एसईई नराम्रो हुँदैनमा जीवन सकिदैन

एसएलसी फलामे ढोका हो भनेर पढाईयो । एसएलसीको ठाउँमा एसईई त आयो तर त्यो फलामे ढोकाको डर बोकेरै आयो । एसईईको परिक्षालाई फलामे ढोका नाम दिएर सानैदेखी दिमाखमा बोझ बोकाईएको छ । हुनतः हाम्रो समाजले नर्सरीमा इन्ट्रान्स परिक्षा दिलाएर लाखौं तिरेर पढाउने निजी बोर्डिङको पर्खालमा धर्नु हालेको देखेका छौं । नर्सरीको बच्चालाई टेष्ट लिएर भर्ना गर्ने स्कुललाई जबसम्म खुला साँढे जस्तो छोडिन्छ तबसम्म बाबुआमाले एईईलाई फलामे ढोका भन्न पनि छोड्दैन र विद्यार्थीमा दबाब पनि भईरहन्छ । आजका अभिभावक आफ्ना सन्तानको नर्सरीको मार्कसिट फेसबुकमा राखेर बधाई खाने र खुशी मनाईरहेको देखिन्छ । त्यो नर्सरीका बच्चाले कति अंक ल्याएकोछ त्यो उ आँफैलाई केही थाहा छैन तर यसको असर छरछिमेकका अभिभावक एवं बच्चाहरू साथै आफ्नै बच्चामा समेत परेको हुन्छ । गत बर्षको तुलनामा, छिमेकी बच्चाको तुलनामा, फलाना स्कुलको तुलनामा आदी आदी । समता स्कुलमा जाने अभिभावक र बच्चाको तुलना बुढानिलकण्ठ एवं अन्य कुनै रातो बंगलासँग गर्न मिल्दैन तर पनि दबाब बढेको देखिन्छ । समता स्कुलले ल्याउने नतिजा र त्यहाँबाट पास हुने अहिले सयौं आ–आफ्नो क्षेत्रमा दक्ष छन् । समाजले प्रगति भनेर ट्याग लागेका बिषयमा सबै नहोला त तर जीवन राम्रैसँग चलाएका भने छन् । तर पनि त्यहाँका अभिभावकलाई परेको दबाब बुझ्न सकिन्छ ।

एसईईको परिक्षाको अंक केही पनि होईन त नभनौं । किन कि यहि अंकको आधारमा अब कलेजहरू घर–घरमा पुगेर विभिन्न अफर दिन्छन् । कतिपयले फ्रीमा पढ्न मात्र होईन यातायातको सुविधा पनि सित्तैमा अझ त्यो घरका अन्य परिवारका कोही कलेज पढ्ने भए उनीहरूलाई पनि लगभग फ्री दिने अफर आउँदा कुन बाबुआमालाई स्वीकार नगर्ला अनि यहिँ देखेपछि यति महंगो शिक्षामा कसैले निशुल्क पाउँदा अरुलाई पक्कै प्रभाव पर्छ नै । समाजमा अर्को छाप के छभने मानविकी जस्ता संकाय सजिलो संकाय र समय काट्ने विषय हो । भर्खर एसईई गरेकी नायिका करिष्मा मान्नधरले भन्नै हुनुहुन्छ । ठूलो र गाह्रो बिषय लिनु छैन मानविकी बिषय लिन्छु । यसले आम जनताको धारणा व्यक्त गर्छ । धेरै पढ्नु ज्ञानी हो भन्ने हामी भ्रममा छौं । पढाईले बुद्धिमानी बन्न सहयोग गर्छ तर धेरै पढेका ज्ञानी बन्छन् भन्ने सत्य होईन । हामीले डाक्टरलाई देवता बनाएका छौं जसका कारण समाजले डाक्टर पढ्ने बिषयका लागी अंक आए ठीक नत्र निराश देखिन्छ । कतिपय देशमा डाक्टर वकिल र शिक्षकको तलब र सम्मानमा तलमाथी छैन त्यसकारण एउटा शिक्षक हुँदा र डाक्टर हुँदामा सम्मानमा विभेद छैन ।

