प्राणी उद्यानः नयाँ पर्यटकीय गन्तव्य

पोखराको पचभैयामा प्राणी उद्यान बनेको छ । अंग्रेजीमा जुलोजिकल पार्क भनिने प्राणी उद्यान यहाँको अर्को महत्वपूर्ण पर्यटकीय गन्तव्य हुने अपेक्षा छ । पोखराको अमरसिँहचोकमा रहेको युनाइटेड क्लवले २०६७ सालमा चिडियाघरको रुपमा सुरु गरेको यो पार्कमा वन कार्यालय,पोखरा महानगरपालिका र अहिले प्रदेश सरकारबाट पनि रकम विनियोजन गरिएको छ । पोखरा महानगरको वडा नम्बर ३०,३२ र ३२ मा रहेको प्राणी उद्यान करिब १ सय ३४ हेक्टरमा फैलिएको छ । उद्यानमा वन्यजन्तु उद्धार केन्द्र पनि रहेको छ । उद्धार केन्द्रमा राखिएका १८ प्रजातिका जनावर र चराचुरुङ्गीहरु अवलोकनको लागि अहिले पनि आन्तरिक तथा बाह्य पर्यटकहरु पुग्ने गरेका छन् । साउन एक गतेदेखि पार्क सबैको लागि खुल्ला गरिने र प्रवेशमा शुल्क लिइने तयारी गरिए पनि शुल्क लिने समयसीमा भने भदौसम्म लम्बिएको छ ।
पोखरालाई पर्यटनको राजधानी भनिन्छ । नेपाल घुम्न आउनेमध्ये करिब ६० प्रतिशत पर्यटकहरु पोखरा आउँछन् । आन्तरिक पर्यटकहरुको पहिलो रोजाई पनि पोखरा नै हो । तर, पोखरामा पर्यटकको बसाई भने साह्रै छोटो छ । यहाँ सामान्यतया ः पर्यटकले साडे २ दिन बिताउँछन् । बसाई छोटो हुँदा उनीहरुले गर्ने खर्च पनि थोरै नै छ । पर्यटक भुल्ने पर्याप्त ठाउँ नभएपछि पर्यटक नअडिएका हुन् । ताल र हिमाल हेरेर मात्रै पर्यटकको बसाई लम्ब्याउन सकिँदैन । त्यसैले पर्यटकको बसाई लम्ब्याउन अन्य मानव निर्मित संरचनाहरु जरुरी छन् । यही आवश्यता पूरा गर्न युनाइटेड क्वलले चिडियाघरको अवधारणा ल्याएको हो । जंगली जनावर हेर्न चाहनेहरुको लागि अब पचभैया क्षेत्र आकर्षक गन्तव्य बन्ने आशा गरिएको छ । पचभैया क्षेत्रमा जंगल समेत संरक्षण गरिएपछि वरपरका बस्तीहरुमा दिनदहाडै मृगलगायतका जंगली जनावर आउन थालेका छन् । पचभैया क्षेत्र खुल्ला चिडियाघरको रुपमा स्थापित हुने क्रममा छ । गण्डकी प्रदेश सरकारले खुल्ला चिडियाखाना तथा वन्यजन्तु उद्दार केन्द्रको लागि ५ करोड विनियोजन गरेपछि यो क्षेत्र अभैm व्यवस्थित हुन्छ भन्ने आशा पलाएको छ । मुख्य कुरा त, पर्यटन प्रवद्र्धनसँगै जोडिएको छ । गण्डकी प्रदेश सरकारले चालु अंग्रेजी वर्षलाई आन्तकिर भ्रमण वर्ष घोषणा गरेको सन्दर्भमा यो उद्यान सक्दो छिटो संचालनमा ल्याउनु परेको छ ।

कम्तिमा पोखरामा पर्यटकको बसाई लम्ब्याउन र थप पर्यटकीय गन्तब्य विकास गर्न अब ढिला गर्नुहुँदैन । अहिले जंगली जनावरलाई कतै थुनेर राख्नुलाई गैरकानूनी काम मानिन्छ । प्राणीहरुको अधिकार हनन हुनु हुँदैन भन्ने मान्यता विश्वव्यापी बनेको छ । यस्तो अवस्थामा प्राणी उद्यानमा जंगली जनावर थुन्ने हैन कि उनीहरुलाई स्वतन्त्र विचरण गर्ने वातावरण निर्माण गर्नुपर्छ । त्यसो हुन सके सो क्षेत्रमा जाने पर्यटकहरुले निश्चित ठाउँमा बसेर जंगली जनावरहरुले स्वतन्त्रपूर्वक गरेका गतिविधिहरु हेर्न सक्नेछन् । जंगली जनावरको संरक्षण गर्दैगर्दा सो क्षेत्रमा रहेका स्थानीय बासिन्दाहरुको समस्याप्रति नजरअन्दाज गर्न नमिल्ने अर्को पाटो रहेको छ । किनकि, जंगली जनावरले दुःख दिन थालेभने स्थानीयहरुले सो कार्य सहँदैनन् । जंगली जनावरलाई बस्तीतिर छिर्न नदिनेतर्फ बेलैमा सचेतता अपनाउनुपर्छ । स्थानीयवासीलाई साथ नलिई कुनै पनि संरक्षणको काम अगाडि बढ्न सक्दैन ।