छारेरोग के हो र कसरी बच्ने ?

छारे रोग मानिसलाई मात्र नभएर पशु समेतमा देखा पर्ने एक किसिमको मानसिक रोग हो । यो रोगलाई मृगी, चडिफाउ, फफडके, रिङ्ने, जस्ता विभिन्न स्थानिय नामहरूले पनि चिन्ने गरिन्छ । प्रायजसोः कमजोर दिल भएका व्याक्तीहरूलाई छारे रोगको प्रभाव देखिने सम्भावना बढी हुने अनुमान गरिएको छ । यो रोग लाग्ने रोगीले कहिले कतिखेर र कहाँ लाग्न सक्छ भन्ने पूर्वानुमान गर्न सक्दैन तर पनि धेरै मानिसको भेला, रंगीविरंगी कपडा, आँखा तिरमिराउने घाम, नदीमा उफ्री रहेको पानी र पञ्चेबाजाको धुन सुनेपछि यो रोगका रोगीहरू अचानक मुर्छा (अचेत) अवस्थामा भएर लडेको देखिन्छ । यो रोगको रोगीलाई ग्यारेण्टीका साथ निको पार्न सकिने कोही उपचार त छैन तर पनि कतिपय डाक्टर तथा वैद्यहरू मिर्गिको रोगी ठिक बनाउन सकिने दाबी गर्छन् । छारे रोगीको अपरेसन नगर्दासम्म ठिक नहुन् सक्छ । यो एक दिमागी रोग भएका कारण अपरेसन गर्न साह्रै खर्चिलो र अप्ठ्यारो पनि हुन्छ ।

छारे रोग कस्तो रोग वा समस्या हो ?
छारे रोग भनेको हाम्रो दिमागी स्नायुबाट प्रवाह हुने असाधारण तरङ्ग हो । मस्तिष्कका नसामा आउने गडबडीका कारण शरीरमा देखिने समस्या हो– छारे रोग । मस्तिष्कको नसामा ट्युमर पलाउँदा, मस्तिष्क सुन्निँदा तथा मस्तिष्कमा रगत जम्दा दिमागमा चाहिनेभन्दा बढी विद्युतीय तरंग उत्पन्न हुन्छ । त्यही तरंगका कारण छारे रोगका लक्षण देखिन्छन् । यो रोग लागेपछि केही मिनेट या सकेन्डका लागि बेहोस हुने, काम्ने, मुखबाट फिंज काढ्ने, वान्ता हुने, मुर्छा पर्ने, लल्याकलुलुक हुने, केही थाहा नपाउने जस्ता लक्षण देखिन्छन् । नदी, पोखरी या आगो भएका ठाउँमा यो रोगले छोप्यो भने पानीमा डुबेर एवं आगोमा जलेर बिरामीको मृत्यु हुनेजस्ता दुर्घटनासमेत निम्तिन सक्छन् ।

छारे रोग के कारणले लाग्छ ?
यसका विभिन्न कारणहरु छन् । ठ्याक्कै यहि कारणले हुन्छ भन्ने छैन । विशेषगरी बच्चाको जन्मदा टाउकोमा चोट लागेर वा विभिन्न कारणहरुले टाउकोमा चोट लागेर, मस्तिष्कमा सँक्रमणका कारणले जस्तै मेनिंजाइटिस, इनसेफालाइटिस, सेरेब्रल मलेरिया आदिका कारणले गर्दा छारे रोग लाग्न सक्छ । फित्ते जुकाहरुका कारणले गर्दा पनि छारे रोग लाग्न सक्दछ । कुनै कुनै अवस्थामा छारे रोग वंशाणुगत पनि हुन सक्छ तर छारे रोग भएका व्यक्तिहरुका छोराछोरीमा यो रोग विरलै देखिन्छ । त्यस्तै मस्तिष्कमा रक्तश्राव अवस्थामा पनि छारे रोग लाग्न सक्दछ ।

