राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता हुने

बागलुङ, २० असार – बागलुङमा असार २३ गते देखि राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता हुने भएको छ । जिल्ला खेलकुँद बिकास समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो । शुक्रवार समितिले पत्रकार सम्मेलन गरेर प्रतियोगिता बारे जानकारी गराएको हो । राष्ट्रिय खेलकुँद परिषदबाट ढीलागरी सूचना आएकोले बर्षातको समयमा हतार हतार खेल संचालन गर्नु परेको समितिका अध्यक्ष धनबहादुर परियारले बताए । परिषदले असार १६ गते पठाएको पत्र अनुसार तत्कालै जिल्ला छनौट, जिल्ला स्तरीय प्रतियोगिता हुँदै प्रदेश र केन्द्रीय प्रतियोगिता सम्पन्न गर्ने चुनौती खेलकुँदका समितिहरुमा परेको हो ।

प्रतियोगिताका लागि स्थानीय तहमा छनौट खेल संचालन गर्नुपर्छ । अहिले सम्म बागलुङको गलकोट नगरपालिका, बडिगाड गाउँपालिका, गलकोट नगरपालिका, ताराखोला गाउँपालिकामा मात्र अहिले सम्म छनौट सम्पन्न भएको हो । समितिले काठेखोला गाउँपालिका, जैमिनी र बागलुङ नगरपालिकाको छनौटका लागि असार २१ र २२ गते खेल संचालन गर्ने तयारी गरेको छ । त्यसपछि असार २३ र २४ गते जिल्ला स्तरीय खेल संचालन हुनेछ । त्यस खेलबाट छनौट भएका बढीमा ८८ जना खेलाडीले प्रदेश स्तरीय खेलमा भाग लिन पाउने छन् । प्रतियोगिताका लागि एथलेटिक्स तर्फ छात्रछात्राको १ सय मीटर देखि ३ हजार मीटर सम्मको दौड प्रतियोगिता संचालन हुनेछन् । त्यस्तै उफ्रने र फ्याँक्ने तर्फ छात्रछात्राको हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट खेल रहेका छन् ।

छात्रछात्राका लागि भलिबल प्रतियोगिता, मार्सल आर्ट तर्फ कबड्डी, कराँते, तेक्वान्दो, उसु लगायतका खेल पनि समावेश छन् । प्रतियोगिताका लागि ५ लाख १० हजार ९ सय रुपैयाँ खर्च हुने परियारले बताए । उक्त रकम मध्ये काठेखोला गाउँपालिकाले १ लाख र बागलुङ नगरपालिकाले २ लाख रुपैयाँ सहयोग गर्ने भएका छन् । बाँकी रकम समितिले आफ्नै व्यवस्थापनमा खर्च गर्नेछन् । उक्त रकम मध्ये १ लाख रुपैयाँका खेल सामाग्री खरिद गर्ने योजना रहेको छ ।।