कतै दामसाहीले बाँडियो, कतै सडकमै खन्याईयो !

बागलुङ, २२ असार – समयमै बजेट सदुपयोग गरेको भए धेरै युवाले रोजगारी पाउँथे । धेरै सडक निर्माण वा अन्य बिकासको काम बन्ने पक्का थियो । तर बर्षात लागेपछि काम थालिएपछि केही सडक मर्मत गरेर करोडौं रकम सकिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत आएको बजेट बागलुङको अधिकांस स्थानीय तहले असार लागेपछि बाटो मर्मतको नाउँमा सकेका छन् । ताराखोला गाउँपालिकाले जेठ महिनामै काम थालेर सहिद मार्ग मर्मत र नाली निकाल्ने काममा युवालाई रोजगारी दियो । कम्तिमा २१ दिन रोजगारी दिएको दाबी गरेको ताराखोलाकै नक्कल गरेर अन्य पालिकाले पनि सडक सोहोर्ने काममा बजेट खर्च गरेका छन् ।

पहेलो ज्याकेट लगाउने, हेलमेट लगाउने र गल गैची बोकेर झाराको काम गरेझै गरिएको कामलाईनै प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको रुपमा लिइएको छ । यस्तो काम गरेरै बजेट पनि सकिएको छ । तमानखोला गाउँपालिकाले असार १५ देखि रोजगार कार्यक्रम संचालन गरेको छ । यो कार्यक्रमका लागि ६ सय ३१ रोजगार बनाएको रोजगार संयोजक कृष्ण बास्तोलाले बताए । बडिगाड र काठेखोला गाउँपालिकाले पनि ग्रामीण सडक मर्मतको लागि बजेट र युवा परिचालन गराएको बताए । जैमिनी नगरपालिकाले पाएको ३७ लाखमध्ये हरेक वडामा ३ लाखको दरले बाँडेर सबै वडामा पु¥याइएको नगर प्रमुख ईन्द्रराज पौडेलले बताए । गोरेटो बाटो निर्माण र मोटरबाटो मर्मत जस्ता काम गरेर पैसा सकिएको हो । यसरी गरिएको कामबाट दिर्घकालिन विकास नभएको टिप्पणी भएको छ । जैमिनी नगरपालिका वडा नं. १ का अध्यक्ष भुपेन्द्र थापाले भने ३ लाखमध्ये २ लाखले चाउकादेखि शिरवारी गोरेटो बाटो निर्माण र १ लाखले बजार नजिकैको सडक मर्मत गरिने बताए ।

बागलुङ नगरपालिकाले भने रोजगारका लागि दामासाहीले रकम बाँडेको छ । उक्त रकमबाट वडाले कार्यक्रम तय गरेर काम भैरहेको रोजगार संयोजक सबिता शर्माले बताइन् । वडा नं. ११ का अध्यक्ष ज्ञानेन्द्र गौतमका अनुसार पाएको ४ लाखबाट रामतोलाबाट वडा कार्यालयसम्म आउने गोरेटो बाटो निर्माण गरिएको बताए । वडा नं. २ ले पार्क व्यवस्थापनको काम गर्ने भएको छभने अन्य अधिकांस वडाले गाउँमा मोटरबाटो जाँदा भत्केका गोरेटा बाटालाई मर्मत गर्ने अभियानमा बजेट खर्चेका हुन् । बागलुङ नगरपालिकामा रोजगार कार्यक्रमका लागि ६० लाख बजेट बिनियोजित थियो । देशका धेरै स्थानमा रोजगार कार्यक्रममार्फत ज्याकेट लगाएर मकै गोडेको, झार उखेलेको जस्ता टिकाटिप्पणी भएपछि सबै स्थानीय तहमा हुने कामबारे चासो बढेको थियो । ढिलागरी बजेट निकासा हुनु, योजना बनाउन नसक्नु र आवस्यकताको आधारमा कार्यविधि बन्न नसक्नुले बजेट दुरुपयोग भएको टिप्पणी भएको छ ।

‘समयमै योजना बनाउने, निकासा गर्ने र युवाहरुलाई रोजगार दिने प्रकारको काम बन्नु पथ्र्यो’ पूर्व जनप्रतिनिधि केवी रानाले भने, ‘समुदायको आवस्यकता र युवा रोजगारको कार्यक्रम भन्दा बजेट सक्नका लागि काम गरियो ।’ स्थानीय तहहरुले अन्य शिर्षकबाट बिनियोजन गरेको बजेटले भत्काएको सडक मर्मत गर्ने काममा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट दुरुपयोग भएको उपभोक्ताले बताए ।
हरेक स्थानीय तहले सडक मर्मत गरियो भनेका स्थानमा यसअघि सडक निर्माणका लागि खर्च भएका ठाउँ छन् । ती स्थानमा डोजरले बाटो भत्काएपछि सम्याउने काममा प्रधानमन्त्री रोजगार कार्यक्रमको बजेट प्रयोग भएको हो । केही स्थानमा भने भत्केका गोरेटा मर्मतमा लगाइएको हो । यस्तो बजेट उत्पादन मुलक क्षेत्रमा लगानी गरेको भए दिर्घकालिन रुपमा रोजगार सिर्जना गर्न सकिने शर्माको तर्क छ । रोजगार संयोजक भएपछि पछि सम्मको रोजगार दिन सकिने गरी लगानी होस् भन्ने चाहेको उनले बताईन् । समयमा निकासा नभएपछि कर्मचारीले समेत समयमा तलब खान नपाएको रोजगार संयोजकहरुले टिप्पणी गरे । चालु बर्ष ढिलागरी बजेट र कार्यक्रम आएकोले ढिला भएपछि आगामी बर्ष समयमै बजेट र कार्यक्रम संचालन गर्न जनप्रतिनििधले दवाव सिर्जना गर्नुपर्ने उनीहरुले सुझाव दिए । गल्कोट नगरपालिकाले पनि प्रधानमन्त्री रोजगार कार्यक्रम गोरेटोबोमा केन्द्रित गरेको छ । ३८ लाख बजेट लाई वडा नं ६ को खेलमैदान र वडा नं १० को पाण्डवखानी लमुवा सडकमा लगानी गरेको रोजगार संयोजक ममता बुढाले बताईन् । बाँकी सबै वडामा गोरेटो बाटो मर्मत र पदमार्ग निर्माणमा खर्चेका छन् ।