बसाई सराई र युवा बेरोजगारी हटाउन बडिगाडका युवाले खोले रिसोर्ट

बागलुङ, १७ असार – दिन दिनै बढेको बसाई सराई र युवा बेरोजगारी हटाउन बडिगाडका युवाले एग्रो रिसोर्ट मार्फत रोजगारी र उत्पादन अभियान थालेका छन् ।
बडिगाड गाउँपालिका ५ ग्वालीचौरका कृष्णबहादुर घिमिरे सहितका युवाले गाउँमै २ करोड लगानी गरेर रिसोर्ट बनाएका हुन् । घिमिरेलाई साथ दिन स्थानीय चार युवा तम्सेका छन् । दिननाथ पौडेल, शिव घिमिरे, शिवलाल घिमिरे र योगेन्द्र खरेल सहित ५ जनाले २ करोड लगानीमा गाउँमै कृषि फर्म सहितको होटल संचालनमा ल्याएका छन् । २० युवालाई गाउँमै रोजगारी दिने संरचना तयार भैसकेको छ । मध्यपहाडी लोकमार्गको खारबजार नजिकै उनीहरुले ‘फूलवारी एग्रो रिसोर्ट’ संचालनमा ल्याएका हुन् । यो रिसोर्ट होटल मात्र नभई व्यवसायिक कृषि उत्पादनको फर्म समेत हो ।

नाममै कृषि जोडिएकोले उनीहरुले पशुपालन, तरकारी खेती, माछा कुखुरा लगायतको उत्पादन सहित होटल संचालनमा ल्याएको बताए । ‘राजमार्गमा हिड्नेले यहाँ आएर मौलिक स्वाद पाउने वातावरण बनाएका छौं’ घिमिरेले भने, ‘कुनैपनि आयात गरिएको खाना दिन नपारोस भनेर काम थाल्यौं ।’ आफ्नो जग्गा बाहेक बार्षिक ५ लाख भाडा तिर्ने गरी उनीहरुले ५० रोपनी जमिन लिएका छन् । त्यहाँ बेमौषमी तरकारी, गाई र भैसीको गोठ, कुखुरा र बाख्राको खोर पनि बनाएका छन् । दुइ वटा पोखरीमा ४ हजार माछा पालेका छन् । दैनिक २ सय लीटर दूध उत्पादन गर्ने लक्ष राखेका उनीहरुले अहिले ५० लीटर खपत भैरहेको छ । ‘तराईबाट किनेर ल्याएको खुवाउन धेरै रेष्टुरेष्ट छन्, त्यसैले हामीले फरक स्वाद र कम्तिमा २० युवा रोजगार दिने लगानी गरेका हौं’ घिमिरे भन्छन्, ‘गाउँमा युवा पलायन भैसके, अब नरोके रित्तो हुनेछ ।’ मध्यपहाडी लोकमार्गले बुर्तिवाङ हुँदै रुकुम तर्फ कालोपत्रे गरिरहेकोले यो सडकमा दैनिक सयौं यात्री हिड्न थालेका छन् । यात्रीकै आर्कषक गन्तव्य बनाउँदा रोजगारी र लगानी बढाउन सकिने उनीहरु बताउँछन् ।

आफ्नो लगानी जस्तै आसपासमा अझै ५ वटा फरक फर्म संचालन भए युवाहरु गाउँमा रोक्न सकिने खरेल बताउँछन् । ‘मलेसिया जाने युवाले घरछेउमै रोजगारी पाउने अबस्था बनाउन सक्नेले लगानी गर्नुपर्छ’ खरेलले भने, ‘कृषि उत्पादनमै जोड दियौं भने बेसाहा खानु पर्दैन ।’ खानकै लागि करोडौं रकम भारत जाने प्रवृत्ति रोक्न उनीहरुले गाउँमा लगानी बढाउन समेत पहल गरेको बताए । भारत देखि आउने तरकारी, गेडागुडी, मासुजन्य पशुपंक्षि गाउँमै उत्पादन गरेर आत्मनिर्भर बन्न गाउँलेलाई सुझाव पनि दिंदैछन् । दूधका परिकारबाट कमाई गर्न घरघरमा पशुपालन गर्न उनीहरुले सिकाउन थालेका छन् ।

काठेखोलाको रगेनी, बडिगाडको ग्वालीचौर, र गलकोटको आँगखेतमा पनि अर्गानिक उत्पादन र बजार बिस्तार बढेको छ । यस्तो लगानीले युवालाई व्यवसायिक बनाउँदै शहर पस्न रोकेको व्यवसायी बिष्णु थापाले बताए । सरसफाई, फ्रि वाईफाई, हिमाल र खोलाहरुको आर्कषक दृश्याबलोकन सहितका रेष्टुरेन्टको लगानीमा युवा आर्कषण बढेको छ । रिजालचोकका व्यवसायी थापा भन्छन्, ‘वाईफाइ र हिमाल देखिन्छ आरामले खान खाएर फर्कन पाइन्छ भनेर आउने क्रम बढेको छ’ , अब सरसफाइ र वाईफाइ मुख्य आर्कषण भएको उनले बताए । कंपनी रजिष्ट्रारमा दर्ता गरेरै संचालन गरेका उनीहरुले राज्यलाई कर तिर्नुपर्छ भन्ने सन्देश पनि दिएको बताए ।