हामीले ठूला ठूला वैज्ञानिकका जीवनी पढ्दा स्कुले शिक्षा पुरा नगरेका भन्ने थाहा लाग्छ । हामीले चलाउने फेसबुकका संचालक मार्क जुकरबर्क पनि विश्वविद्यालयको शिक्षा बीचैमा छोडेर यता लागेका हुन्भने एप्पलका स्टिब जब्स पनि पढ्दा पढ्दै छोडेर यता लागेका थिए । यिनीहरूलाई विश्वविद्यालयको शिक्षाले कुनै काम गर्न रोकेन । यहाँ उदाहरण दिएर पढाईलाई बीचमै छोड भन्ने सन्देश दिन खोजेको नठान्नु तर औपचारिक शिक्षा सिकाईको एक पाटो वा चरण हुन सक्ला तर पुरै संसार यसैमा अडिएकोछ भन्ने भ्रम भने नपालौं । हुन त ठीक नलाग्नेहरूका लागी केपी ओलीका सबै कुरा जोक लाग्छन् । कतिपय जोकै पनि होलान तर प्रखर विद्धान प्रदिप गिरीले समेत हालका प्रमको ज्ञानको खुलेर प्रसंसा गर्छन । यहाँ केपी ओलीको कक्षा आठ सम्मको औपचारिक पढाईले काम गरेको छैन । स्वअध्यान र रुचीका कारण धेरै बिषयमा जानकारी हुन ठुलो कुरा हो ।

यो लेख्दै गर्दा काठमाण्डौ चन्द्रगिरी नगरपालिका १२ बलम्वु दुरसंचार नजिकै एसईई परीक्षाको नतिजामा ए प्लस नआएको कारण भन्दै एक किशोरीले आत्महत्या गरेको समाचार छ । हामीले एसएलसीको नाम त फेर्यौं, ग्रेडिङ सिस्टम पनि ल्याएर र भर्यौं अब फेलको अवधारणा छैन तर पनि कथित फलामे ढोका र यति आएको ठीक यति आए बेठीक बोकेर आयौं जसका कारण यस्ता दुखद घटना भईरहन्छन् । हालका परराष्ट्रमन्त्री प्रदिप ज्ञावलीको औपचारिक शिक्षाबारे कुनै एक विद्धानले होचाएर टुईट गरेका थिए तर ज्ञावलीले तपाईंहरू जस्ताबाट सिक्दैछु र कोशिश गरिराछु भनेर जवाफ फर्काए । यहाँ यही जवाफ फर्काउने ठाउँमा अर्को कुनै पढालेखा भएको भए ल आईजी बहस गरौं वा त्यो सर्फिकेट जाँचसम्म भन्न सक्थे होला । अतः ज्ञान र बुद्धी एकै होईनन् । आकारमा तोरी र कोदो एकै भए पनि बन्ने परिकार निकै फरक हुन्छन् । यसरी नै बुझौं । स्वदेशमै कति प्रेरणादायी उदाहरण छन् । कलाकार हरिवंश आचार्यको औपचारिक शिक्षा थोरै भए पनि उनलाई कलाकारितामा अब्बल बन्न कुनै कुराले रोकेन । उनले र मदनकृष्णले बनाएका टेली श्रृङखलाका सन्देश डाक्टरहरूले तयार पारेका कुनै आईएनजीको प्रपोजल भन्दा कम छैनन् ।
हाम्रो समाजले व्यवसायीक शिक्षाभन्दा कोरा पढाईलाई अब्बल ठान्छ । यो बिषय पढ्न यति अंक हुनुपर्ने । अंक हुनुपर्छ तर निश्चित बिषयमा बाहेक सबैमा अंकको भारी नबोकाए हुने हो । पेशालाई पनि जुनसुकै पेशा गरे पनि सम्मान हुनुपर्ने हो तर निश्चित वर्गको लागी फलानो पेशा जस्तो गरी ट्याग गरिएको छ । बेलायतका बैंकहरूमा जानुभयो भने स्तातक तह पास गरेका केही मात्रै पाउनु हुन्छ अन्य कर्मचारी भनेको माध्यामिक तह पास गरेका भए पनि हुन्छ । ऋण अधिकृत एवं म्यानेजरीय पोष्टमा बाहेक अरूले बिकम गरेर खजाञ्ची वा टेलर भएर काम गरेका पाईँदैनन् किन कि त्यहाँ नेपालमा जस्तो कोरा पढाई धेरै भएका खोज्ने चलन छैन । स्किल हुनुपर्यो औपचारिक शिक्षा यति भन्ने हुँदैन । अंक हेरेर बिषय पढ्न सल्लाह दिने, छिमेकीको डाहाले बिषय रोजाउने, कमाई हुने पेशा रोजाउने आदीले गर्दा बिषय र अंकको दोहोरो चपेटामा छन् धेरै अभिभावकहरू ।

