाको पात्र बने नै, उनीजस्तै सलामीका भोकाहरुबारे पनि खोजिनिती थालियो । खेलकुद प्रतियोगिताको उद्घाटन गर्न पुगेका मेयरले टेबुलमाथि चढेर सलामी खाएका थिए । सलामी खाने त्यो दृष्य आफैमा हास्याष्पद त थियो नै, शक्तिप्रतिको आशक्ति पनि झल्कन्थ्यो । तर, यसरी अरुभन्दा अग्लिएर सलामी खाने पर्शुराम पहिलो व्यक्ति थिएनन् र हैनन् । यसअघि थुप्रै मै हुँ भन्नेले यही तरिकाबाट सलामी खाएका छन् । आफूलाई अरुभन्दा श्रेष्ठ हुँ भन्ने देखाएका छन् । यो उपक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पनि जोडिन पुगेका छन् ।

राज्यले निश्चित व्यक्तिलाई सलामी दिन्छ । सलामी पाउने हक भएकाहरुले सलामी खाँदा हुन्छ । प्रहरीले सलामी खाने व्यक्तिको निश्चित मापदण्ड बनाएको छ । तर, मापदण्डमै नपरेकाहरुमा पनि सलामीको भोक जागेको छ । कोही पिर्का, कोही टेबुल त कोही के मा बसेर सलामी खाएका तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजनिक हुन थालेका छन् । यो सूचना प्रविधिको जमाना हो । सामाजिक सञ्जालमार्फत आफ्ना विचार तत्काल प्रकट गर्न पाउने स्वतन्त्रताको उपभोगगर्दै नागरिकस्तरबाट आएका आवाजहरु चर्को सुनिन थालेका छन् । नागरिक पत्रकारिताको अभ्याससँगै मै हुँ भन्नेहरुले देखाएको रवाफ र उनीहरुको ठाँटबारे कडा टिप्पणी तथा असन्तुष्टीका स्वरहरु गुञ्जन थालेका छन् । आफूले भोट दिएर जिताएका जनप्रतिनिधिमा देखिएको शक्तिमोहले जनता स्वयं लज्जित बनेका छन् । जनताबीचबाटै उठेकाहरुमा पनि कसरी शासक बन्ने महत्वाकांक्षा जाग्छ भन्ने उनीहरुले बुझ्न थालेका छन् । त्यसैले उनीहरु मुखरित बनेका छन् । जनता मुखरित भएको सत्ताले रुचाएको छैन । त्यसले ऊ सामाजिक सञ्जालप्रति अनुदार देखिएको छ । तर, जनताले बोल्न छाडेका छैनन् । उनीहरुले अहिले नेतामा देखिएको सलामी मोहप्रति कुरीकुरी गरेका छन् ।

बुद्ध भन्छन्, ‘आफूले आफूभित्र नियाल्ले गर ।’ आफूले आफैलाई नियाल्न सके कम्तिमा आफ्ना गुण÷दोष के छन् भन्ने मान्छेले बुझ्न सक्छ । महत्वकांक्षाको रथ चढेर अगाडि बढ्दा मानवीयता हराउँछ र अहंभाव बढ्छ । अंहको विषर्जन गर्न सक्नु नै जीवन हो । आफूलाई जति सरल बनाउन सकिन्छ, मानिस उति नै सबैको प्रिय हुन्छ । शक्तिको आडमा गरिने प्रपञ्चले व्यक्तिलाई कहिँ पु¥याउँदैन । जुन दिन मान्छे शक्तिहीन हुन्छ, त्यो दिनमा बल्ल उसले आफू कुन धरातलमा छु र थिएँ भन्ने थाहा पाउँछ । भला मानिसहरुले यो ध्रुवसत्य छिट्टै मनन गर्छन् र आफ्नो आनिबानी सुधार्छन् । अहंभावमा बाँच्नेहरु जीवनभर अह्मका दाश बन्छन् र समाजको आँखामा त्यक्त हुन्छन् । आफू त्यक्त हुने कि सबैको बन्ने भन्ने कुरा व्यक्तिको निर्णयमा भर पर्छ । एउटा व्यक्तिले मात्रै विवेक पु¥यायो भने समाज रुपान्तरण हुन सक्छ । अहिले नेताहरुमा जुन शक्तिमोह देखिएको छ, त्यसले मध्ययुगीन सामन्तवादको स्मरण गराउँछ । अग्लो ठाउँमा बसेर मान्छे अग्लिने हैन, मान्छे अग्लन सोचाई उँचो हुनुपर्छ । उँचो सोचाई भएकाहरु यत्तिकै सलामी पाउँछन् । सत्ता र शक्तिको पछि लागेर अर्काको आँखाबाट गिर्नुभन्दा अघि आफैले आत्मसमीक्षा गरौँ । मान्छे भएर कम्तिमा आफ्नै आँखाबाट समेत गिर्ने अवस्था नआओस् भन्नेमा सचेत हुने हो भने यस्ता विकृतिहरु आफै नामेट भएर जान्छन् भन्ने तत्ववोध पनि गरौँ ।