मानव सेवा आश्रमलाई ‘सुगंगा पुरस्कार’

बागलुङ, १८ असार – बागलुङका पुराना पत्रकार बिदुर खड्काले स्थापना गरेको सुगंगा पुरस्कार तथा सम्मानबाट यो बर्ष मानव सेवा आश्रम बागलुङ पुरस्कृत भएको छ । जिल्ला न्यायाधिस प्रकाश प्रसाद पंडितले एक कार्यक्रमका बीच संस्थाकी संचालिका सुमिरा लामालाई पुरस्कार र प्रमाणपत्र प्रदान गरे । साथै उनले लामालाई सम्मान समेत गरेका थिए ।

मानव सेवामा समर्पित भएको भन्दै पुरस्कार छनौट समितिले यो संस्थाको नाम सिफारिस गरेको थियो । यो संस्थाले तीन बर्ष अघि बागलुङमा स्थापना भएपछि सडकमा अलपत्र परेका मानवलाई ल्याएर राख्ने गरेको छ । पिडितले आश्रममा घर परिवारकै माया पाएका छन् । संचालिका सुमिला लामा सहितका युवाहरुले त्यसता पिडितलाई अभिभावक जस्तै सेवा दिएर पालेका छन् । यहाँ खानेबस्ने व्यवस्था सहित मानवीय व्यवहार समेत गरेपछि आश्रममा राखेर सेवा गरेको यो संस्थालाई ५० हजार राशीको यो पुरस्कार दिइएको हो । खड्काले आफ्नी स्वर्गिय आमा सुमित्रा र श्रीमती गंगाको स्मृतिमा २०६५ सालमा पुरस्कार स्थापना गरेका थिए ।

स्थापना गर्दा खड्काले यो पुरस्कारको लागि १ लाख ५० हजार राशीको कोष बनाएर अक्षयकोषमा राखेका छन् । यो पुरस्कार संचालनका लागि काजी रोशनको संयोजकत्वमा समिति छ । कोष यथाबत राखेर खड्काले हरेक बर्ष थप रकम दिएर पुरस्कार प्रदान गरेका छन् । जिल्ला न्यायाधिस प्रकाश प्रसाद पंडितले आश्रमकी संचालिका सुमिला लामालाई बुधवार पुरस्कार प्रदान गरे । ‘पत्रकारिता, कलाकारिता, सामाजिक सेवा, शिक्षा र स्वास्थ्य क्षेत्रमा समेत विशिष्ट योगदान पु¥याएका व्यक्ति छनौट गरी पुरस्कार दिइने गरिएको छ’ कोषका अध्यक्ष काजी रोशनले भने,‘नारीको सम्मानमा खड्काले गरेको योगदान सम्मानयोग्य छ ।’ आश्रमले सडकमा अलपत्र परेका वृद्धवृद्धा, महिला र बालबालिका समेत २८ जनाको उद्धार गरेको छ । ती मध्ये ७ जनालाई पारिवारमा पुनस्थापना गराएको लामाले बताइन् । उनले सडक मानव रहित नेपाल बनाउने लक्ष राखेको बताइन् । हेटौडाबाट शुरु भएको आश्रम अभियानको अहिले सम्म १४ वटा शाखा छन् ।

यस अघि उक्त पुरस्कार बाट धौलागिरीमा पहिलो दैनिक पत्रिका सम्पादन गर्ने पत्रकार शुभशंकर कंडेल, समाजसेवी देव बहादुर श्रेष्ठ, लोक गायक खड्ग गर्बुजा, शिक्षा क्षेत्रमा योगदान दिने भोलानाथ शर्मा र तार रहित इन्टरनेट को विकास गर्ने म्याग्दीका महाविर पुन, राससका पत्रकार एकराज पाठक, पूर्व प्रधानन्यायाधिस कल्याण श्रेष्ठ समेत पुरस्कृत भइसकेका छन् ।