जीवन भोगाईका परिदृश्य

जीवनका भोगाइमा सन्दर्भ र समन्वयका आधारमा सिकाइ र उपलब्धीका लक्ष्य हासिल गर्ने धेरै पाटाहरु हुन सक्छन् । आफनै परिवेशका घटनाहरुको लामो घटनाक्रम बन्न सक्छन् । धेरैका इतिहासहरु लिपीबद्ध नहुने गरी बिलाएर लिपीबद्ध गर्ने चाहना हुदाहुदै पनि हराएर र विलाएर आँखा अगाडिबाट नै स्मृतिमा गए । आगामी दिनमा अझ हराएर जाने सम्भावना बाँकी नै छ । कतिले चाहेर पनि प्रकाशन गर्न सकेका छैनन । कतिले स्वयम् लगानी गरेर निशुल्कमा पुस्तक वितरण गरी रहेको पाउन सकिन्छ । कम मात्राले जीन्दगीका भोगाइलाई प्रकाशनमा ल्याएका छन् । प्रकाशमा नआएका प्रेरणादायी र उत्प्रेरणाका विषयवस्तुहरु ओझेल र पर्दा पछाडी नेपथ्यमा रहेका हुन् सक्छन । प्रचारात्मक शैलीलाई पछाउनका लागि घोष्ट लेखक राख्ने हैसियत नभएका कारण आफुले भोगेका र सहभागीता भै नेतृत्व गरेका घटनाक्रमलाई छोटकरीमा आलेख तयार पारेको छु ।

सहकारी क्षेत्रको अनुभव
एस.एल.सी. पास वि.स. २०५२ मा गरेपछि महेन्द्र बहुमुखी क्याम्पस (धवलागिरी बहुमुखी क्याम्पस) बागलुङमा उच्च शिक्षाको अध्ययनका लागि पाइला चाल्दै गर्दा साना किसान सहकारी संस्था लि. भकुण्डेको सहजकर्ता हुँदै प्रबन्धकको पदमा १० वर्ष ६ महिनाभन्दा बढी न्यूनतम पारिश्रमिकमा काम गरे । सहकारीताको अनुभव आम रुपमा अभ्यास शेयर सदस्यको रुपमा हुने तर समुहमा आवद्ध गरी काम गर्नुपर्ने र सोही ज्ञान र शिपले बागलुङ जिल्लाको सदरमुकाममा रहेका सहकारीमा आवद्ध हुने अवसर मिल्यो । सहकारी आन्दोलनबाट गरिबी घटाउने र बढाउने गरेको अनुभव गरे । वृत्ति विकासको सिकाइको चरणमा भएकाले खासै सफलताको सिढीमा चढन नसकेको अवधीको रुपमा लिए । न्यूनतम पारिश्रमिकमा काम गरी समाज भित्रका द्धन्द्ध, वर्ग विभेद, सामाजिक संस्कार, सामाजिक मुल्य मान्यता, राजनीतिक संस्कार, आर्थिक सम्बन्ध र विभेद लगायतका परिवारमा आम्दानी गर्ने छोराछोरीहरु विचमा बाबाआमाले गर्ने माया ममता र तिरस्कारको विषयमा मिठो, तितो अुनभव हासिल गर्ने जिवनका भोगाइमा रहे ।

