पल्सर स्पोर्ट्स अवार्डः युकेश, सावित्रा र अजित वर्षका उत्कृष्ट खेलाडी घोषित

काठमाण्डौ, १७ असार – पाराग्लाइडिङ खेलाडी युकेश गुरुङ र महिला फुटबल खेलाडी सावित्रा भण्डारी वर्षका उत्कृष्ट खेलाडी घोषित भएका छन्। नेपालको सबैभन्दा ठूलो खेलकुद पुरस्कार नेपाल खेलकुद पत्रकार मञ्चले विश्व खेलकुद पत्रकार दिवसका दिन प्रदान गर्ने पल्सर स्पोटर्स अवार्डबाट सम्मानित भएका हुन् ।  दशवटा विभिन्न विधामा पुरस्कार प्रदान गरिएको छ।

नेपाल स्पोर्ट्स अवार्डमा कसले कुन कुन पुरस्कार प्राप्त गरे ?

उत्कृष्ट पुरुष खेलाडीः युकेश गुरुङ

– एसियाली खेलकुद एसियाडमा रजत पदक जितेको पाराग्लाइडिङ टोलीका सदस्य गुरुङले आफ्नो पहिलो अन्तर्राष्ट्रिय खेलमै सर्वाधिक स्कोर गरेका थिए । इन्डोनेसियामा सम्पन्न १८ औं एसियाली खेलकुदमा पाराग्लाइडिङ क्रसकन्ट्रीको पुरुष टिम इभेन्टमा नेपालले रजत पदक जितेको थियो । गुरुङले स्याङ्जामा भएको पाराग्लाइडिङ एक्युरिसी वर्ल्डकपका कांस्यपदक पनि जितेका थिए ।

उत्कृष्ट महिला खेलाडीः सावित्रा भण्डारी


–नेपाली महिला फुटबलकी आइकन बन्न सफल भण्डारीले भारतमा भएको अन्तर्राष्ट्रिय हिरो गोल्डकपमा नेपाललाई उपविजेता बनाउन महत्वपूर्ण योगदान खेलेकी थिइन् । नेपालले भारतलाई इतिहासमा पहिलो पटक हराउँदा दुवै गोल उनले नै गरेकी थिइन् । विराटनगरमा सम्पन्न महिला साफ च्याम्प्यिनसीपमा नेपाललाई उपविजेता बनाउने क्रममा उनी प्रतियोगिताकै सर्वाधिक गोलकर्ता हुन सफल भएकी हुन् । भण्डारीले नेपाललाई पहिलो पटक ओलम्पिक छनोटको दोस्रो चरणमा पुर्‍याउन समेत भूमिका निर्वाह गर्नुका साथै घरेलु महिला फुटबल लिग २०७५ की सर्वोत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ताको उपाधि प्राप्त गरेकी थिइन् । मनोनयनमा फुटबलकी भण्डारीसँगै, भलिबलकी सरस्वती चौधरी, क्रिकेटकी सीता रानामगर, जुडोकी मनिता श्रेष्ठ प्रधान र तेक्वान्दोकी निमा गुरुङ थिए ।

उत्कृष्ट युवा खेलाडीः अजितकुमार यादव

– एथलेटिक्सका किशोर प्रतिभा यादवलाई चिन्ने कमै थिए तर हङकङमा सम्पन्न तेस्रो एसियन युथ एथलेटिक्स च्याम्पियनसीपमा ३,००० मिटर दौडमा स्वर्ण पदक जितेपछि उनी चर्चित भए ।नेपालबाट प्रतियोगितामा एकमात्र प्रतिनिधि खेलाडीका रूपमा सहभागी उनले प्राप्त गरेको सफलताले धेरैलाई चकित तुल्यायो । उनले कतारमा भएको २३औं एसियन एथलेटिक्स च्याम्पियनसीपमा राष्ट्रिय किर्तिमानमा सुधार गरे भने घरेलु प्रतियोगिता राष्ट्रपति रनिङ शिल्डमा ३,००० मिटर र १,५०० मिटर दौडसहित अन्य तीन प्रतियोगिता जिते ।मनोनयनमा यादवसहित ब्याडमिन्टनका प्रिन्स दाहाल, क्रिकेटका ललितनारायण राजवंशी, फुटबलकी मन्जलीकुमारी योन्जन र कराँतेका विजय श्रेष्ठ थिए ।

लोकप्रिय खेलाडीः रेश्मा भण्डारी


-भलिबलकी भण्डारीले पिपुल्स च्वाइस अवार्डको उपाधि जितिन् । आम नागरिकको एसएमएस मत, फेसबुक लाइक र खेलपत्रकारहरूको मतको आधारमा छानिने यो विधामा रेश्माले कुल मतको ३२ प्रतिशत प्राप्त गरेकी छन् । दोस्रो स्थानकी फुटबलकी सावित्रा भण्डारीले २९ प्रतिशत मत प्राप्त गरिन् । मनोनयनमा ब्याडमिन्टनका प्रिन्स दाहाल, शारीरिक सुगठनका महेश्वर महर्जन र क्रिकेटका सन्दीप लामिछाने रहेका थिए।

