वर्षा याम लागे संगै मध्यपहाडीमा दर्जनौ पहिरो

बागलुङ, २९ असार – बर्षात लागेपछि मध्य पहाडी लोकमार्गको अधिकांस खण्डमा पहिरोले क्षत बिक्षत बनाएको छ । सदरमुकाम देखि घोडाबाँधे सम्मको २५ किमी खण्ड स्तरउन्नती नभएर यात्रीले सास्ती खेपेका छन् । उक्त खण्डमा हिलाम्मे छ भने अन्य कालोपत्रे गरिएको खण्डको दर्जनौं स्थानमा खसेका पहिरोले सडकमा दुर्घटनाको जोखिम बढेको छ । अहिले दुदिलाभाटीको झाँक्रीस्थान, काफलठुटा, मल्मको आँगखेत र छिस, रिघा फेदीका बिभिन्न स्थान, ग्वालीचौर, भीमगिठे लगायतका स्थानमा दर्जनबढी पहिरो खसेका हुन् । तुरतुरे तालको क्षेत्रमा यो क्रम अझै बढी छ । तुरतुरे ताल देखि ३० मीटर दक्षिणमा बडिगाड खोलाले खोल्दा पक्की सडक भासिएको छ । उक्त स्थानमा एकतर्फी रुपमा सवारी गुडेका छन् । निरन्तर बर्षातका कारण खोला बढेर अझै भत्कने खतरा भएको स्थानीयले बताए । उक्त स्थानमा सडक भत्कीयो भने ट्रयाक खोल्ने स्थान समेत छैन । यो सडक अवरुद्ध भएमा ढोरपाटन नगरपालिका, तमानखोला र निसीखोला गाउँपालिकाको सम्पर्क बिच्छेद हुन्छ ।
दर्जनबढी स्थानमा पहिरो खसेको र केही स्थानमा एकतर्फी सवारी मात्र चल्दा पनि मध्यपहाडी लोकमार्गका प्राविधिक र कर्मचारी देख्न नपाएको बडिगाड गाउँपालिकाका अध्यक्ष मेहरसिंह पाईजाले बताए । स्थानीय रुपमा खनिएका सडकले ढुंगा माटो बग्दा पटक पटक मध्यपहाडी लोकमार्ग अवरुद्ध हुने गरेको छ । त्यसका लागि पनि गाउँपालिकाले आफ्नै साधन र श्रोतबाट सडक मर्मत गरेर यातायात खुलाएको समेत उनले बताए ।

बागलुङ तर्फको ठेक्का लिएका कंपनीहरु तीन पटक सम्म फेरिंदा अक्षेते र बिहुँ खण्ड जीर्ण भएको हो । गत जेठमै कालोपत्रे गर्ने प्रतिवद्धता जनाएको निर्माण कंपनी पनि अहिले सम्पर्क भन्दा बाहिर छ । यो खण्डमा पर्ने घर जग्गाको मुआब्जा नदिंदा सार्नुपर्ने घर, बिद्युतका पोल र खानेपानीको पाइपलाईन समेत अलपत्र छन् । कंपनीका अनुसार यहाँ भत्काउनुपर्ने १५ वटा घर नसारेकोले पहिलो समस्या आएको निर्माण कंपनीले दावी गरेको छ । ‘बजेट दिएर पनि खानेपानीको पाईप नसारेपछि काममा अवरोध भएको हो’ सिद्धि शाही प्रकाश निर्माण कन्स्ट्रक्सनका साईट ईन्जियिर पुष्प शाहीले भने, ‘आयोजनाले मुआब्जा अझै दिएको छैन, हामीले काम गर्ने समय सकिन लागिसक्यो ।’ खानेपानीको पाईप र बिजुलीका पोल सार्न रकम दिएपनि सरकारी संस्थाले वेवास्ता गरेको उनले बताए ।

यो खण्डमा बागलुङ नगरखानेपानी आयोजनाको पाईपलाईन छ । ठाउँठाउँमा काम छाडेर कालोपत्रे गर्दा दोब्बर खर्च लाग्ने भएकोले सिंगो खण्ड अलपत्र परेको उनले बताए । सदरमुकाम देखि मुलपानी, खहरे, अक्षेते र बिहुँ खण्डमा सडक छेउका रुख र चौतारो भत्काउन नपाएर समेत काम रोकिएको हो । यो खण्डको रात्माटा देखि खहरे सम्म बिच्छाएको खानेपानीको पाईप सार्न कंपनीले नगर खानेपानी तथा सरसफाई उपभोक्ता समितिलाई ३३ लाख रुपैयाँ भुक्तानी दिएको थियो । आयोजनाले भने काम अपुरो छाडिदिएकोले काम रोकिएको उनले बताए । ‘सरकारी सुपरभाईजरको दैनिक भत्ता ६ सय ४० भएकोमा समितिले २ हजार ५ सय खाएको लगायतको बील देखाएर रकम सकिएको भन्नु भयो’ शाहीले भने, ‘डोजर लगाउनै पर्ने केही भागमा पाईप नसार्दा काम रोकियो ।’ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका प्रवन्धक हिमाल प्रसाद शर्माले भने भुक्तानी भएको काम गरेको दावी गरे । ‘हामीले पाएको पैसाको काम सक्यौं, अरु पैसा आउन बाँकी छ’ शर्माले भने, ‘ठूलो आयोजनाको पाईपलाईन सार्न करोडौं खर्च लाग्छ ।’ सानो रकमले भ्याएजति काम गरेको उनको दावी छ । यो खण्डमा मुआब्जा बितरण पनि भएको छैन ।