लागूपदार्थविरुद्व लाग्छौः भट्ट

बागलुङ, ३१ असार – हालै सरुवा भएर आएका प्रहरी उपरिक्षक नवराज भट्टले लागू पदार्थ दुव्र्यसनलाई पहिलो प्रहार गर्ने बताएका छन् । आइतबार जिल्लामा सरुवा भएर आइपुगेका भट्टले सोमबारको पत्रकार सम्मेलनमा नियमित गर्ने काम बाहेक युवालाई दुव्र्यसनबाट जोगाउने अभियानलाई निरन्तरता दिने बताएका हुन् । यस अघि यो अभियान शुरु भैसकेको छ । उक्त अभियानलाई निरन्तरता दिएर जानका लागि सामाजिक अगुवाको पनि साथ चाहिने उनले बताए । लागू पदार्थ बिरुद्धको अभियान संचालन भएको भनेपनि अहिलेसम्म जिल्लाको वास्तविक तथ्यांक नभएकोले काम गर्न कठिन हुने उनले बताए । तथ्यांकको आधारमा काम गर्ने भन्दै उनले बजेट पाउन सकेमा पिशाबबाट युवाहरु दुव्र्यसनमा फसे नफसेको पत्ता लगाने प्रकृया थाल्न सकिने समेत उनले बताए । यस अघिका प्रहरी प्रमुखहरुले विभिन्न नारा दिएकोमा उनले नारा दिन नचाहेको बताए ।

‘मैले नारा दिने भन्दा केही सुधार गरेर देखाउने भन्नेमा छु’ उनले भने, ‘मेरो कार्यकालमा व्यवस्थापकीय सुधार देखि शान्ति सुरक्षामा परिवर्तन भएको देख्नुहुनेछ ।’ गण्डकी प्रदेश प्रहरी कार्यालयको प्रवक्ता भएर आएका भट्टले सूचना प्रविधिलाई चुस्त बनाएर समयमा संचार माध्यम सम्म पुग्ने काममा सुधार ल्याउने पनि उनले बताए । उनले अपराध नियन्त्रणमा नागरिकको साथ र सहयोग चाहिएको पनि बताए । ‘हरेक घटनामा प्रहरी पुग्ने होइन, सही सूचनामा नागरिकले साथ दिने हो’ उनले भने, ‘प्रहरीले घटनाको तत्काल छानविन र अनुसन्धान गर्ने काममा भने कमी गर्दैन ।’ उनले प्रहरीको आन्तरिक सुशासन देखि नागरिकका काम आएकै दिन सकिदिने व्यवस्था थालेको बताए । महिलाको संवेदनशिलता सँग जोडिएर आउने मुद्दामा प्रहरी सक्रियता पूर्वक लाग्ने बताए । ‘कतिपय मुद्दा दर्ता भएपछि फिर्ता भएको देखिएका छन्’ उनले भने, ‘प्रहरीले पूर्वाग्रही भएर कसैको मुद्दा नहेर्ने अभियान छ ।’ मुद्दावाला फिर्ता भएमा भने कही गर्न नसकिने उनले बताए ।

मानवअधिकारको रक्षाका लागि पनि प्रहरीको सक्रियता रहने उनले बताए । यसअघि पक्राउ परेको व्यक्तिलाई कुटपिट गर्ने चलन प्रहरीमा हटिसकेको उनले बताए । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष दिल शिरिषले जिल्लाको भौगोलिक अवस्थाको जानकारी दिंदै लागू पदार्थ, बालबिबाह लगायतका चुनौती बारे भट्टराई जानकारी गराएका थिए । भट्टले शान्ति सुरक्षा चुस्त बनाउन अभै केही चौकी थप्नुपर्ने देखिएपनि जनशक्ति अभावमा तत्काल नसकिने बताएका थिए । भएका चौकी व्यवस्थापन गरेर अपराध नियन्त्रणमा लाग्ने पनि उनले बताए ।