छारे रोगका कारणले व्यक्तिलाई के कस्तो प्रवाभ पार्दछ ?
वास्तमा यस्ले व्यक्तिका जिवनमा विभिन्न परिणामहरु ल्याउन सक्छ । शारीरीक, सामाजीक, आर्थिक तथा व्यवहारहरु रूपमा प्रभाव पर्न सक्छ । छारे रोग लागेका मानिस जुनसुकै ठाउँमा पनि बेहोस हुन सक्छन् । खाना पकाउदै गर्दा, घाँस दाउरा गर्दा, खेती पाती गर्दा, गाईगोठ गर्दा वा राती निदाएको बेला पनि हुन सक्छ । यस्तो रोगले छोपेको वेला एक्लै वा अन्य व्यक्ति भएको बेला पनि हुनसक्छ । बेहोस हुँदा व्यक्ति सचेत हुंदैनन् । शरीर कम्पित वा कम्पन हुने, बेहोश हुने, जीउ तथा हातखुट्टा अरह्रो हुने, मुखबाट फिंज आउने, बेहोसीको कारणले व्यक्ति एक्कासी लड्ने हुन सक्छ । त्यसैले व्यक्तिको शरीरमा घाउ चोट लाग्न सक्ने हुन सक्छ । बेहोस भएका बेला व्यक्तिले दिशा, पिसाब छोड्न सक्छन् । केहि पलदेखि केहि मिनेटसम्म बेहोस हुने हुन सक्दछ । त्यसपछि व्यक्तिमा कम्पन पश्चात्ः थकित हुने, शरीरमा बल र शक्ति नहुने, निद्रां लाग्ने, अनौठो व्यवहार देखाउने, टाउको दुख्ने, मांशपेसी दुख्ने वा कम्जोरीपन हुन्छ ।
मानिसहरुको बुझाइमा छारे रोग एक प्रकारको खतरनाक हो जुन कहिल्यै बिसेक हुदैन वा सन्चो हुदैन । यो रोग एक मानिसबाट अर्काे मानिसमा सजिलै सर्दछ भन्ने जस्ता गलत सोचाईहरु रहेको पाइन्छ । यसले गर्दा कतिपय अवस्थामा उनीहरु समाज तथा घरपरिवारबाटै अपहेलित हुनुपर्ने, कहिलेकाहिं छारेरोग अनियन्त्रित भइ ठुलै मानसिक समस्या पनि आइपर्ने अवस्था पनि आउन सक्छ । यस्तो अवस्थामा देखाउने असामान्य व्यवहारले कानुनी खालका ठुलै घटनाहरु घट्ने गरेको पनि हामीले देख्ने गरेका छौं ।

के यसको उपचार सम्भव छ ?
छारे रोग गाउँघरमा हात काँप्यो, आँखा फर्कियो, मुख बाङ्गियो भने मात्र छारे रोग भएको भन्ने चलन रहेको छ । तर कतिपय अवस्थामा मानिस हिंडदा–हिंडदै केही समयका लागि अचेत हुने र केही समयपछि पूनः सामान्य अवस्थामा फर्किनु पनि छारे रोगको कारणले हुनसक्छ । त्यसैले पनि बिरामी कतै बेहोस भएमा तत्काल परिवारका सदस्यलाई खबर गरी जानकारी गराउनका लागि छारे रोगीले आफ्नो परिचयपत्र सधै बोक्नुपर्छ ।
खासमा छारे रोग मस्तिक सम्बन्धी एक प्रकारको समस्या हो र यसको उपचार सम्बभ छ । यहि जनचेतना समुदायसम्म पुग्न सके बिरामी र उसको आफन्तको जीवनमा धेरै परिर्वतन हुन सक्थ्यो । उपचार गराएर उनीहरु सामान्य जीवन बिताउन सक्थे । यो सरुवा रोग होइन । थुक वा र्यालबाट यो रोग सर्छ भन्ने गलत धारणाले बिरामी र उसको परिवार संग बस्न, पढन र खेल्न समेत डराउने गरेका छन । छारे रोग लागेका बिरामीलाई बेला बेलामा असर देखाउछ (छोप्छ) र उनीहरु बेहोस हुन्छन । यो रोग धेरै किसिमका हुन्छन् । धेरैले देखेको र जानेको छारेरोग भनेको अचानक लड्ने, शरीर अरठ्ठै पार्ने, कम्पन हुने, मुखबाट फीज निकाल्ने, जीब्रो टोक्ने, चोटपटक लाग्ने र एकै छिनपछि होस फर्किने हो ।
यसरी छोपेको बेलामा अरु मानिसले गर्नै नहुने काम गर्दछन । जनचेतना अभावले के गर्नु पर्दछ र के गर्नु हुदैन भन्ने थाहा नभएकाले यस्ता घटनाहरु हुन्छन । त्यसैले समुदायमा जनचेतना नबढाई यस्ता समस्या टार्न कठिन छ । जनचेतना बढाउन सञ्चार माध्यमहरुले ठूलो भूमिका खेल्न सक्छन् । सबै बेहोस हुने रोग छारे रोग नहुन पनि सक्दछ । मस्तिष्कमा भएका रसायनिक तत्वहरुको असन्तुलनले छारे रोग हुन पुग्छ । दिमागको विकासक्रममा वा बनावटमा केही अप्ठेरो छ भने पनि सो पनि छारे रोग नै हुनसक्दछ ।
छारे रोगले दिमागको नशा मर्ने हुन्छ कतिपय अवस्थामा छारे रोगले मानिसको मृत्यु समेत हुन सक्दछ । समयमै उपचार गरेमा छारे रोग निको हुन्छ । छारे रोगको उपचार त्यसको प्रकार हेरेर गरिन्छ । तर नेपालमा धेरै बिरामी उपचारबाट बञ्चित छन् । छारे रोगको शल्यक्रिया पनि गर्न सकिन्छ । धेरै जसो बिरामीका लागि औषधी नै उत्तम बिकल्प हो । छारे रोगको लक्षण देखिएमा चिकित्सकहरुको सल्लाह अनुसार उपचार गरे निको हुन्छ ।

