जैमिनीको जस पाउने काम

बागलुङको जैमिनी नगरपालिकाले नगर क्षेत्रभित्रका सुकुम्बासीहरुलाई घरजग्गा उपलब्ध गराउन थालेको छ । जैमिनीले नगरपालिकाको वडा नम्बर ३ की मनमाया विक र वडा नम्बर ७ की रिता नेपालीलाई घरजग्गा उपलब्ध गराएको हो । नगरपालिकाले नगर क्षेत्रमा रहेका घरविहीनहरुलाई घरबास बनाउने नीतिसँगै रिता र मनमायाले जनही ३ लाख रुपैयाँ आर्थिक सहयोग पाएका हुन् । जैमिनी नगरपालिमामा ४ एकल महिलासहित १७ परिवारको नाममा आफ्नो जग्गा र घर छैैन । पुस्तौँदेखि सोही ठाउँमा बस्दै आएका उनीहरु यसअघिसम्म घर कहाँ हो भन्ने प्रश्नमा जैमिनीको नाम लिन्थे तर वास्तविकतामा उनीहरुसँग घर नै थिएन । नगरपालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै जैमिनीलाई सुकुम्बासीविहीन बनाउने योजना अनुरुप अहिले दुई परिवारले बास पाएका हुन् । बाँकी ८ परिवारले पनि घडेरी खरिदसँगै लालपूर्जा पाएका छन् । भूकम्प प्रतिरोधी घर बनाउनुपर्ने प्रावधान अनुसार अब उनीहरुले पनि घर बनाउने छन् । नगरपालिकाले घरबारविहीनको लागि भन्दै ३० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । जग्गा पाएकाहरुले असोजदेखि घर बनाउँछन् भने बाँकी घरबारविहीन पनि यो प्रक्रिया अनुसार जग्गा र घरको मालिक बन्नेछन् ।

घरबारविहीन हुने रहर कसैलाई हुँदैन । चराले त घर बनाउँछ भने मान्छेसँग घरको चाहना हुनु अनौठो होइन । तर, सबैको भनेजस्तो पनि हुँदैन । जन्मँदै घरबारविहीन हुन अभिषप्त नागरिकहरुको पीडा साह्रै डरलाग्दो छ । पहाडमा सुकुम्बासी समस्या सानो संख्यामा भए पनि मधेश र शहरी क्षेत्रमा स्थिति भयावह छ । कतिपय व्यक्ति जन्मँदै सुकुम्बासीको दर्जा पाउन अभिषप्त छन् भने तीमध्ये केही भने रहरले सुकुम्बासी पनि बनेका छन् । देशकै लागि सुकुम्बासी ठूलो समस्याको रुपमा देखिए पनि समाधानतर्फ गरिएका प्रयासहरु अपुग देखिएका छन् । विभिन्न समयमा गठित समस्या समाधान आयोगले केही व्यक्तिलाई जग्गा बाँडे पनि वास्तविक सुकुम्बासीको नाममा हुकुमबासीले रजाईँ गरेको उदाहरण पनि प्रसस्त रहेका छन् । घरबारविहीनताको स्थितिमा नागरिकलाई राख्न मिल्दैन । संविधानले नै गास, बास, कपास,शिक्षा, स्वास्थ्यलाई मौलिक अधिकारमा वर्गिकरण गरेकाले पनि सुकुम्बासी समस्या समाधानमा राज्य लाग्नैपर्छ । जैमिनीले यतिबेला आफ्नो क्षेत्रका नागरिकलाई घर र जमिन दिने जुन अभियान थालेको छ, सिंगो राज्य,अन्य स्थानीय निकायहरुले पनि यो असल कामको सिको गर्नुपर्छ । हामीले देश संघीयतामा गएसँगै गाउँगाउँमा सिंंहदरबार आएको नारा लगायौँ ।

तर, धेरैजसो नागरिकले सिंहदरबार गाउँमा आएको अनुभूति गर्न सकेनन् । संघीयता नै केही टाठाबाठाको लागि आएको हो कि भनेजस्तो गरी प्रचार पनि गरियो । जनप्रतिनिधिहरुको भत्ता र तलबप्रतिको मोह तथा अनावश्यक ठाउँमा खर्च गर्ने प्रवृत्तिले त्यो आशंकालाई बल पु¥यायो । तर, सबै जनप्रतिनिधिहरु त्यस्ता हुँदैनन् भन्ने सन्देश जैमिनीले प्रस्तुत ग¥यो । उसले गाउँका भूमि र घरबारहीनहरुलाई राज्य छ भन्ने अनुभूति दिलायो । मानिसको अनुहारमा खुसी ल्यायो र नगरपालिकालाई सुकुम्बासी समस्याविहीन बनाउने काम थाल्यो । यो कार्यको जति प्रशंशा गरे पनि थोरै हुन्छ । स्थानीय सरकारले चाह्यो भने वास्तविक सुकुम्बासीको तथ्याङ्क लिन र समस्या समाधान गर्न सकिँदो रहेछ भन्ने प्रमाणित भएको छ । शहरी क्षेत्रमा वास्तविक सुकुम्बासी पहिचान गर्न केही समस्या पर्ला तर राज्यको ईच्छाशक्ति हुने हो भने त्यो दुरुह छैन भन्ने पनि जैमिनीले देखाइदिएको छ । अत ः जैमिनी प्रशंसाको पात्र मात्रै नभएर, स्थानीय निकायहरुको अगुवा बनेको छ ।