पारा खेलाडीः मनकेसी चौधरी

चौधरी नेपाली राष्ट्रिय महिला नेत्रहीन क्रिकेट टोलीकी प्रमुख खेलाडी हुन् । सन् २०१४ मा नेपालमा ब्रिटेनसँग खेलेको तीनवटै टी२० खेल जित्दा उनी सबै खेलमा उत्कृष्ट खेलाडी घोषित भएकी थिइन् । यी विकेटकिपरले गतवर्ष पाकिस्तानमा खेलिएको चार खेलको शृङ्खलामा सर्वाधिक एक सय ८३ रन जोड्नुका साथै दुई खेलमा प्लेअर अफ दि म्याच घोषित भइन्। आंशिक दृष्टिविहीन खेलाडीहरूमध्ये उनी प्लेयर अफ द सिरिज भइन् ।

लाइफटाइम एचिभमेन्ट अवार्डः हरिबहादुर रोकाया
– विकट कर्णालीमा जन्मिएर नेपाली एथलेटिक्सलाई विश्व सामु चिनाउन रोकायाको महत्वपूर्ण भूमिका छ । कर्णालीबाट विसं २०४१ सालको राष्ट्रिय एथलेटिम्स च्याम्पियनसीपमा खाली खुट्टा दौडिएर दुईवटा कांस्यपदक जितेका रोकायाले ९० को दशकमा दुई ओलम्पिक, दुई एसियाली खेलकुद र दुई एसियाली च्याम्पियनसीपमा नेपालको प्रतिनिधित्व गरे । तेस्रो दक्षिण एसियाली खेलकुदमा कांस्यपदक जितेका रोकायाले विश्वको सबैभन्दा अग्लो स्थानमा हुने साहसिक दौड तेञ्जिङ हिलारी एभरेष्ट म्याराथन तीनपल्ट जिते र गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम लेखाए । सन् २००० मा प्रतियोगिता जित्दा उनले बनाएको तीन घण्टा ५० मिनेट २३ सेकेण्डको कीर्तिमान अझै कायम छ । सन्न्यासपछि रोकायाले कर्णालीमा आफूजस्तै धावक उत्पादन गर्न स्पोर्ट्स एकेडेमी स्थापना गरेका छन् ।

विशेष पुरस्कारः रोहित चन्द


– फुटबलका चन्द इन्डोनेसियामा स्थापित व्यवसायिक खेलाडी हुन् । गत वर्ष इन्डोनेसियाको घरेलु लिगमा उनले गरेको प्रदर्शनले नेपाली फुटबलमा मानक नै स्थापित गरिदियो । पर्सिजा जाकार्तालाई लिग विजेता बनाउन उनले प्रमुख भूमिका निर्वाह गरे, युरोप र दक्षिण अमेरिकी खेलाडीलाई समेत उछिन्दै लिगकै ुमोस्ट भ्यालुएल प्लेयरु चुनिए । प्रायः बक्स टु बक्स मिडफिल्डरु का रूपमा खेल्ने चन्द नेपाली राष्ट्रिय टोलीका नियमित खेलाडी हुन् ।

उत्कृष्ट टोलीः पाराग्लाइडिङ
– पाराग्लाइडिङ टोलीले एसियाली खेलकुद एसियाडमा रजत पदक जितेको थियो । इन्डोनेसियामा पाराग्लाइडिङको पुरुष क्रसकन्ट्री स्पर्धामा जितेको नेपालको त्यो एसियाडको दोस्रो रजत पदक हो । नेपाली टोलीमा विमल अधिकारी, युकेश गुरुङ, विजय गौतम, सुशील गुरुङ र विशाल थापा थिए ।

उत्कृष्ट प्रशिक्षकः योगेश भट्टराई
– बीस वर्षपछि नेपाललाई एसियाडमा रजत पदक दिलाएका मुख्य प्रशिक्षक भट्टराईले नेपालमा भएको पाराग्लाइडिङ एक्युरिसी वर्ल्डकपमा पनि नेपाली टोलीलाई कांस्यपदक जिताउन सफल भएका थिए । उनले एथ्लेटिक्सका धनिराम चौधरी, फुटबलका हरि खड्का, क्रिकेटका जगत टमाटा र भलिबलका ज्ञानेन्द्र विष्टलाई उछिन्दै पुरस्कार जितेका हुन् । पुरस्कार वितरण समारोहमा पाकिस्तानी खेलपत्रकार अम्जद अजिज मलिकलाई अन्तर्राष्ट्रिय खेल पत्रकारका रूपमा सम्मानित गरिएको छ।