के कस्ता उपचारको प्रक्रियाहरु अपनाउन सकिन्छ ?
छारे रोगको उपचारका लागि धेरै विधिहरु छन् । यसको पहिलो विकल्प भने औषधी उपचार नै हो । औषधी उपचार संगै मनोसामाजीक शिक्षा पनि यस्को उपचार हुन्छ । उपचारका लागि विरामीका धेरै औषधीहरु छन् जुन विरामीले अपरिहार्य रुपमा सेवन गर्नुपर्ने हुन्छ । यसका लागि हाम्रो बहुसाँस्कृतिक मनोसामाजिक संस्था (टिपिओ) नेपाल र इन्टरनेश्नल मेडिकल कोरको सहयोगमा आइसिडिसी नेपालले यस जिल्लाका विभिन्न स्वास्थ्य संस्थाहरुमा यस्को औषधी निशुल्क रुपमा वितरण गरिररहेका छन् ।
स्वास्थ्य संस्थामा रहेका तालिमप्राप्त जनशत्तीबाट औषधी उपचार गराउन सकिन्छ् र यो बाहेक मनोशिक्षा पनि उपाचारको विधि हो । मनोशिक्षा भन्नाले हामीले सर्वप्रथम त व्यक्तिलाई छारे रोग के हो भनेर बुझाउनुपर्छ । यो सरुवा रोग हैन, औषधी उपचार गरे निको हुन्छ भन्ने कुरा हामीले समाजमा बुझाउनु आवश्यक हुन्छ । यदी व्यक्ति बेहोस भएको छभने विरामीलाई खतराजन्य ठाउँ जस्तैः आगो, पानी, भिडभाड, भिरलो ठाँउबाट हटाउने, शरीरमा कम्पन भएको बेलामा बल प्रयोग गरेर रोक्ने प्रयास नगर्ने, छारेरोगले छोपेको बेलामा टाउको तल नरम चिज राखी दिने र सरिरमा कस्सिएको कपडा छभने खुकुलो बनाइदिने, छारेरोगले छोपेको बेलामा मुखमा पानी वा खानेकुरा नराखिदिने, कांप्न छोडेपछि बिरामीलाई कोल्टे पारेर सुताउने र मुखबाट फिँज निस्कन दिने, काम्न बन्द भएपछि बिरामीलाई आराम गर्न लगाउने, कम्पन भएको बेलामा लागेको चोटपटकको प्राथमिक उपचार गर्न सकिन्छ ।
त्यस्तै बेहोस भएका व्यक्तिलाई जुत्ता, मोजा सुगाउनु राम्रो होइन । उनीहरुलाई नियमित औषधी सेवन गरेमा निको हुन्छ । बिरामी तथा उसको परिवारलाई उपचारका लागि स्वास्थ्यकर्मी सँग गएर भेट्न सल्लाह दिने, छारेरोग लागेका व्यक्तिहरू साधारण जीवन बिताउन सक्छन्, उनीहरू स्कूल जान, काम गर्न, विवाह गर्न, बालबच्चा जन्माउन सक्छन् भन्ने बारे जानकारी दिनुपर्छ । यस्ता विरामीहरूले लागूपदार्थ सेवन गर्नुहुँदैन तथा डाक्टर वा नर्सको सल्लाहविना अन्य औषधीहरू खानुहुँदैन । छारेरोग लागेका विरामीहरूले रोग राम्रोसँग नियन्त्रण नभएसम्म आगो, पानी, मेशिनरी सामानको नजिक जानु, भिरालो ठाँउमा जानु अथवा सवारी हाँक्न हुदैन ।
यसबाहेक छारे रोग भएका व्यक्तिहरुले विभिन्न खालका सावधानीहरु अपनाउनुपर्ने हुन्छ । जस्तैस् हरेक कार्यमा सहभागी हुदा आफुलाई ध्यान दिने, परिवारका सदस्यहरुलाई आफ्नो समस्याको वारेमा जानकारी दिने, नियमितरुपमा औषधी सेवन गर्ने, सकारात्मक सोचाई राख्ने, औषधी नियमित सेवन गरेमा समस्यावाट छुट्कारा पाइन्छ भन्ने सोचाई राख्ने लगायका कुरामा व्यक्तिले ध्यान पुर्याउनुपर्छ । त्यस्तै परिवारले नियमित औषधी सेवनका लागि प्रेरित गर्ने, सकारात्मक व्यवहार गर्ने, विरामी आफैले समस्या निम्त्याएको हुदैनन्, त्यसैले उनीहरुलाई नकारात्मक शब्दहरू र ब्यावहार प्रयोग नगर्ने जस्ता कुरामा ध्यान पुर्याउनुपर्छ । यसो गरेमा छारे रोग लागेका विरामीहरु आफुलाइ एक्लो महसुस गदैनन् । चांडै निको हुने वातावरण बन्छ ।

