न आफन्तको टुङ्गो, न छ खाने गाँस

म्याग्दी, २४ असार – ओढारको तलपट्टी बर्खे भेलले उर्लेको खोला, विचमा खेत र खेतको माथिल्लो पट्टी एउटा सानो ओढार । त्यहीँ ओढारमा अत्यन्त टीठलाग्दो अवस्थामा भेटिन्छन् ६५ वर्षिय हिराबहादुर पुर्जा । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. १ तिप्ल्याङका हिराबहादुर पुर्जा विगत १ महिनादेखि ओढारमा बस्दै आएका छन् । घरजग्गा केही नभएका (सुकुम्बासी) पुर्जा यसअघि आफ्ना दाजु लोदे पुर्जासंगै तिप्ल्याङमा अर्कैको घरको एउटा कोठामा बस्थे । ८० वर्षिय दाजु लोदेसंग झगडा भएपछि उनी गत जेठको अन्तिम सातादेखि ओढारमा बस्न थालेको रघुगंगा गाउँपालिका–१ का वडा सदस्य बलमान गौचनले जानकारी दिए ।

वडा सदस्य गौचनका अनुसार, गाउँमा उनीहरुको सम्पत्तिको नाममा एक टुक्रा जग्गा र एउटा छाप्रो समेत छैन । न त उनीहरुको नाता सम्बन्धीहरु नै छन् गाउँमा । कहाँबाट आएर कहिलेदेखि यी दुई भाई गाउँमा बस्न थालेका हुन् भन्ने कुराको जानकारी समेत गाउँलेलाई छैन । गाउँका बृद्धवृद्धाहरुबाट उनीहरु गाउँमा देखिएको ५० वर्षभन्दा बढि भएको आफूले जानकारी पाएको वडा सदस्य गौचनले बताए । ‘गाउँमा न उनीहरुका कोही आफन्ती छन्, न त सम्पत्ति छ’ गौचनले भने ‘उनीहरुको आफन्तको बारेमा पत्ता लगाउन हामीले धेरै कोशिस ग¥यौं तर पत्ता लगाउन सकिएन ।’

गौचनका अनुसार, पहिले दुई भाइले गाउँमा ज्याला मजदुरी गरेर खाने गर्थे । दाजु लोदे (वास्तविक नाम थाहा हुन नसकेको) ले काम गर्न नसक्ने भएपछि उनीहरुको विजोग भएको हो । जेठसम्म दुई भाइ एउटै कोठामा बस्थे । तर, उनीहरुको विचमा झगडा भएपछि भाई हिराबहादुर त्यहाँबाट निस्केर खेतको कुनापट्टी रहेको ओढारमा बस्न थालेको कुरा आफूले केही दिन अघिमात्र थाहा पाएको गौचनले बताए । गौचनका अनुसार, भाई हिरावहादुरले २०४६ सालमा गाउँमा आएको घुम्ती टोलीमार्फत नागरिकता बनाएका छन् । तर उनको नागरिकतामा फोटो छैन । दाजु लोदेको भने अहिलेसम्म नागरिकता बनेको छैन । दुई भाई नै अविवाहित हुन् । हिराबहादुरको नागरिकतामा बुबाको नाम पदमबहादुर पुर्जा उल्लेख भएको छ ।

हिराबहादुर ओढारमा बस्न थालेको कुरा जानकारीमा आएपछि वडा अध्यक्ष बिलबहादुर फगामीले चासो देखाएका छन् । गाउँपालिकामा यी दुई भाइको व्यवस्थापन गर्ने विषयमा छलफल भएको र उनीहरुलाई वासस्थानका लागि सार्वजनिक जग्गामा भए पनि घर बनाइदिने विषयमा सबै सहमत भएको वडा अध्यक्ष फगामीले बताए । उनीहरुलाई अहिले तत्कालै १ लाख रुपैयाँ खर्च गरेर बस्ने बास र खाने चिजहरुको व्यवस्था गर्नुका साथै भाई हिरावहादुर पुर्जाको नागरिकताको आधारमा दाजु लोदे पुर्जाको पनि नागरिकता बनाइदिने निर्णय भएको वडा अध्यक्ष फगामीले जानकारी दिए ।