मगर विद्यार्थी संघद्वारा लोकसेवा आयोगको ध्यानाकर्षण

बागलुङ, २७ असार – लोकसेवा आयोगले हालै प्रकाशित गरेको बिज्ञापनमा लक्षित क्षेत्रको लागि तोकिएको संख्या नखुलाएको भन्दै नेपाल मगर बिद्यार्थी संघले बिरोध गरेको छ । संघका बागलुङग, पर्वत, म्याग्दी र मुस्ताङका पदाधिकारीले बिहिवार आयोगको बागलुङ कार्यालयमा एक घण्टा धर्ना समेत दिएका थिए ।
संविधानले ग्यारेन्टी गरेको र निजामती सेवा ऐनले पनि खुला पदपूर्ति गर्दा ४५ प्रतिशत समावेशी समूहका लागि छुट्टयाउनुपर्ने प्रावधान राखेकोमा नभएको भन्दै बिरोध गरेको हो ।
‘संविधानले दिएको अधिकार पनि नदिएर लोकसेवा आयोग र सामान्य प्रशासन मन्त्रालयले लक्षित समूह माथी अन्याय गरेको छ’ संघका केन्द्रीय सदस्य मनिष थापाले भने, ‘यो कमजोरी तत्काल सच्याएर नयाँ बिज्ञापन खुलाउनु पर्छ ।’ ज्ञापनपत्र बुझाउन संघको बागलुङकी कावा अध्यक्ष कोपिला श्रीष, पर्वतका अध्यष सुजन पुन, म्याग्दीका अध्यष बिजय घर्ती र मुस्ताङका अध्यक्ष कृष्ण बुढाथोकी लगायतका थिए ।