मध्यपहाडी लोकमार्ग भासियो, तुरतुरे नजिकै पहिरोको खतरा

बागलुङ, २२ असार – मध्येपहाडी लोकमार्गको बागलुङ बुसर्तिवाङ खण्ड अन्तरगत जिल्लाको पश्चिम ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमानामा बनेको कृत्रिम ताल आसपासमा सडक भासिए सँगै पहिरो खसेको छ । बर्षा हुने क्रम बढेसँगै तालमा पानीको बहाव बढेकाले मध्यपहाडी लोकमार्ग कटानमा पर्दै गएको छ । कतिपय स्थानमा सडक भासिन थालेको छ । सडक भासिएर पहिरो खसेमा गत बर्ष पहिरोले थुनिएर बनेको कृत्रिम ताल फुट्न सक्ने खतरा देखिएको स्थानियले बताएका छन् । गत बर्ष सोही पहिरोमा परि एक महिलाको ज्यान समेत गएको थियो ।

पहिरोले विद्युतको केन्द्रिय प्रसारण लाइनका पोल र तारहरुमा समेत क्षति पु¥याएको छ । बिद्युतका पोल र तार सडकमा छरपष्ट भएको र पहिरोका कारण मध्यपहाडी लोकमार्ग समेत अवरुद्ध हुन थालेको स्थानीय दिनेश शर्माले बताए । ‘तलबाट कृत्रिम तालले सडक भासिने अवस्था र माथिबाट पहिरो खस्ने दुवै जोखिम बढेको छ,’ शर्माले भने, ‘अहिले सम्भावित दुर्घटना जोखिमलाई ध्यानमा राखेर सडक छेउ तर्फ ढुङ्गाहरु राखेर कुना तर्फबाट सवारी र पैदल यात्रुलाई आवत जावतको व्यवस्था मिलाइएको छ ।’
गत बर्ष भदौ २९ गते राती लोकमार्ग भन्दा ५०० मिटर माथिबाट भिषण पहिरो खस्दा बडिगाड खोला करिव ६ घण्टा थुनिएर ताल बनेको थियो। जसलाई स्थानीयले तुरतुरे ताल नाम दिएका छन् । लगभग तिन सय मिटर लामो ढुङ्गे ड्याम हुदा त्यसले बर्षे खोला पनि थेग्न सक्ने अनुमान गरि ताल फुटाइएको थिएन । तुरतुरे पहिरोको केही भाग चर्किएकै अवस्थामा छ । यो तालमा हिउँदको समयदेखी केही दिन अघि सम्म दैनिक डुङ्गा सयर गराएर स्थानीय कुमाल समुदायले आम्दानी समेत गर्दै आएका थिए ।
तुरतुरे क्षेत्र, बडिगाड गाउपालिका र ढोरपाटन नगरपालिकाको सङ्गम स्थल हो ।

माथिबाट पहिरो खसेमा ढोरपाटन नगरपालिकाको भाग डुवानमा पर्ने र ताल फुटेमा बडिगाड लगायत गुल्मीका तटिय क्षेत्रमा ठूलो क्षेती पुग्ने देखिएको भिमगिठे प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव उपरिक्षक ऋनबहादुर वैदावारले बताए । ‘पहिरो खस्ने क्रम जारी छ,जुनसुकै बेला ठुलो पहिरो खस्न सक्ने जोखिम बढेको छ,’ प्रनानि वैदारले भने, ‘अहिले प्रहरीलाई ड्युटीमा राखेर आवश्यक सजगता अपनाइएको छ, तालको दुवै तर्फ जोखिमबारे सन्देशमूलक बोर्ड राख्ने तयारी पनि छ ।’ जोखिमयुक्त ताल र आसपासको मध्यपहाडी लोकमार्ग आयोजना निर्माण कम्पनी, ढोरपाटन नगर र बडिगाड गाउँपालिकाका जनप्रतिनिधिले स्थलगत अवलोकन गरेका छन् ।