उपचारको लागि के कति समय र खर्च लाग्छ ?
ठ्याक्कै यति समय र खर्च भन्ने छैन । व्यतिले परिवार तथा समाजबाट कस्तो व्यवहार पाइरहेको छ । उपचारमा के कसरी सहयोग पाइरहेको छ भन्ने कुरामा भर पर्छ । औषधी उपचारका साथै मनोसामाजीक शिक्षा तथा मनोशिक्षा पाएमा विरामी चांडै निको हुन्छ । छारे रोग सम्बन्धी समुदायमा गलत बुझाई छ । कस्तो समस्या पाउनु भएको छ ? त्यस्ता बुझाईलाई कम गर्न के गर्नु पर्ला ? छारे रोग साधारण किसिमको रोग भएता पनि ग्रामिण भेगमा यो रोग सम्बधि अन्धबिश्वास व्याप्त छ । बिरामीलाई जुत्तामोजा सुँघाउने, धामीझाँक्री देखाउने गरेको पाईन्छ । छारेरोगका लक्षण हरेक दिन देखिन्छ भन्ने हुँदैन । उपचार नगरे पनि कसैकसैलाई एकपटक लक्षण देखिएपछि अर्को १ बर्षसम्म लक्षण नदेखिन सक्छ । केटीहरुमा छारेरोग देखिएमा परिवारले लुकाएर राख्ने चलन छ ।
यसलाई अभिशाप नठानी उपचारतर्फ लाग्नुपर्दछ । समाजमा व्याप्त असाधारण बुझाइलाई कम गर्नको लागि मनोसामाजीक र मानसिक स्वास्थ्यको वारेमा जनचेतना फैलाउने, जिल्लामा उपलव्ध सेवाको बारेमा जानकारी दिने र जिवनदेखी हार खाइसकेका व्यक्तिहरुलाई जिवनप्रतिको जांगर र जोस पैदा गराउने कार्यक्रम गाउँ–गाउँमा लिएर जानुपर्छ । बिभिन्न जिल्लाका जनस्वास्थ्य कार्यालय संगको समन्वयमा जिल्लामा विभिन्न कार्यक्रम संचालन गरिरहेको छ ।तर अझैपनि पुर्ण प्रभावकारी रूपमा फैलिएको देखिदैन । यस्ता जनचेतनामुलक तथा उपचारात्मक कार्यक्रम मार्फत मानिसमा सकरात्मक सोचको विकास गर्न सकिन्छ । रेडियो कार्यक्रम, पत्रपत्रिकामा लेख रचना, नाटक, गीतमार्फत पनि जनचेतना फैलाउन सकिन्छ । जसले मनोसामाजीक स्वास्थ्यका सम्बन्धमा व्यक्ति, परिवार तथा समुदायमा विद्यमान नकरात्मक हेराईलाई परिमार्जन गर्दै समस्यामा परेका व्यक्तिलाई समाजमा स्थापित गर्न सहयोग पुर्याउँछ ।

छारे रोगबाट कसरी बच्ने ?
–उमालेको वा निर्मलीकरण गरेको शुद्ध पानी मात्र पिउने, –टाउकोमा चोटपटक लाग्न नदिने, –ज्वरो आउँदा समयमै उपचार गर्ने, –काँचा साग, सलाद, फलफूल पोटास पानीले राम्रोसँग पखालेर मात्र खाने, –ठीक समयमा सन्तुलित खाना खाने, –अनिँदो नबस्ने र –तनाव नलिने ।
अन्त्यमाःमनोसामाजीक तथा मानसिक स्वास्थ्य समस्या पनि अन्य शारिरिक समस्या जस्तै हो, जुन आत्मविश्वास कायम राख्दै नियमित रुपमा औषधी सेवन तथा परामर्श सेवा लिएमा अवश्य निको हुन्छ ।