सुनले हैन, कामले सुनौलो

आर्युवेदले स्वर्णभष्म अर्थात् सुनको खरानीलाई ओखती मान्छ । नेपाली समाज सुनपानी खुवाउँदा प्राणत्याग सजिलो हुन्छ भन्ने विश्वास राख्छ । यो पहेँलो धातुसँग जोडिएका अनगिन्ती कथाहरु परापूर्वदेखि चल्दै आएका छन्, नेपाली समाजमा । नारी सौन्दर्य र वैभवसँग जोडिन्छ सुन । सुनलाई नगद बराबर मानिन्छ । पहेँलो धातुको यो आकर्षण नेपालमा मात्रै सीमित छैन, विश्वभर नै सुन मूल्यवान छ । मूल्यवान बस्तुप्रतिको आकर्षण नौलो होइन र हुन पनि सक्दैन । अरुभन्दा पृथक देखाउन सुन संकलन, उपयोग गर्नु मानवीय स्वभाव हो । यो स्वभावबाट जनसेवक (?) नै सही, कसरी मुक्त हुनु र ! गण्डकी प्रदेशका सांसदहरुले पनि आफूलाई सांसद भनेर चिनाउन सुनौलो लोगो प्रतिक चिन्ह लगाउँदैछन् । अहिले प्रदेशसभाका सभासदहरुले प्लाष्टिकको प्रतिक चिन्ह प्रयोग गरिरहेका छन् । रंग उँडेको लोगोको सट्टा उज्यालो, चम्किलो र सुनौलो लोगो बनाउनु ठूलो कुरो हैन । अहिले प्रयोग गरेको लोगोको मूल्यको तुलनामा ३३ गुणा महंगो पर्नु अर्को पाटो हो । कम्तिमा सांसदले लगाउने लोगो अरुको भन्दा राम्रो त हुनैप¥यो नि !

गण्डकी प्रदेशका सांसदले देखाएको लोगोप्रतिको मोह अनौठो भने होइन । किनकी, जनप्रतिनिधिहरुलाई यतिबेला अरुभन्दा पृथक र उँचो हुने महत्वकांक्षा जागेको छ । प्रधानमन्त्री, मन्त्रीदेखि स्थानीय निकायका प्रतिनिधिहरुमा अरुभन्दा उच्च ठाउँमा बसेर सलामी थाप्ने भोक जागेको छ । कोही पिर्का उक्लिएका छन्, कोही टेबुल चढेका छन् त कोही अरुभन्दा शीर्ष देखिन पृथक सोफामा विराजमान हुन थालेका छन् । भनिन्छ, आफ्नो प्रचार आफैले गर्न जानिएन भने आफ्नै छायाँले पनि चिन्दैन रे ! जनप्रतिनिधिहरुलाई कुनै सर्वसाधारणले चिनेनन् भने बित्यासै पर्ने भयो ! अझ, जनतासँगै एउटै लाइनमा बस्ने भए के जनप्रतिनिधि ? त्यसैले देशभर जनप्रतिनिधिहरुले आफ्नो हैसियत उँचो बनाउने लहर चलेको बेला गण्डकी प्रदेशले पनि लोगोमा आफूलाई अब्बल देखाउन खोजेको छ । यो अन्यथा हैन ।
महालेखा परीक्षकको प्रतिवेदन खोल्ने हो भने देशमा बेथिति बढेको प्रष्ट देखिन्छ । कानून मिचिएका र बेरुजुका घटना नौलो होइनन् । अर्कोतर्फ ट्रान्स्परेन्सी इण्टरनेसनल जस्ता संस्थाहरुले देशमा भ्रष्टाचार मौलाएको औंल्याउँदा पनि सरकार मौन बसेको छ । अख्तियारलाई दलीय छायाँले निल्ने हो कि भन्ने त्रास व्याप्त छ । राष्ट्रिय सतर्कता केन्द्र प्रधानमन्त्री कार्यालय मातहत लगेर शक्तिको केन्द्रिकरण गर्ने प्रयत्न भएको छ । समग्रमा देश कुशासनले ग्रस्त छ । यस्तोमा कोही कसैबाट नैतिकताको अपेक्षा गर्नु नै अन्यथा हो कि भन्ने लाग्न थालेको छ ।

हामी उच्च तहमा पुगेपछि जसरी पनि धन आर्जन गर्नुपर्छ भन्ने मानशिकताले ग्रस्त भएका छौँ, शक्ति हत्याउन जे पनि गर्न पछि नपर्ने भएका छौँ । यसरी हेर्दा गण्डकी प्रदेशले सुनको जलप लगाएको लोगो बनाउनुलाई ठूलो कुरा मान्नुपर्ने देखिन्न । सांसदहरुले प्रतिक चिन्ह लगाउनु प्रदेश सरकराप्रतिको अपनत्ववोध पनि हो अपनत्ववोध गर्न पाउनु र गर्नु उनीहरुको अधिकार र नैतिक दायित्व हो । यो नैतिक दायित्वबोध गर्दा सुनको लोगो केही महंगो प¥यो भन्नु तर्कसंगत नदेखिन सक्छ । तर, कुरो प्रवृत्तिको हो, पाडो खानेले बाख्रो बाँकी राख्दैन । सांसदहरुले आफूलाई जनताको प्रतिनिधि ठान्नु र उनीहरुसँगै उभिने साहस देखाउनुको सट्टा पृथक देखाउने प्रवृत्तिचाहिँ आफैमा डरलाग्दो हो । यो प्रवृत्तिसँग भने स्वयं सभासद पनि सचेत हुनुपर्छ । आवधिक निर्वाचन नै नभए अर्को कुरा, नभए आवधिक निर्वाचनमा विश्वास गर्ने होभने जनतासँगै रहे मात्र सच्चा जनप्रतिनिधि भइन्छ भन्ने हेक्का सभासदले पनि राख्नैपर्छ । जनताको मन जित्ने खालका काम गर्ने होभने लोगो सुनको होस् वा चाँदीको त्यसले भन्दा पनि कामले नै सम्मानित भइन्छ भन्ने उनीहरुले बुझ्नुपर्छ । सुनको आभाले हैन, कामले नै मान्छे सुनौलो भइन्छ भन्ने ब्रह्मवाक्य मनन गर्नुपर्छ ।