अपराधको बढ्दो ग्रगाफ र समाज

कल्पना त रामराज्यकै गरिन्छ । रामराज्य अपराधमुक्त थियो भनिन्छ । तर,बाहिर शान्त भए पनि रामराज्य पनि भावनात्मक रुपले शान्त थिएन । त्यसैले त, एकजना सर्वसाधारणले रामकै गतिविधिमा प्रश्नचिन्ह लगाउँछ,सीताको चरित्रमा शंका गर्छ । त्यही शंकाले सीता परित्यक्त हुन्छिन् । नारावादी दृष्टिले रामबाट भएको सीता त्याग्ने घोषणाले रामलाई सर्वसाधारण व्यक्तिमा दर्ज गराउँछ ।
यो घटनासँग वर्तमान समयको साइनो छैन तर अपराधको बहुआयामिक पाटाहरु अध्ययनका लागि यो प्रतिनिधि विषय बन्न सक्छ । बन्नुपर्छ । कास्की प्रहरीले बितेका एक वर्षमा भएका अपराधहरुको फेहरिस्त प्रस्तुत गरेको छ । तथ्याङ्क केलाउँदा अपराधका शैलीहरु बदलिएका छन् । अपराधहरु बढेका छन् । कर्तव्य ज्यान मुद्धाका १७,ज्यान मार्ने उद्योग १४,जवर्जस्ती करणी ५७ सँगै लागूऔषध दुव्र्यसन, चोरी, बहुबिबाहलगायतका घटनाहरुले समाजमा अपराध बढ्दै गएको प्रुष्टी गर्छ ।
अपराध हिजो पनि हुन्थ्यो, सायद भविष्ष्यमा पनि निर्मूल नहोला । तर, समाजमा अपराधका शैलीहरु बदलिनुलाई भने गम्भीर रुपमा लिनैपर्छ । हिजो मान्छेलाई ईश्वरको डर थियो, समाजको डर थियो अनि कानूनप्रति बढी विश्वास थियो । तर,पछिल्लो समय हाम्रा सामाजिक संरचनाहरु बदलिएका छन् । मानिसहरु एकांकी बन्न पुगेका छन् । मै खाऊँ, मै लाऊँ भन्ने मान्यताले आफ्नो जरा झन बलियो बनाएको छ । सानो निहुँलाई लिएर जघन्य अपराध हुन थालेका छन् । बालबालिकाहरु अपराधमा बढी संलग्न हुन थालेका छन् । बहुबिबाह, सम्बन्ध बिच्छेद तथा लागूऔषकको दुव्र्यसनले समाजलाई गाँजेको छ । त्यतिमात्रै नभएर आत्महत्या बढ्दो छ । कानूनले डण्डित नगरेर हैन, हाम्रा मूल्य र मान्यताहरु बदलिएर यो अवस्था आएको हो ।
अपराधीलाई कानूनले डण्ड दिन्छ । डण्ड दिँदैमा मात्रै अपराध घट्ने होइन । आपराधिक मानशिकतामा कसरी बृद्धि भयो भन्ने महत्वपूर्ण कुरा हो । आपराधिक मानशिकता बढ्नुमा समाज दोषी छ, बदलिँदो सामाजिक संरचना दोषी छ । अहिले समाजमा एकअर्काप्रतिको निर्भरता घटेको छ । मानिस आफूले गरेको काम मात्रै राम्रो हो भन्ने मान्यतामा पुग्न थालेको छ । दैनिक १ हजारभन्दा बढी युवाहरु विदेशिँदा र रेमिट्यान्सले देशको अर्थतन्त्र धानिदा त्यसले नकारात्मक परिणाम पनि दिएको छ । पत्नी पतिबीचको आत्मियता हराएको छ । यो राम्रो संकेत हैन । हेर्दा अपराध र सम्बन्ध बिच्छेदसँग रेमिट्यान्स र बदलिँदो सामाजिक अवस्थाको कुनै साइनो नभएजस्तो लागे पनि अपराधको मनोबृत्तिलाई व्यक्ति बाँचेको परिवेषबाट अलग्याउन सकिँदैन । मिल्दैन । उदाहरणको लागि अहिले युवाहरुमा सामाजिक सञ्जालको प्रयोग,आफ्ना अन्तरंग सम्बन्धको भिडियो रेकर्ड र सम्बन्धमा दरार आउनासाथ त्यो सम्बन्ध छताछुल्ल हुने जुन प्रवृत्ति छ, त्यो डरलाग्दो मात्रै छैन, बदलिँदो मनोवृत्तिसँग पनि जोडिएको छ ।
समाज डण्डा चलाएर मात्रै सुध्रन्न । समाज सुधार्न सामाजिक मूल्य र मान्यताहरु पनि सुधार्नुपर्छ । कास्की प्रहरीले यी र यस्तै विषयलाई ध्यानदिँदै केही मनोसामाजिक गतिविधि संचालनको थालनी गरेको छ । वास्तवमा यो अभियान सकारात्मक छ । समस्याको जड के हो भन्ने बुझेपछि अपराध न्यूनिकरणमा सघाउँछ । प्रहरीले थालेको यो अभियानमा समाजको साथ चाहिएको छ । बदलिँदो समाजका विकृतिलाई रोक्न मनोसामाजिक परामर्श र परिवर्तिन समाजको गहिरो अध्ययन पनि आवश्यक देखिएको छ ।