हिंसा पीडितलाई मनोसामाजिक परामर्श

बागलुङ, २७ असार – चालु आर्थिक बर्ष लैङिक हिंसाबाट पिडितमध्ये १ सय १३ महिलाले धौलागिरी अञ्चल अस्पतालमा उपचार र मनोसामाजिक परामर्श सेवा पाएका छन् । चालु बर्षमै २० जना पुरुषले पनि लैङिक हिंसा खेपेको तथ्यांक छ । उनीहरुलाई पनि निशुल्क उपचार र मनोसामाजिक परामर्श दिइएको छ । अस्पतालमा आधारित एक द्वार संकट व्यवस्थापन केन्द्रले आयोजना गरेको बर्षभरीको घटना र कार्यक्रम सार्वजनिकीकरण कार्यक्रममा उक्त तथ्यांक देखाइएको हो । अघिल्लो आर्थिक बर्ष १ सय महिला र ९ पुरुष पिडित भएकोमा चालु बर्ष बढेको पाइएको हो । उनीहरुलाई औषधि उपचार, साता दिन सम्म खानेबस्ने व्यवस्था र गोप्य रुपमा परामर्श सेवा दिने समेत गरिएको केन्द्रकी प्रमुख देवी भट्टराईले बताइन् । २०६८ सालमा स्थापना भएपछि यो केन्द्रले हिंसामा परेका महिला र पुरुषको उपचारमा सहयोग गरेको छ । अस्पतालमा उपचार गराएपछि सामाजिक पुनस्थापना, अदालतबाट कानूनी सेवा लगायतको सेवा पाउनका लागि केन्द्र स्थापना गरिएको हो । उपचार हुन नसकेर पोखरा रिफर गर्नु परेमा उनीहरुलाई पठाउने व्यवस्था पनि छ । ती घटनामा ७ पिडितहरु सोझै केन्द्रमा आएका थिए थिए भने ४२ जना प्रहरीको सहयोगबाट आएका थिए । अन्य पिडित बिभिन्न बाटोबाट आएको भट्टराईले बताइन् । कार्यक्रममा धौलागिरी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सागरकुमार राजभण्डारीले हिंसा न्युनिकरण गर्दै पिडितलाई सामाजिक न्याय दिनका लागि केन्द्र स्थापना गरिएको बताए । उनले अस्पतालमा आएका मध्ये मानसिक हिंसा खेपेका धेरै भएको बताए । साथै शारिरीक हिंसा खेपेका, बलात्कारमा परेका, बिष सेवन गरेका र आत्महत्याको प्रयास गर्नेहरु समेत आउने गरेको बताए । आएका सेवा ग्राही मध्ये पर्वतबाट १० जना, म्याग्दीका ३ र अन्य जिल्लाका २ पिडित आएको समेत बताइएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिष र मेडिकल अधिकृत डा. शर्मिला ढकालले बोलेका थिए ।