मौलिकता जोगाउने नीति आवश्यक

संस्कृति मासिए सभ्यता मासिन्छ । सभ्यता मासिए संस्कार मासिन्छ । सांस्कृतिक सम्पदा कुनै एक पुस्ताको योगदानले मात्र निर्मित भएको हैन । सम्पदा निर्माणमा संस्कार र कयौँ पुस्ताको लगानी जोडिएको हुन्छ । सम्पदाहरु पुस्ताको चिनो पनि हुन् । यी चिनोहरुको संरक्षण गर्नु वर्तमान पुस्ताको दायित्व हो । चन्द्र समसेरले सिंहदबार बनाए । भीमसेन थाापाले धरहरा बनाइदिए । मल्ल र लिच्छवीकालमा निर्मित भौतिक संरचनाहरुले काठमाण्डौको तत्कालीन वैभवता मात्रै झल्काउँदैन, वर्तमान पुस्तालाई सम्पदाहरुको महत्व पनि सिकाउँछ । कुनै कालखण्डमा एकै व्यक्तिले बनाएका संरचनाहरु पनि कालान्तरमा सभ्यतासँग जोडिन पुग्छन् । दर्शनीय र पुरातात्विक महत्वका भइदिन्छन् ।

पोखराको इतिहास खासै लामो छैन । औलोको डर हुने पोखरामा धेरै ढिला मानव बस्ती विकास भयो । काँठतिर बस्नेहरु बिस्तारै पोखरा झर्न थाले । बैदामे तालको किनारा, विन्ध्यवासिनी क्षेत्र र अन्य केही पानी सहज उपलब्ध हुने ठाउँमा बस्तीहरु बसे । कालान्तरमा भक्तपुरबाट व्यापार गर्ने क्रममा पोखरामा नेवारहरु भित्रिए । नेवारहरुले विन्ध्यवासिनी तलको क्षेत्रमा आफ्नो व्यवसाय थाले । त्यहीँ घर बनाए अनि आफूले सँगै ल्याएको आस्थासँग जोडिएका जात्रा र पर्वहरु चलाउन थाले । धार्मिक आस्थासँग जोडिएको संस्कृति अहिले पनि जिवन्त छ । यसैगरी उनीहरुले तत्कालीन पोखराको मुख्य बजार मानिने क्षेत्रमा त्यो बेला प्राप्त हुने निर्माण सामाग्री प्रयोग गर्दै कलात्मक र सुन्दर घरहरु बनाए । आर्थिक रुपले सम्पन्न भएका उनीहरु बनाएका घरहरुले पोखराको सुन्दरतामा थप टेवा दियो । विदेशीहरुको लागि पोखरामा बनेका ति घरहरु दर्शनीय स्थल बन्न पुग्यो । तर, समय सधैँ एकैनास हुँदैन । पोखराको बजार क्षेत्र बिस्तार भयो । बजार बिस्तारसँगै त्यहाँको व्यापार कम हुन थाल्यो । हिजो अचाक्ली चहलपहल हुने क्षेत्र सुनसान हुने अवस्थामा पुग्यो । विकाससँगै निर्माण क्षेत्रमा नयाँ प्रविधि भित्रियो । ढुंगा, माटोको घरको सट्टा सिमेण्टबाट ढलान भएका घरहरु बन्न थाले । नयाँले सबैलाई तान्छ । पोखराको पुरानो बजारका रैथानेहरु पनि नयाँ प्रविधितिर तानिए । उनीहरुले आफ्नो पुराना घरहरुलाई नयाँ स्वरुप दिए । हिजो ढूंगाले छाइएका र र्इँटाले बनेका सुन्दर घरहरुको बस्ती बिस्तारै मासिँदै गयो । अहिले सो क्षेत्रमा करिब रहेका ५० वटा घरहरुले मात्र हिजोको वैभव सम्झाउने काम गरेका छन् । बाँकी रहेका घरहरु अहिले पनि हिजोको पोखराको पर्याय बनेका छन् । त्यही बाटो भएर हिँड्ने पर्यटकहरुको आकर्षणको केन्द्र बनिरहेका छन् ।

हिजो बजार थियो, घर थिए, पुराना र सुन्दर संरचनाहरु थिए । त्यसको विशिष्ठ महत्व पनि थियो । तर, महत्व बुझ्ने कोही भएन । महत्व बुझ्नु पर्ने निकायले त्यसको संरक्षण र त्यसबाट लिन सकिने लाभबारे हिसाब किताब नै गरेन । जब सम्पदा नासियो बल्ल ति घरहरुको महत्व थाहा भयो । पर्यटकहरुलाई त्यही बाटो डुलाएर, त्यही घर देखाएर उनीहरुको बसाई लम्ब्याउन सकिन्छ भन्ने तत्वबोध कसैसँग भएन । पुराना घरहरु आम्दानीको स्रोत बन्छन्, घरले नै पोखराको सुन्दरता थप्छन् भन्ने ज्ञान हुनुपर्ने महानगर त्यसको महत्वप्रति बेखवर र उदाशिन देखियो । परिमाणत ः सम्पदा मासियो । कलात्मकता नासियो र एक कालखण्डको वैभव इतिहास बन्ने अवस्थामा पुग्यो । अहिले बल्लन अलिकति चेत खुलेजस्तो भएको छ । पोखरा महानगरले पुरानो शैलीमा घर बनाउनेहरुलाई राजश्वमा ५० प्रतिशत छुट दिने घोषणा गरेको छ । पुरानो शैली भनेको कस्तो हो भन्ने मापडण्ड नभए पनि पुराना मौलिक संरचनाहरुको महत्ववोध भने भएको छ । यो खुसीको कुरा हो । तर, यतिले मात्रै केही हुनेवाला छैन । महानगरले घोषणासँगै यस्ता संरचना निर्माणमा प्रोत्साहन दिने नीति अख्तियार गरेको छैन । अब राजश्व छुटले मात्रै पुराना शैलीका घर बन्छन् भन्ने छैन । त्यसैले महानगरले पुरानो शैलीका घर बनाउनेहरुलाई अनुदानको व्यवस्था गर्नुपर्छ । निश्चित वर्षसम्म कर छुट दिइनुपर्छ । भत्किएकाहरु त भत्किइसके । अब बाँकी रहेकाहरुलाई कसरी संरक्षण गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने भएको छ । बाँकी रहेका घरहरुलाई संरक्षण गर्न र पुरानै शैलीमा सुरक्षित बनाउन पुनर्निर्माण गर्न सघाउनु पर्ने भएको छ । बन्दीपुरमा पुराना शैलीका घरहरुलाई आधुनिकीकरण गरिएको छ । ति घरहरु पर्यटकीय दृष्टिले आर्थिक लाभ दिने भएका छन् । पोखरा महानगरले पनि बन्दीपुरबाट सिको गर्नुपर्छ ।

अर्कोतर्फ देशैभर पुराना भत्काउने र नयाँ बनाउने चलन चलेको छ । नयाँ बनाउनु अन्यथा हैन तर आफ्नो मौलिकपन जोगाउन के गर्न सकिन्छ भन्नेबारे राष्ट्रिय नीति नै बनाउनु पर्ने भएको छ । मौलिकताले परिचय स्थापित गराउँछ । मौलिकता बेचेर सम्मृद्धि प्राप्त गर्न सकिन्छ भन्ने सत्यलाई अब सबैले मनन गर्नैपर्ने भएको छ ।