पत्रकारीता क्षेत्रको सहभागीता
लेखनशिपलाई क्याम्पसको अध्ययनमा शुरुवात गरे । कान्तिपुर दैनिक समाचारदाता दिपक थापा र एविसी टेलिभिजनका सञ्चालक शुभशंकर कँडेल तथा धवलागिरी साह्त्यि प्रतिस्ठानका अध्यक्ष काजी रोशनको प्ररेणाबाट लेख रचनामा लगाव बढ्दै गयो । भकुण्डे गाउँबाट गाँउले समाचार मासिक भित्ते पत्रिका प्रकाशन वि.स. २०५३ साल तिरबाट भयो । लगभग नौ अंकसम्म प्रकाशन भयो । युग सन्देश अर्धवार्षिक साहित्यीक प्रत्रिका समेत सम्पादन गरी निकाल्ने काम गरे । भैरव उच्च माध्यमिक विद्यालय भकुण्डेको स्र्वण जयन्तीको सन्दर्भमा भैरव सन्देश मुखपत्र प्रकाशनमा सम्पादनको काम गरे । धौलाश्री दैनिक, न्यू धौलागिरी दैनिक, बागलुङ साप्ताहिक, सुर्य साप्ताहीक, धौलागिरी स्टार साप्ताहिक, रुप्से दैनिक म्याग्दी, लोकतन्त्र अनलाइन पर्वत, नयाँ विश्व अनलाइन, अर्थ सम्वाद काठमाडौ, शुलशुले अनलाइन, चक्रपथ अनलाइन, कालिका न्युज चितवन, इबागलुङ, कालिका साप्ताहिक, मुक्तिक्षेत्र देनिक, गल्कोटपत्र, धरातल अनलाइन, जनमञ्च अनलाइन, ढोरपाटन दैनिक, जनमञ्च डटकम, ढोरपाटन न्युज डट, जननिगरानी साप्ताहिक, इपरि न्युज अनलाइन, परिसुचन साप्ताहिक लगायतमा लेख, समाचार प्रकाशन गर्ने काममा सहभागिता रह्यो ।
पोखराबाट प्रकाशित हटलाइन दैनिक पत्रिकामा समाचारदाताको रुपमा काम गरे । नेपाल आदिवासी जनजाति पत्रकार संघ बागलुङको तर्दथ समितिको संस्थापक सचिवमा छनोट भए । हाल नेपाल आदिवासी जनजाति पत्रकार महासंघ बागलुङ (२०७४।०७५) को सल्लाहकार तथा केन्द्रिय प्रतिनिधीको हैसियतमा हाल कार्यरत रहेको छु । नेपाल सरकारको न्युज एजेन्सी राष्ट्रिय समाचार समिति धौलागिरी अञ्चल कार्यालय बागलुङ कार्यालयको अञ्चल संयोजक भै करिब एक वर्ष कामकाज गर्ने वि.स. २०६५ सालमा अवसर प्राप्त भयो । त्यसै समयमा प्रजातान्त्रिक राष्टिय युवा संघ (हालको युवा संघ नेपाल) बागलुङको जिल्ला सम्मेलनको सन्दर्भमा खरवाङ, बडीगाडमा क्रियाशिल युवा पत्रकारको रुपमा सम्मान गरेको थियो । प्रेस चौतारी नेपालको जिल्ला सदस्य, जिल्ला उपाध्यक्ष, अध्यक्ष, केन्द्रिय सदस्यहुँदै बागलुङको प्रेस चौतारीको संस्थागत विकासमा भुमिका रहयो । हाल प्रेस चौतारी बागलुङको सल्लाहकारको रुपमा आवद्ध भएको छु । नेपाल पत्रकार महासंघ बागलुङको दुई कार्यकाल केन्द्रिय पार्षदको रुपमा प्रतिनिधित्व गर्दै हाल साधारण सदस्यको रुपमा आवद्ध रहेको छु ।

