विद्यामन्दिर पुस्तकालयको अध्यक्षमा शर्मा

बागलुङ, २९ असार – बिद्यामन्दिर पुस्तकालयको ३५ औं अधिवेसनले रामप्रसाद शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति निर्विरोध चयन गरेको छ । शनिवार भएको ७२ औं बार्षिक साधारणसभा तथा ३५ औं अधिवेसनले शर्माको नेतृत्वमा समिति बनाएको हो । समितिको उपाध्यक्षमा राम थापा अविरल, सचिवमा रामचन्द्र शर्मा र कोषाध्यक्षमा कोपिला कंडेल चयन भएका छन् । काजी गाउँले श्रेष्ठको अध्यक्षतामा गठित निर्वाचन समितिमा शर्माको एक मात्र नाम मनोनयन भएको समितिका सचिव इश्वरप्रसाद मलेपतिले बताए । निर्वाचित भएपछि शनिवारै अध्यक्ष शर्माले सदस्य पनि मनोनयन गरेका छन् । समितिको सदस्यमा निवर्तमान अध्यक्ष राजेशचन्द्र राजभण्डारी, पुस्तकालयाध्यक्ष मञ्जु केसी, पूर्व अध्यक्ष महेशचन्द्र प्रधान, गोबिन्द ओझा, काजी गाउँले श्रेष्ठ, कृष्ण गोबिन्द राजभण्डारी, काजी रोशन, युक्त प्रसाद सुवेदी, युगेन्द्र श्रेष्ठ, दुर्बलकाजी राजभण्डारी र सुधिर श्रेष्ठ चयन भएका हुन् । शनिवार भएको अधिवेसनको उद्घाटन गर्दै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले शिक्षाको ज्योती फैलाउने अभियानमा संस्थापकले खेलेको भूमिकाको प्रसंसा गरे ।

उनले नगरपालिका र नागरिक तहबाट सहयोग जुटाएर पुस्तकालयलाई नमूना बनाउने अभियानमा साथ दिने प्रतिवद्धता पनि जनाए । पुस्तकालयका अध्यक्ष राजेशचन्द्र राजभण्डारीको अध्यक्षता, सचिव राम थापा अविरलको संचालन र उपाध्यक्ष रामप्रसाद शर्माको स्वागतमा सम्पन्न कार्यक्रममा सचिव थापाले प्रगती प्रतिवेदन प्रस्तुत गरेका थिए । साथै कोषाध्यक्ष रामचन्द्र शर्माले बर्तमान समितिको १८ लाख ८३ हजार ४ सय ६५ रुपैयाँको आयव्याय प्रस्तुत गरेका थिए । साथै आगामी बर्ष कम्तिमा २४ लाख ७१ हजार रुपैयाँको कारोवार हुने अनुमानित बजेट पनि प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थापक संरक्षक ओमकारप्रसाद गौचन, सल्लाहकार पद्मनाथ शर्मा, पूर्व अध्यक्ष मुकेशचन्द्र राजभण्डारी, बागलुङ उद्योग बाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष शैलेन्द्रकुमार श्रेष्ठ, पत्रकार कोपिला कंडेल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । दुइ दुइ बर्षको कार्यकालको दोश्रो पटक अध्यक्ष भएका राजेशचन्द्र राजभण्डारीले आफ्नो कार्यकालमा एक व्यक्ति एक हजार अभियान चलाएर १० लाख रुपैयाँको अक्षयकोष स्थापना गर्न सफल भएका थिए ।

साथै पुस्तकालयबाटै बाल कक्षा संचालन, बिद्युतीय पुस्तकालय, नियमित पत्रपत्रिका पढ्ने व्यवस्था र नियमित पुस्तकालय खोलेर साहित्य गोष्ठी तथा विभिन्न सिर्जनात्मक कार्यक्रम गर्दै आएका थिए । निर्वाचित भएका अध्यक्ष शर्माले पनि राजभण्डारीको पालाका सबै क्रियाकलापलाई निरन्तरता दिंदै थप रचनात्मक काम थाल्ने प्रतिवद्धता जनाए । रत्नश्रेष्ठ पुरस्कार गुठीले स्थापना गरेको कोषबाट नियमित पाठक राजिब ओझालाई सम्मान र पुरस्कृत गरिएको थियो । आफ्नो कार्यकालमा सहयोग गर्नेलाई राजभण्डारीले सम्मान पनि गरेका थिए ।