नगदेबालीबाट लाभ

बागलुङको जैमिनी नगरपालिकाले ४ वटा वडालाई अलैँची व्लक घोषणा गरेको छ । अलैँची उत्पादन हुँदै आएका दमके र सम्भावना भएका पैयुँथन्थाप तथा राङखानीमा अलैँची बिस्तार गर्ने गाउँपालिकाको योजना छ । नेपाल सरकारको नीतिमा टेकेर अलैँची क्षेत्र घोषणा गर्न ५ सय हेक्टर जमिन चाहिन्छ । ५ सय हेक्ट जमिन पु¥याउन गाउँपालिकाले अन्य ठाउँमा पनि खेती बिस्तारको योजना बनाएको छ ।
अलैँची नगदे बाली हो । गाउँघरमा रहर र घरायसी प्रयोजनको लागि रोपिँदै आएको अलैँचीको व्यवसायिक खेती गर्ने जमर्को सह्रानीय मात्रै हैन, अनुकरणीय पनि छ । उचित हावापानी भएको क्षेत्रमा नगदे बाली लगाउँदा किसानको जीवनस्तर बढ्नुका साथै गाउँमा नगद भित्र्याउने अभियानमा पनि मद्धत पुग्छ । गाउँपालिकाहरुले अर्थहीन र बजेट सक्ने योजनाहरु कार्यान्वयनमा ल्याए भन्ने आलोचना भइरहेको बेला थालिएको यो अभियानको सफलता अरु गाउँपालिकाहरुको लागि प्रेरणा बन्न सक्छ ।

नेपालका पूर्वी जिल्लाहरुमा धानखेत मासेर अलैँची लगाउने लहर चल्यो । बजारमा अलैँचीको मूल्य पनि राम्रै थियो । २३ सय रुपैयाँ किलोग्राम मूल्यमा अलैँची बेच्दा किसानहरु खुसी थिए । अलैँचीको ठूलो बजार भारत नै थियो । भारतीयहरु इलामलगायतका जिल्लामा आएर बारीबाटै अलैँची खरिद गर्थे । तर, दिन सधैँ उस्तै रहेनन् । नेपालको अलैँची निर्यातमा अवरोध सिर्जना गरियो । गुणस्तर र विषादी प्रयोग भएको कारण देखाएर क्वारेण्टाइनमा अलैँची रोक्न थालियो । किसानले मूल्य पाउन छाडे । अलैँचीमा लगानी गरेका किसानहरुको बिल्लीबाँठ हुने अवस्था आयो । यो समस्याको निराकरण हुन सकेको छैन ।
समस्या अलैँचीमा मात्रै होइन, नेपालको कफी र चियादेखि अदुवासम्म पनि देखिएको छ । मित्रराष्ट्रको रुवैयाका कारण किसानहरुको सपना तुहिएका हामीसँग प्रसस्त उदाहरण छन् । ठूलो अलैँचीको बजार देखेजस्तै कफी र चियामा गरिएको लगानीमा पनि अवरोध आउँदा किसानहरु रोपेका कफीका बिरुवा काट्ने अवस्थामा पुगे । अलैँची रोपेको बारी बाँझो रह्यो । किसान ऋणमा जकडिए । पूर्वी नेपालको सिकोगर्दै लमजुङजस्ता पहाडी जिल्लामा आइपुगेको अलैँची र कफी खेती फस्टाउन सकेन ।

यो दुर्भाग्यपूर्ण अवस्थाको निराकरण गर्न सरकारले तत्परता देखाएन । तर, हरेक बादलमा चाँदीको घेरा हुन्छ । समस्याले नै सम्भावनाको बाटो देखाउँछ । अहिले अलैँची र कफीजस्ता नगदे बालीको नेपालमै पनि राम्रो बजार बिस्तार हुँदै गएको छ । नेपाली बजारमा विदेशबाट कफी र अलैँची आयाता भएको छ । आयातलाई बिस्थापनागर्दै कृषिमा आधुनिकता भित्र्याएर नेपालले लाभ लिनसक्ने प्रसस्त सम्भावना देखिएको छ । अहिले जैमिनीले त्यही सम्भावनाको खोजी थालेको हो । अब कृषिका हरेक क्षेत्रमा हामीले सम्भावना खोज्नु परेको छ । आत्मनिर्भर भएपछि बाहिरी बजार खोज्न सकिन्छ । नेपालको कफी र चिया युरोपेली मुलूक पनि पुगेको छ । अलैँचीमा पनि हामीले बजार खोज्न सक्छौँ । यसको लागि सरकारले पहलकदमी भने लिनुपर्छ । किसानलाई उत्पादनमा होमेपछि बजारको सुनिश्चिततामा ध्यान दिनुपर्छ । कृषिमा अनुदानदिँदै बजारीकरणमा सघाउनुपर्छ । सम्भावनाका नूतन बाटोहरु अबलम्बन गर्नुपर्छ । हुँदैन र छैन भन्ने शब्दाबलीलाई अब छाड्नुपर्छ । कृषिलाई व्यावसायिकरण गर्नैपर्छ । नगदेबालीबाट लाभ लिने मार्ग समात्नैपर्छ ।