राजनीति क्षेत्रमा प्रयास
राजनीति आन्दोलनमा विद्यार्थी रहँदा अनेरास्ववियुको क्षेत्रिय कमिटि १ को सदस्यहुँदै अखिलको जिल्ला सदस्य र उपाध्यक्षसम्म हुन सफल भए । धवलागिरी बहुमुखी क्याम्पस बागलुङको स्वतन्त्र विद्यार्थी यूनियन २०५७ को अवधीमा सचिव पदमा अत्यधिक मतका साथ निर्वाचित हुन सफल भए । स्वतन्त्र विद्यार्थी यूनियनको मुखपत्र धवलागिरी सन्देशको मुखपत्र प्रकाशन गर्ने काम भयो । नेकपा एमालेको इलाका न. १ को सचिव भई काम गर्दा र युवा संघ नेपाल जिल्ला समिति बागलुङको जिल्ला उपाध्यक्ष भै काम गर्दा गर्दै मेरो जिवनले निजामति सेवामा प्रवेश गर्ने मोड लियो । राजनीति संस्कारमा संस्थागत विकास हुन नसकेको र आर्थिक पुर्वाधार स्तम्भ दरिलो नभएका कारण स्थायी रुपमा लागि पर्न नसकेपनि राजनीतिक ज्ञान, नेतृत्वमा सहभागी हुनुपर्ने यदि सहभागी नभएमा समाजका उत्पीडित, उपेक्षितले चेतना हासिल गर्न नसक्ने पक्का भएको कुरा अनुभव गरे । राजनीतिमा बोल्ने विषयबस्तु आर्दश, मिठा र माहोल बनाउन सकिने तर आन्तरिक रुपमा घात–अन्र्तघातका खेल नराम्रोसँग हुने स्वार्थ केन्द्रित भएको अनुभव प्राप्त भयो । विश्वका राजनीतिशास्त्री मेकियावेलीको विचार र आर्दशले बढी मात्रामा ग्रसित भएको अनुभुति गरे । लोकतन्त्रका सकारात्मक पक्ष भन्दा नकारात्मक तथा दुर्बल पक्षको प्रयोगले नीति र अर्थमा परनिर्भरताको अभ्यास भएको अवस्था छ ।

मगर विद्यार्थी आन्दोलनमा महासचिव
नेपाल मगर विद्यार्थी संघको प्रथम महाधिवेशन वि.स.२०५१ मा पोखरामा प्रतिनिधीको रुपमा सहभागी भए । मगर विद्यार्थी संघको ज्ञान, महत्व स्व. गोरे बहादुर खपांगीको भाषणबाट धेरै प्रभावित भए । धवलागिरी बहुमुखी क्याम्पसमा अध्ययन गर्ने समयमा मगर विद्यार्थी संघको बनभोज कार्यक्रममा सहभागीताहुँदै गर्दा क्याम्पस इकाईको अधिवेशनमा सचिवमा निर्वाचित भए । वि.स. २०५६ मा अध्यक्षहुँदै नेपाल मगर विद्यार्थी संघको काठमाडौ (वि.स. २०५८) मा महासचिव पदमा निर्वाचित भए । काठमाडौ बसाइको व्यवस्थापन गर्न नसक्दा र आर्थिक अवस्था न्युन भएका कारणले मगर समाजको आन्दोलनलाई निरन्तर रुपमा टेवा दिन नसकेको अवस्था छ । हाल आफुसँग समकक्षी भै कामकाज गरेका र आफुले संगठित गरेका साथीहरु राजनीतिक रुपमा सांसद, स्थानीय तहका प्रमुख, उप–प्रमुख तथा पत्रकारितामा नेतृत्वदायी पदमा भएको देख्दा खुशी लाग्दछ । आफुले संगठित गरेका साथीहरुको प्रगती पथले फुर्सदमा आत्मसम्मान मिल्दो रहेछ । नयाँ पिढीले इतिहासको योगदानलाई बिर्सदै जाने भएकाले पुनजागरणका लागि अन्तरसम्बन्धित हुन जरुरी भएको छ । मुखपत्र प्रकाशन, स्मारिका प्रकाशन भएमा मात्र इतिहासका घटनाक्रमलाई जिवन्त राख्न सकिन्छ । हामीले नेपाल मगर विद्यार्थी संघ धवलागिरी बहुमुखी क्याम्पस बागलुङमा सचिवमा कार्यरत रहदा पहिलोपटक रिङहिङ (जागौ) मुखपत्र क्याम्पस तहमा नै पहिलोपटक प्रकाशित गरेका थियौ । त्यसपछि मात्र स्वतन्त्र विद्यार्थी यूनियनले धवलागिरी सन्देश, प्राध्यापक संघले प्राज्ञ सारथी त्यसपछिका वर्षहरुमा प्रकाशन भएका थिए । धवलागिरी बहुमुखी क्याम्पस बागलुङको इतिहासमा मगर विद्यार्थी इकाई समितिले सबभन्दा पहिला प्रकाशन गरेको सुनौलो इतिहास आम जनसमुदायहरुले कम मात्रामा जानकारी पाएको हुन सक्दछ ।

