ढोरपाटन नगरपालिकाको व्यवसायिक कृषिमा जोड

बागलुङ, २१ असार – जिल्लाको ढोरपाटन नगरपालिकाले आगामी आर्थिक बर्षमा कृषिलाई प्राथमीकतामा राखेर आफ्ना कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ । आर्थिक समृद्धिको पहिलो आधार कृषिलाई बनाउने भन्दै नगरपालिकाले कृषकलाई अनुदानदेखि सामूहिक उत्पादनमा जोड दिने भएको हो । नगरका कृषकका लागि कृषि उत्पादनमा व्यवसायीकरण, कृषिमा आधुनिकीकरण, यान्त्रिकिकरण तथा बजारीकरणमा ध्यान दिईने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ । आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा कृषिमा व्यापक सुधार गर्ने उल्ललेख गर्दै नगरपालिकाले सोही अनुसार बजेटको व्यवस्थापन गर्ने प्रमुख प्रसाशकिय अधिकृत धनप्रसाद पोखरेलले जानकारी दिए ।

‘सामुहिक खेती प्रणाली, पशुपालनमार्फत कृषि पेशाबाटै नागरिकलाई आत्मनिर्भर बनाउने योजनामा छौं’ पोखरेलले भने ‘आगामी आर्थिक बर्षबाट व्यवसायीक कृषिमा नगरको ध्यान केन्द्रीत हुन्छ ।’ किसानलाई व्यवसायीक बनाउनका लागि कृषि बजार सूचनाको व्यवस्थापन गर्ने, कृषि बजार स्थापना गर्ने, साना सिंचाई आयोजना सञ्चालन गर्ने, कृषि तालिम तथा प्रविधि प्रचार प्रसारका कार्यक्रम गर्ने, क्रियाकहरुलाई कृषि सामाग्रीको आपूर्ति गर्ने, कृषि मेलाको आयोजना गर्ने, उत्कृष्ट किसान प्रोत्साहन गर्ने, नगरभित्र कृषि सूचना केन्द्र सञ्चालन गर्ने र कृषि पाठशालाको समेत सञ्चालन गर्ने कार्यक्रम बनाईएको पोखरेलले जानकारी दिए । नगरपालिकाले किसानका लागि आवश्यक सबैखाले पुर्वाधार निर्माणमा जोड दिएको छ । किसानले उत्पादन गरेको कृषि उपज भण्डारण तथा शित भण्डारनको व्यवस्था नगरपालिकाले गर्ने भएको छ ।

कृषकका उत्पादन क्षेत्रसम्म कृषि सडक पु¥याउने, कृषि उपजमा उत्पन्न हुनसक्ने समस्या निराकरणको उपायसहितको कार्यक्रम तयार गर्ने नगरपालिकाले जनाएको छ । नगरको मुख्य उत्पादनको रुपमा रहेको आलुलाई प्रबद्र्धन गर्ने योजना नगरपालिकाले बनाएको छ । आलु बाहेकका नगदेबाली, फलफुल र तरकारीको उत्पादनमा समेत जोड दिईने नगरको नीति तथा कार्यक्रममा उल्लेख छ । भूगोल र हावापानी हेरी आवश्यकता र मागको आधारमा कृषकका लागि विउ, मल, किटनासक औषधि र कृषकका लागि तालिमको प्रवन्ध नगरपालिकाले नै गरिदिने योजना बनाएको छ ।