बागलुङ नगरपालिकाले ल्यायो १ अर्व १ करोड ५७ लाखको बजेट

बागलुङ, ११ असार – बागलुङ नगरपालिकाले बुधबार आगामी आर्थिक बर्ष २०७६÷०७७ का लागि १ अर्व १ करोड ५७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । गत बर्षको १ अर्व १६ करोड ६७ लाख रुपैयाँको बजेटमा यो बर्ष १५ करोड कम अंकको बजेट आएको हो । अघिल्लो बर्ष राखिएका राजश्वका सिमा प्रति व्यवसायीहरु निरन्तर आन्दोलित भएपछि करका दर समायोजन गर्दा बजेटको आकार समेत घटेको हो ।

उपप्रमुख सुरेन्द्र खड्काले प्रस्तुत गरेको बजेटमा पूर्वाधार बिकास, शिक्षा, कृषि र स्वास्थ्यमा प्राथमिकता दिएको छ । आगामी बर्षका लागि कुल बजेट मध्ये चालु खर्च तर्फ ७१ करोड ९२ लाख ९१ हजार १ सय ५४ रुपैयाँ अर्थात ७०.८१ प्रतिशत बिनियोजन गरिएको छ । पूँजिगत तर्फ २३ करोड ३७ लाख ६३ हजार रुपैयाँ अर्थात २८.९२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ २७ लाख रुपैयाँ अर्थात ०.२६ प्रतिशत बजेट बिनियोजन गरीएको छ । गत बर्षको तुलनामा बिभिन्न कर घटाउने निष्कर्षमा पुगेको नगरपालिकाले आगामी बर्ष कर दस्तुरबाट ५ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष बनाएको छ ।

आगामी बर्ष घर जग्गा रजिष्ट्रेसनबाट १ करोड ५० लाख आम्दानी गर्ने लक्ष राखिएको छ । त्यस्तै ढुंगा गिटी बालुवा तर्फबाट १ करोड ४० लाख १० हजार आय हुने अनुमान छ । यस अघिका बर्षहरुमा वातावरणीय प्रभाव मूल्यांकन नभएको तथा भएका स्थानमा पनि ठेकेदारहरुले सम्झौता नगरी नदी दोहन गरेर राजश्व संकलन हुन दिएका थिएनन् । बसपार्क निर्माणका लागि नगरबिकास कोषबाट प्राप्त हुने ऋण तथा अनुदानको ५ करोड, संघिय सरकारबाट प्राप्त हुने बित्तीय समानिकरण अनुदान, सशर्त अनुदान, राजश्व बाँडफाँड समेत गरी प्राप्त हुने १ अर्व १ करोड ५७ लाख रुपैयाँबाट खर्चका सिमा समेत तोकिएको हो ।

गत बर्षदेखि सञ्चालनमा रहेको ‘गरिव सँग ऋषिराम’ कार्यक्रमलाई निरन्तरता दिइएको छ । त्यसको कोष बृद्धिका लागि २० लाख रुपैयाँ बिनियोजन गरिएको छ । ‘गोविन्द अधिकारी व्यवसायिक शिक्षा छात्रवृत्ति कार्यक्रम’लाई निरन्तरता, ‘भगत सर्वजित विश्वकर्मा सीप तथा रोजगार प्रवर्धन कार्यक्रम’ सञ्चालन, कृषि क्याम्पस सञ्चालन, ‘जनता सुरक्षित आवास कार्यक्रम’ सञ्चालन, विद्यालय र शिक्षकको संख्याको अनुपातमा विद्यार्थीहरु नभएका विद्यालयहरुलाई मर्ज गर्ने, बीरशाली पन्त स्मृती साहित्य पुरस्कार र विकास पत्रकारीता पुरस्कार स्थापनाको घोषणा गरिएको छ । ती कोषमा बजेटको आकार देखाइएको छैन ।