निजामति सेवामा प्रवेश
वृत्ति विकासका आरोह–अवरोहको भोगाइमा जेलिदै जाँदा घरपरिवारमा स्थायी जागिर खानु पर्ने, व्यवसायिक अफसलताका कारण वि.स.२०६६ साल माघ २० गते खरिदार पदमा जिल्ला विकास समिति बागलुङ अन्तर्गत दमेक गाउँ विकास समितिमा गाउँ विकास समितिको सचिव तथा अध्यक्षको रुपमा काम गर्ने अवसर मिल्यो । छोटो समयमा नै लोक सेवा आयोगबाट नायव सुब्बा सरह लेखापाल पदमा जिल्ला शिक्षा कार्यालय म्याग्दीमा बढुवा भएको अवस्था थियो । म्याग्दीमा ३० महिना काम गरेपछि कोष तथा लेखा नियन्त्रक कार्यालय बागलुङमा ३० महिनापछि जिल्ला विकास समिति बागलुङहुदैैं नेपाल संघिय संरचनामा प्रवेशपछि तमानखोला गाउँपालिका बागलुङमा आर्थिक प्रशासन शाखाको प्रमुखमा कामकाज गर्दैै गर्दा धौलागिरी अञ्चल अस्पतालमा लेखा अधिकृत भै कामकाज गर्ने आजको दिनचर्यासम्म आईपुगेको अवस्था छ । निजामति सेवामा राजपत्राकित श्रेणीको उपल्लो तह र पदमा कामकाज गर्ने प्रयास असफल रुपमा जारी नै राखे । लोक सेवा आयोगको परिक्षामा कसरी पास हुन सकिन्छ र अध्ययनशिल वातावरण निर्माणमा युवा विद्यार्थीहरुको लागि विद्यालयहरुमा गै अनुशिक्षण तथा सहजीकरण गर्ने काम गरेको अवस्था छ ।

संघ सस्थामा आवद्धता
नेपाल रेडक्रस सोसाइटी उपशाखा भकुण्डेको आजीवन सदस्यता भै आवद्धता रहयो । विगतमा ताल बराह युवा क्लब बागलुङको छोटो समयमा नेतृत्व गरेपनि सफलताको लागि अगाडी बढ्न सकेन । विद्या मन्दिर पुस्तकालय बागलुङको आजिवन सदस्य रहेको र पुस्तकालयबाट नियमित पाठकको रुपमा वि.स.२०६६ मा सम्मान भएको अवस्था छ ।

विगतलाई फर्केर हेर्दा
जिवनका भोगाइलाई आत्मवृतान्तमा खुलेर लेख्न चलन खुब आएको अवस्था छ । बुढेसकालमा लेख्दा आधुनिक प्रविधिको विकासले नपत्याउने खालका दन्ते कथाहरु बन्दा रहेछन् । विगतका भोगाइलाई आम रुपमा नियाल्दा आफैलाई इतिहास जस्तो लाग्न थाल्यो । छोराछोरीलाई सुनाउदा नपत्याउने भएका छन्भने भविष्यमा झन् फरकपन आउने ढुक्क हुन सकिन्छ । विगतका दुख कष्ट, पिडा, संघर्षका दिनहरुको बेलिविस्तार लगाउने होभने छुट्टै किताब हुन सक्दछ । बाजे बराजु, बाबाआमाका संघर्षका अपरिचित पात्रका दिनचर्यालाई प्रेरणा र उत्प्रेरणाको रुपमा भावि सन्ततीका लागि शिक्षाप्रद र चेतनामुलक सामाग्री पनि हुन सक्दछ । विदेशी संस्कृति, चाल चलनको बढ्दो प्रभावले लोक संस्कृतिलाई लिपीवद्ध गर्ने र विगतको सुख दुखलाई उजागर गर्ने संस्कारको विकास गर्दा आफनै इतिहास बन्दो रहेछ । फेरी मानिसको चलन दुख नदेखाउने सुखलाई बढाइ चढाई गर्ने विगतमा गर्ने चलन छ । दुःख र पिडालाई चेतना र प्रेरणाको श्रोत बन्न सक्दछ ।