परिक्षामा पास जीवनमा फेल भएका धेरै अंक बोकेर एसएलसी र एसईई गरेका हाम्रै समाजमा छन् । गाउँबाट परिक्षा दिने कतिपयले आमाबाबुको भुमिका समेत निर्वाह गरि सकेका हुन्छ । साना भाईबैनीहरूको रेखदेख गरेर घरखेत भ्याएर पढ्नेका सामु एसीमा बसेर पढेकाले जति अंक ल्याए पनि तुलना हुन सक्दैन । अंक धेरै ल्याएका तर गोलभेडा माटोमुनि फल्छ कि बोटमा थाहा नपाएका कर्यौ प्लस ए वालाहरूका बाबुआमा रमाईरहेका छन्भने गाई हेर्न र दुध कताबाट आउँछ त्यो देखाउन गाउँ जानु पर्ने अवस्था छ । गरेको पेशा वा पढाई जे गरे पनि त्यसमा उत्कृष्ट गर्न सके त्यसको उपयोगिता हुन्छ । नेपाली बिषय लिएर पढेका ठीकैका विद्यार्थी हुन भन्नेले अकसफोर्ड विश्वविद्यालय नेपाली पढाउने नेपालीबारे थाहा नपाएको हुनुपर्छ । पताञ्जलीले ठीक बेठीक के गरेको छ जनताले छुट्टाउलान तर पण्डित बालकृष्णको पढाई उनले अहिले थामेको संस्थाको जिम्मेवारी र आर्थिक कारोबार कुनै कम्प्युटरको भन्दा कम छैन । यति मात्र होईन हाम्रा पौराणीक पात्र र ग्रन्थ कुनै पिएचडीवालाले लेखेका थिएनन् । तर पनि आज ति गन्थ्रको गहिराईमा कति पिएचडीहरू पौडि खेली राछन् त्यो महसुस गर्न जरुरी छ ।

एसईई एउटा खुड्किला हो तर यो पार गर्न नसके जीवन सकिन्छ भन्ने खालको प्रचारलाई प्राथमिकता नदिउँ । अंकका कारण कुनै बिषय पढ्न नपाउँदा अरू बिषय छानेर राम्रो गर्न सकिन्छ भन्ने कुरा नभुलौं । दक्षता भएका व्यक्ति रोज्ने कि धेरै पढेका कोरा मान्छेहरू रोज्ने समाजले सोच नै पर्छ । मास्टर गरेका तर एउटा भ्युम चलाउन नसक्ने छभने विदेशमा गएर पनि सफाईको तालिम लिनै पर्छ । परिक्षामा सामेल हुनु पुर्व नै यसको भयले गर्दा समेत अंकको बोझ छ । अतः एसईईमा के जति हुन्छ ढुक्क भएर परिक्षा दिने वातावरण भयो भने अंकका कारण कोही पनि निराश हुनु पर्दैन ।