दूध र अण्डामा बागलुङ जिल्ला आत्मनिर्भर

बागलुङ, २७ असार – बागलुमा व्यवसायिक कृषि फर्म संचालनको लहर बढेपछि दूध र अण्डा उत्पादन ह्वात्तै बढेको छ । केही बर्षदेखि दूधमा जिल्ला आत्म निर्भर भएको छ भने अण्डामा आत्मनिर्भर नजिक पुगेको बरिष्ठ पशु बिकास अधिकृत नारायणप्रसाद शर्माले बताए । जिल्लामा पछिल्लो समय व्यवसायिक पशु फार्म संचालन गर्ने किसानहरु धमाधम बढेको समेत पाइएको हो । भेटेनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्रले चालु आर्थिक बर्षको कार्यक्रम र बित्तीय प्रगतीको समीक्षा तथा सार्वजनिकीकरण गर्ने कार्यक्रममा शर्माले उक्त तथ्यांक पनि प्रस्तुत गरेका हुन् ।
बिहिवार आयोजित एक कार्यक्रममा केन्द्र प्रमुख नारायण शर्माले प्रगती विवरण सुनाएका थिए । उनका अनुसार चालु बर्षका लागि प्राप्त बजेटमा ९५ प्रतिशत बित्तीय प्रगती गरेको बताइएको छ । बागलुङ र पर्वत हेर्ने गरी गत भदौ ९ गते यो केन्द्र स्थापना भएको थियो । तथ्यांक अनुसार बागलुङमा हरेक बर्ष २ करोड ४९ लाख ९१ हजार लीटर दूध उत्पादन भैरहेको देखिएको हो । सदरमुकाम आसपास र काठेखोलाको उत्पादनले बजार क्षेत्रमा दूधको आपूर्ति थेगेको छ भने बलेवा क्षेत्रको दूध कुश्माको बजारमा बिक्री भैरहेको हो । शर्माकै अनुसार हरेक मानिसलाई चाहिने बार्षिक ९१ लिटर दूध बागलुङमा उत्पादन भैरहेको छ । बार्षिक ९३ लीटर पुग्ने गरी उत्पादन भएकोले बेच्न पनि पुगेको हो । अनुदान पाएपछि किसानले १ सय बढी गाई पालेका दर्जनबढी फर्म खोलेका छन् ।
बागलुङमै मासुजन्य बस्तु र अण्डा उत्पादन पनि बढीरहेको देखिएको छ । हरेक नागरिकले बर्षमा ४८ वटा अण्डा र १४ केजी मासु खानुपर्छ । अहिले प्रतिव्यक्ति ४३ वटा अण्डा पुग्ने गरी उत्पादन भएको छ भने मासु १२ दशमलब केजी उत्पादन भएको हो । उत्पादन अझै बढाउन पहल भैरहेको समेत शर्माले बताए ।
कार्यक्रममा शर्माले चालु बर्षका लागि प्राप्त कुल ३ करोड १३ लाख २६ हजार रुपैयाँ मध्ये २ करोड ९६ लाख १५ हजार ९ सय ५७ रुपैयाँ खर्च भएको जानकारी दिए । चालु बर्ष २ हजार १ सय ४५ गाई र १ हजार ५ सय १२ भैसीमा कृतिम गर्भाधान गरिएको थियो । जर्सी गाई र मुर्रा भैसी तथा स्थानीय जातको भैसीमा समेत कृतिम गर्भाधान गरेर उत्पादन बढाउने क्रम बढेको छ । त्यस्तै १ लाख ६५ हजार ४ सय ४० कुखुरा र पशुलाई खोप लगाइएको थियो । ती मध्ये रानीखेत, पिपिआर, रेविज र खोरेत रोग बिरुद्धको खोप लगाइएको हो । गाईभैसीको गोवर परीषण, थुनेलो परीषण र पिशाव परिक्षण गरेर किसानको उत्पादन बढाउने अभियानमा सहयोग गरेको पनि उनले बताए ।
चालु बर्ष पशुपंक्षी तथा मत्स्य नमूना मोडेल फार्मका लागि ३४ वटा, व्यवसायिक फर्मका लागि पशु आहारा यन्त्रीकरणमा ३५ वटा, पशुपंक्षी पकेट क्षेत्र प्रवद्र्धन कार्यक्रममा ४ वटा, सहकारी संस्थालाई दूध उत्पादनमा आधारित अनुदान ४ वटा, स्वच्छ मासुका लागि फ्रेस हाउस सुदृढीकरणमा ५ वटा फर्म सूचिकृत गरिएको हो ।
साथै प्राकृतिक गर्भाधानका लागि ९ वटा फर्ममा उन्नत बोका, उन्नत राँगो र साँढे बितरण गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगाना, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, समन्वय अधिकारी कृष्णराज गौतम, पत्रकार महासंघका अध्यक्ष दिल शिरिष, दूध उत्पादक किसान कुमार बिक्रम क्षेत्री, उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्र श्रेष्ठ लगायतले बोलेका थिए ।