विपत्ति र प्रकृतिको दोहन

मनसुनमा निर्भर हो हाम्रो देश । किसानहरु खुसी छन्। किनकि पानी परेको छ । पानीसँग उनीहरुको जीवन जोडिएको छ । मानो रोपेर मुरी उब्जाउने बेला पानी नै भएन भने गर्ने के ? किसानहरु पानी चाहन्छन् र पानी परोस् भन्ने कामनासहित जलदेवताको पूजा गर्छन् । जलदेवता अझै खुसी भएका छैनन्, कयौँ ठाँउमा पानी नपरेर किसान चिन्तित छन् । उनीहरु जलदेवता पुकार्दैछन् । खेतिमा आधुनिक प्रणाली भित्रिएको छ । बिऊ कतिबेला ब्याडमा राख्ने र कतिबेला त्यसलाई रोप्ने भन्ने तालिकाले उब्जनीमा अर्थ राख्छ । अहिले ब्याडमा बिऊ छ, तर पानी नपरेर किसानहरु ब्याडको बिउ कहिले रोपौँ भनेर बसेका छन् । राष्ट्रिय तथ्याङ्कले पनि देशका अधिकांश भागमा रोपाईँ नभएको तथ्य प्रस्तुत गरेको छ ।

पानी परोस्,किसान खुसी हुन् अनि खेतका गह्राहरुमा भ्यागुता कराउन् । यो किसानको कामना हो । मलको अप्राप्तिप्रति भन्दा पनि पानीको अप्राप्ति डरलाग्दो हुन्छ । गैरीखेतमा मात्रै रोपाईँ गरेर किसानको मन खुसी हुँदैन । जुनबेला टारी खेतमा मन्सरा धान रोप्न पाइन्छ, त्यो दिनमा बल्ल किसान मज्जाले निदाउँछ । यो वास्तविकता हो । सहरमा बसेकालाई गाउँको कृुरा थाहा हुँदैन । सहरले गाउँको उत्पादन उपभोग त गर्छ तर उसको कर्मप्रति ध्यान दिँदैन । सहर खासमा, उपभोक्ता मात्रै हो र ऊ दोहनमा ध्यान दिन्छ र त्यही रुचाउँछ । कुरा दोहन कै हो , कहीँ किसान पानी नपरेर, मुल नफुटेर हैरान छन् । अर्कोतिर पानीको बबण्डर पनि कम्ताको छैन । राजधानी काठमाण्डौें नै जलमग्नहुँदै जनधनको क्षतिको प्रत्यक्षदर्शी बन्नपुग्यो । मधेशमा पनि बाढीले धेरैको बिल्लीबाठ बनाएको छ । पानी परेपछि मधेश त्रसित हुन्छ । होँचो जमिनमा पानीले दिनु दुःख दिन्छ । घर ढुवाउँछ र मानिसलाई रुवाउँछ । यो नियतिबाट अभिषप्त हामी समस्याबाट मुक्ति खोज्ने जमर्को बेलैमा गर्दैनौँ । जब बर्खा लाग्छ, तब मात्र बाढीको विषयमा चर्चा हुन्छ । ढुवान समस्याबारे वर्षको एकपटक मात्र कुरा हुन्छ ।

हिँउदमै यो विषयबारे चर्चा गर्न कोही चाहँदैन । राज्य मौन बस्छ र बर्खामा नागरिकको दुःखमा मल्हम लगाएको नाटक गर्छ । अर्कोतर्फ, राजधानी लगायतका सहरहरु अहिले असुरक्षित हुन थालेका छन् । क्रंक्रिटको जंगल बनेको सहरमा पानी सोस्ने ठाउँ नै बाँकी छैन । नदी र खोलाहरु अतिक्रमित भएका छन् । पानीले आफ्नो बाटो आफै बनाउँछ ।पानीलाई बग्ने ठाउँ नै नदिएपछि के हुन्छ ? राजधानीले देखाएको छ ।जमिनले पानी नै नसोसेपछि के हुँदो रहेछ ? त्यो पनि राजधानीले नै प्रष्ट पारेको छ ।प्राकृतिक श्रोतको दोहन गर्दा पर्यावरणीय पक्षलाई ख्याल नगर्दा आएको अवस्था हो यो । हामीले नदीलाई टेरेनौँ,खोलालाई नटेरेर अतिक्रमण ग¥यौँँ । र,मानवीय र भौतिक क्षति पाइयो । यो तीतो सत्यलाई अब पनि नबुझ्ने हो भने भावी पुस्ताले अझ चर्को मूल्य चुकाउनुपर्छ । प्रकृतिको दोहनले निम्त्याएको विपत्ति प्रकृतिको पूजा र संरक्षणले मात्रै सम्भव हुन्छ भन्नेबारे राज्यले पनि ध्यान दिनुपर्छ ।