सुनसान बन्दै बागलुङका होमस्टे

बागलुङ ,३० असार – बर्षा सुरु भएसँगै बागलुङका ग्रामिण क्षेत्रमा संचालित घरबास ‘होमस्टे’मा आउने पर्यटकको संख्या कम हुन थालेको छ । प्राकृतिक एवं धार्मिक सम्पदाहरुलाई लक्षित गरेर सञ्चालनमा ल्याईएको होमस्टेमा पर्यटकको संख्या घटेको हो । सडकको असुबिधा र बर्षाका कारण होमस्टेमा आउने पर्यटकको संख्या कम हुँदै गएको गल्कोट नगरपालिका–१० पाण्डवखानीमा सञ्चालनमा रहेको सिद्धथान सामुदायीक होमस्टे सञ्चालक खिमबहादुर पुनले बताए । ‘हिउँदमा घुम्न आउनेहरुको सहजताका लागि सञ्चालनमा ल्याएको होमस्टे अहिले सुनसान छ’ पुनले भने ‘आउँछौ भनेर फोन गर्छन तर फोन गरेकैहरु आएका छैनन् ।’ पर्यटकिय गाउँको परिचय बनाएको बागलुङ नगरपालिका–१० भकुण्डेको अतीथि सत्कार सामुदायीक होमस्टेमा पनि पर्यटक आएका छैनन् । सिजनमा आन्तरिक पर्यटकको रोजाईमा पर्ने गरेको होमस्टे बर्षा सुरु भएसँगै सुनसान बनेको छ । ‘सिजनमा दिनमै दश÷पन्ध्र जना कहिल्यै टुटेन’ अतीथि सत्कार सामुदायीक होमस्टेका अध्यक्ष खिमबहादुर थापाले भने ‘अहिले घर सुनसान छन्, हामप् खेतबारीमा व्यस्त ।’

प्रायः बागलुङका होमस्टेमा आउने आन्तरीक पर्यटक हुन् । बर्षाको सिजनमा घुम्न आउनेहरु पनि काममा व्यस्त हुने भएकाले होमस्टे सुनसान बनेको थापाले सुनाए । ‘सहज रुपमा गाडी चल्दैनन्, बाटो सबै हिलाम्मे छन्’ थापाले भने ‘घुम्न आउने किन रुज्दै भिज्दै आउँथे र ।’ बागलुङमा २८ वटा सामुदायीक होमस्टे दर्ता भएर सञ्चालनमा रहेका छन् । सबै होमस्टेमा पर्यटकको संख्या कम हुँदै गएको हो । ‘केही महिना पहिला सञ्चालनमा आएका हाम्रो वडाका होमस्टेमा केही दिन मात्रै पर्यटक देखिए’ काठेखोला गाउँपालिका–७ रेशका वडा अध्यक्ष प्रेम बहादुर जिसीले भने ‘अहिले कोही आएजस्तो लागेको छैन् ।’

सामुहीक रुपमा सञ्चालनमा आएका होमस्टेहरुमा स्थानीयले दशदेखि ३० लाखसम्म लगानी गरेका छन् । सिजनमा मात्रै चल्ने र बर्षामा बिनाकाम बस्नु पर्दा लागानीको प्रतिफल उठाउन कठिन हुने उनीहरु बताउँछन् । ‘७ परिवारले ३ लाखभन्दा धेरै खर्चेका छौं, जम्मा लगानी २० लाख पुग्यो’ सिद्धनाथ सामुदायीक होमस्टेका सञ्चालक पुनले भने ‘सिजनको व्यापारले मात्रै लगानी उठाउनै कठिन छ ।’गल्कोटमा रहेको घुम्टेको लेक, पाण्डवखानीमा रहेका खानीहरु तथा मठ मन्दिरको दर्शनका लागि आउने पर्यटकको सुबिधाका लागि उनीहरुको घरबास सञ्चालनमा आएको पुनले दाबी गर्छन् । पर्यटक नभएका कारण होमस्टेमा देखाउन तयारी भैरहेका सांकृतिक समुहले काम पाएका छैनन् । स्थानीय खानाका परिकारका लागि तयार पारिएका गुन्द्रुक, सिस्नो, कोदोको पिठो लगायतका सामग्री समेत बिग्रिन थालेको सञ्चालकहरुको गुनासो छ ।