अधिवेसन विना बुद्धिचाल संघको नयाँ समिति गठन प्रति आपत्ती

बागलुङ, ११ असार – बागलुङ बुद्धिचाल संघले आधिकारिक अधिवेसन नभई नयाँ समिति गठन भएको आरोप लगाएको छ । संघले बुधवार आफ्नै लेटरहेडमा बिज्ञप्ती प्रकाशित गरेर बागलुङ बुद्धिचाल संघका कुनै पदाधिकारीहरुलाई जानकारी नगराई नयाँ संघ गठन गरिएको भन्ने सूचना प्रति आपत्ति जनाएको हो ।

विसं २०५५ सालमा केन्द्रिय बुद्धिचाल संघको तत्कालिन महासचिव रामविर श्रेष्ठको प्रमुख आतिथ्यतामा बागलुङ जिल्लामा भिमसेनप्रसाद शाक्यको अध्यक्ष्यतामा संघ गठन गरीएको थियो । त्यसपछि संघले कुनै अधिवेसन गरेको छैन । शाक्य नेतृत्वकै संघले समय समयमा जिल्ला तहमा बुद्धिचाल प्रतियोगिताहरु पनि आयोजना गर्दै आएको थियो । एक्कासी संघलाई कुनै जानकारीनै नगराई अर्को संघ गठन गरेको सूचना आएपछि भने शाक्यले विज्ञप्ती मार्फत खेद प्रकट गरेका हुन् । केही संचार माध्यममा शेखर खड्काको अध्यक्षतामा संघ गठन भएको समाचार प्रकाशित भएको भन्दै उनले आश्चर्य चकित भएको बताए ।

केन्द्रीय संघको नीति निर्देशन र नियमलाई पालन गर्दै आफ्नो क्रियाकलापलाई अगाडि बढाएको उनले दावी गरे । संघले केन्द्रीय बुद्धिचाल संघको महाधिवेशनमा पनि आफ्नो प्रतिनिधि पठाई भाग लिई आइरहेको जनाइएको छ । संघले विज्ञप्ती मार्फत नयाँ संघको गठन प्रति आश्चर्य व्यक्त गर्दै कुन मनसाय बाट यस्तो क्रियाकलाप हुन गएको हो सो को सत्य तथ्य जवाफ पाउँ भन्ने माग समेत राखेका छन् । जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष धनबहादुर परियारले पनि यो बिषय समन्वय अभावले आएको बताए । ‘समन्वय गरेर अधिवेसन गरेको भए बिबाद आउने थिएन’ परियारले भने, ‘भीमसेन जी पनि बसिरहन खोज्नु भएको छैन, तर समन्वय गरेको भए हुन्थ्यो ।’