‘नन्द–हरि पत्रकारिता पुरस्कार’ आचार्य र बोहरालाई

बागलुङ, २३ असार – नेपाल पत्रकार महासंघ बागलुङ शाखामा स्थापित ‘नन्द–हरि सिर्जनशील पत्रकारिता पुरस्कार’बाट बागलुङका दुई पत्रकार पुरस्कृत हुने भएका छन् । विसं २०७४ को पुरस्कार नेपाल टेलिभिजनका बागलुङ समाचारदाता किरण आचार्य र विसं २०७५ को पुरस्कार ढोरपाटन राष्ट्रिय दैनिकका कार्यकारी सम्पादक रामकृष्ण बोहरालाई प्रदान गर्न लागिएको हो । धवलागिरिलाई कार्यक्षेत्र बनाएका पत्रकारमध्येबाट ज्येष्ठता, क्रियाशीलता तथा निरन्तरताका आधारमा आचार्य र बोहरा छनोट भएको पुरस्कार छनोट समितिका संयोजक राजेशचन्द्र राजभण्डारीले बताए । महासंघ बागलुङ शाखाका पूर्वअध्यक्ष उवं केन्द्रिय सदस्य हरिनारायण गौतम र उनको परिवारले आमा नन्दकली र बुबा हरीलाल गौतमको सम्झनामा विसं २०६६ सालमा स्थापना भएकोे पुरस्कार वर्षेनी प्रदान गरिन्छ । पुरस्कारको राशी जनही रु. १५ हजार १ सय ५५ रहेको छ । यही असार २५ गते पत्रकार महासंघ बागलुङ शाखाको १९ औँ स्थापना दिवसका अवसरमा पुरस्कार समर्पण गरिने शाखा अध्यक्ष दिल शिरीषले जानकारी दिए । यसअघि उक्त पुरस्कारबाट पर्वतका पत्रकार दुर्गाप्रसाद शर्मा, ओमप्रसाद घायल, म्याग्दीका घनश्याम खड्का धु्रवसागर शर्मा, बागलुङका राजेशचन्द्र राजभणरी, ज्ञानेन्द्र गौतम, कोपिला कँडेल लगायत पुरस्कृत भइसकेका छन् ।