प्रस्तुत बजेटमा कृषिवाली तथा वागवानी विकास कार्यक्रमका लागि ५० लाख ५० हजार रुपैयाँ, पशु विकासका कार्यक्रमका लागि २८ लाख ७८ हजार १ सय ९४ रुपैयाँ, उद्यम तथा रोजगार प्रवर्धन एवं गरिबी न्यूनिकरण, पर्यटन तथा जलश्रोत र सिंचाइ कार्यक्रम, समेतका लागि ८३ लाख रुपैयाँ गरी आर्थिक विकास तर्पm १ करोड ६० लाख ७७ हजार १ सय ५४ रुपैयाँ विनियोजन गरिएको छ । वागलुङ वजार खानेपानी लगायतका विभिन्न खानेपानी आयोजना सञ्चालन र सरसफाई कार्यक्रम समेत तर्पm १ करोड ६५ लाख रुपैयाँ, युवा तथा खेलकुद विकास कार्यक्रम तर्फ मेयर कप फुटबल कार्यक्रमको लागि ३४ लाख रुपैयाँ, लैंगिक समानता तथा सामाजिक समावेशिकरण कार्यक्रमका लागि ३३ लाख रुपैयाँ, कृषि क्याम्पस सञ्चालनका लागि ९० लाख रुपैयाँ विनियोज गरीएको खड्काले जानकारी दिए । त्यस्तै भौतिक पूर्वाधार बिकास, स्वास्थ्य शिक्षा, खानेपानी र सिंचाई लगायतका क्षेत्रमा समेत बजेटको व्यवस्था गरेको खड्काले जानकारी दिए ।

आगामी बर्ष जनस्वास्थ्य कार्यक्रमका लागि ५७ लाख, स्थानीय कला, संस्कृति, साहित्य र समाजिक सुरक्षा तथा संरक्षण तर्फ ४० लाख सहित सामाजिक बिकासका लागि भन्दै ५ करोड २४ लाख रुपैयाँ बिनियोजन गरिएको छ । नगर क्षेत्रका खरका छाना हटाएर जस्तापाता लगाउने कार्यक्रमका लागि १५ लाख रुपैयाँ छुट्टयाइएको छ । नगर बिकास कोषको अनुदानमा निर्माणाधिन बसपार्कका लागि आउने ५ करोड १५ लाख रुपैयाँ पनि बजेटमा समावेश छ ।
बागलुङ बजारका मुख्य चोक सुधार गर्ने कार्यक्रमका लागि ७५ लाख र नगरस्तरीय योजनाका लागि २ करोड १० लाख रुपैयाँ बिनियोजन गरिएको छ ।नगर क्षेत्रका सडक नियमित संचालनका लागि १२ लाख ५० हजार, सडक बोर्डका योजना तर्फ ५५ लाख, ७१ हजार र प्रदेश सरकार सँगको सहलगानीका लागि समपुरक कोष तर्फ २ करोड ५० लाख रुपैयाँ बिनियोजित छ । पूर्वाधार बिकास तर्फ १२ करोड ७६ लाख राखेको नगरपालिकाले कार्यालय संचालनका लागि पनि चालु खर्च शिर्षकमा १२ करोड ८२ लाख रुपैयाँ नै राखेको छ । समग्र वडा स्तरीय आयोजना तर्फ ७ करोड त्रियानब्बे लाख रुपैयाँ छ । उक्त रकमको ३० प्रतिशत रकम सम्बन्धीत वडामा रहेका लक्षित समुदायको हितका लागि खर्चनुपर्ने प्रावधान छ । संघिय सरकारबाट प्राप्त हुने शिक्षा र स्वास्थ्य तर्फका सशर्त कार्यक्रममा भने ३६ करोड रुपैयाँ छ ।

यो बर्ष कर्मचारीका लागि दिइदै आएको १२ प्रतिशत स्थानीय तहको भत्ता भने कटौती गरिएको छ । उक्त भत्तालाई स्वतह दिने पद्धती हटाएर कोष बनाउने घोषणा गरिएको छ । उक्त कोषबाट काम गर्नेलाई प्रोत्साहन पुग्ने गरी दिने योजना बनाएपछि कर्मचारी तहमा असन्तुष्टी प्रकट भएको छ । उनीहरुले नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको नजिक बसेर काम गर्नेलाई मात्र यो भत्ता पुग्ने टिप्पणी गरेका छन् ।
आय तर्फ ः घरजग्गा रजिष्ट्रेसनबाट १ करोड ५० लाख
ढुंगा गिटी वालुवाबाट १ करोड ४० लाख
स्थानीय कर दस्तुरबाट ५ करोड
खर्च तर्फ ः कृषि क्याम्पस स्थापनाका लागि ९० लाख
प्रारम्भिक वाल बिकासका सहजकर्ताको तलब १ हजार बढ्यो
पोशाक खर्च ५ हजार
नगरको चोक सुधार गर्न ७५ लाख
वडा स्तरीय योजनामा ७ करोड ९३ लाख (लक्षित वर्गको बजेट समेत)