गौरबका योजनाको एक करोड फ्रिज

बागलुङ, २० असार – गलकोट नगरपालिकाले चालु बर्षका लागि एक वडा एक गौरवको आयोजना संचालन गरेको थियो । ती वडाको गौरव गर्न लायक योजना बनाएर कार्यानवयन गर्ने लक्षमा जग्गा अभावले समस्या ल्यायो । जग्गा नपाएर ११ वटा योजना मध्ये दुइ योजना अलपत्र परेका छन् । ती योजनाको एक करोड बढी रकम फ्रिज भएको छ ।

नगर प्रमुख भरत शर्मा गैह्रेका अनुसार वडा नं. १ र ९ मा निर्माण गरिनुपर्ने भवनका लागि जग्गा अभावले गौरवको योजनाका लागि बिनियोजित १ करोड बजेट फ्रिज भएको छ । गत बर्ष नगरपरिषदबाट वडा नं. १ मा स्वास्थ्य चौकीका लागि ४५ लाख र ९ मा वडा कार्यालय निर्माणमा ५५ लाख छुट्याईएको थियो । दुवै वडाले जग्गा उपलब्ध गराउन नसक्दा उक्त बजेट फिर्ता भएको हो । जनप्रतिनिधि भएको अनुभूति दिने भन्दै गलकोट नगरपालिकाले वडा गौरवका योजना बनाएको थियो । ११ वटै वडामा बनाइएका योजना मध्ये वडा नं. १ र ९ मा समान समस्याले असफल बन्नु परेको वडा अध्यक्षहरुले बताए । दुदिलाभाटी र बाँसखोलामा वडा कार्यालय र स्वास्थ्यचौकी समेत भाडामा बसेका छन् । यहाँ उपकरण समेत अभाव भएपछि उपचारका लागि हटिया बजार पुग्नुपर्ने बाध्यता छ । ‘वडाको अगुवाईमा धेरै जग्गा खोजी गरियो, पाउन सकिएन’ गैह्रेले भने, ‘बिनियोजित ४० लाख बजेट फिर्ता गर्नुपर्दा हामी धेरै दुःखी भयौं ।’ तत्कालिन गाविसको भवन समेत भाडामा बसेकोले सार्वजनिक जमिन पाउन नसकिएको उनले बताए । यहाँको गौंदीखोलाको बाढीले दुदिलाभाटीको सयौं रोपनी जमिन बगाएको छ ।

खोलाछेउका केही सार्वजनिक जग्गा समेत मासिएकोले काम गर्ने अवसर गुमेको वडा अध्यक्ष तिलक बुढाथोकीले बताए । स्वास्थ्यचौकी निर्माणका लागि कम्तिमा ४ रोपनी जमिन आवस्यक पर्छ । तोकिएको मापदण्ड नपुगे भवन निर्माणको अनुमति समेत दिन नमिल्ने प्रावधान छ । वडा नं. ९ को बाँसखोलामा पनि जग्गा अभाव भएको हो । यहाँ खोलाले बर्षेनी कटान गर्दा भैरब माबिमा समेत दुर्घटनाको खतरा बढीरहन्छ । बर्षेनी तटबन्ध गरेर मात्र बिद्यालय जोगाइएको स्थानीयले बताए । स्वास्थ्यचौकी अभावमा उपचार सेवा प्रभावित हुने गरेको जनप्रतिनिधिले बताए । नगरपालिकाले सबै वडा जोड्ने गरी चक्रपथको योजना पनि ल्याएको थियो । तर अहिले सम्म उक्त योजना पनि अगाडि बढ्न सकेको छैन । ‘वडा देखि वडा सम्मको कनेक्सन सडक निर्माणको काम गरिरहेका छौं, एउटै चक्रपथको योजना बनाउन सकिएको छैन’ गैह्रेले भने, ‘कम्तिमा वडा कार्यालय पुग्ने सडकहरु राम्रो बनाउने काममा अलमलिनु पर्दा चक्रपथको योजना र लगानी गरेर काम गर्न सकिएन ।’

जिल्लाको पुरानो सदरमुकामको बिरासत थाम्ने र नमूना काम गरेर देखाउने भन्दै अघिल्लो बर्ष आसाबादी भएका गैह्रे एक बर्षमै निरास भएका छन् । सोचेजस्तो काम गर्न नसकेको भन्दै उनले धेरै तत्वले असर गरेको बताए । ‘काम गरेर देखाउनु पर्छ भन्ने उत्साह बोकेका छौं, तर कहिले जग्गा अभाव, कहिले बजेट सक्ने हतारो जस्ता कामले प्रगती देखाउन कठिन भयो’ उनले भने, ‘कर्मचारी अभावले पनि शुरुवातमा काम गर्न नसकिएको हो ।’ अहिले भने कर्मचारीको समस्या भन्दा जग्गा अभाव र समन्वयको समस्या देखिएको उनले बताए । वडा नं. २ मा नगर सभाहल निर्माण गर्ने योजना थियो । ६५ लाख बजेटको यो योजना भने निर्माणाधिन छ । सभाहल निर्माणमा नगरपालिकाले प्रदेश सरकारको साझेदारी कार्यक्रम संचालन गरेको वडा अध्यक्ष हिमबहादुर भण्डारीले बताए । वडा नं. ३ मा कोटमैदान जाने सडक र सहश्रधारामा क्यानोनिङ संचालनको योजनाले पूर्णता पाएको छ । ५० लाख खर्चेर दुवै योजना पुरा भएका हुन् । नगरभित्रका सडक कालोपत्रे गर्ने योजना वडा नं. ४ बाट शुरु भएको छ । ५० लाखको लागतमा डाँडाखेतदेखि खरुवा मावि सम्मको सडक कालोपत्रे गरिएको छ । वडा तहका सडकमा भने प्रगती भएको उपप्रमुख रेणुका काउचाले बताईन् । ‘दुर्गम मानिएको पाण्डवखानी र रमुवा सम्मको सडक स्तरउन्तीको काम गरेपछि नियमित सवारी चलाउन सकिएको छ’ काउचाले भनिन्, ‘प्राय जनप्रतिनिधि युवा भएकोले योजना सफल बनाउन सकिएको छ ।’ जग्गाकै अभाव भएपछि केही योजनामा समस्या आएको उनले बताइन् ।

गलकोटले महिला स्वास्थ्यलाई भने राम्रो सम्बोधन गरेको उनले दावी गरिन् । स्वास्थ्य संस्थामै प्रसुती सेवा लिनेलाई ४ हजार ५ सय रुपैयाँ भत्ता तथा यातायात खर्च दिने व्यवस्था गरेको छ । चालु बर्षका लागि नगरले बिनियोजन गरेको १५ लाख रुपैयाँले सुत्केरी सुरक्षा कार्यक्रम सम्पन्न गरिएको हो । यो अभियानले घरमा हुने प्रसुती सेवा शुन्यमा झर्ने अवस्था आएको स्वास्थ्यकर्मीले बताए ।