थेगी नसक्नु ग्रामिण सडकको जोखिम

योजना बिनाका सडक

बागलुङ, ३ साउन – स्थानीय तहले सडक खन्ने क्रममा करोडौै लगानी गरेपनि संरक्षणका लागि संरचना बनाउन नसक्दा बिकासे योजनाहरुनै घातक बनेका छन् । ग्रामीण सडक खनिएको स्थानमा संरक्षणको तयारी नगर्दा घरहरु बगाउने, मुख्य सडक र राजमार्ग अवरुद्ध हुने क्रम बढेको हो । यो क्रम जिल्लाका सबै स्थानीय तहमा उत्तिकै समस्याको रुपमा देखिएका हुन् ।
बडिगाड गाउपालिकाको ग्वालीचौर देखि जलजला हुँदै रणसिंकिटेनी पुग्ने सडक, सदरमुकाम देखि रायडाँडा जाने सडक, सदरमुकाम देखि बरेङ तर्फ जाने सडक, जैमिनी नगरपालिका र ढोरपाटन नगरपालिकाले गाउँतहमा पुग्न हिउँदमा खनेका ट्रयाकले बर्षातमा बिपत निम्त्याउने गरेका छन् । गत बर्षपनि ढोरपाटन नरपालिकाको बुर्तिवाङ बजारमा खसेको पहिरोले दर्जनबढी घर पुरेको थियो । बिस्तृत सर्भेक्षण नगर्ने, तोकिएको मापदण्डका सडक नबनाई बढी ग्रेडको ट्रयाक खोल्ने र आवस्यक संरचना समेत नबनाउने प्रवृत्तीले सडकहरुनै दुर्घटनाको कारक बन्ने गरेको टिप्पणी समेत हुने गरेको छ ।
जथाभावी सडक खन्दा उपल्लो घुम्तीबाट खस्ने पहिरोले तल्ला घुम्तीहरु भत्काउँदै खेत, मुख्य सडक र घरबस्तीमा समेत क्षति पु¥याउने गरेका छन् । अधिकांस सडकमा नाली नकाटेको, रिटेनिङ पर्खाल नभएको र घुम्तीहरु साँघुरो हुँदा सडकमा जोखिम मोलेर यात्रा गर्नुपर्छ । ‘बर्षात लागेपछि दैनिक बाटो बनाउँदै जिप लैजाने हो, चिप्लो र भीरैभीर भएकोले जोखिम छ’ बडिगाड गाउँपालिका अध्यक्ष मेहरसिंह पाईजाले भने, ‘जिप चढेन भने पैदल यात्रा गर्नुपर्ने बाध्यता छ ।’

स्थानीय तह गठन पछिका दुइ बर्ष र त्यस अघिका हरेक बर्ष एउटै सडकमा लाखौं लगानी हुने गरेको छ । यो समस्या बागलुङ नगरपालिकामा पनि परेको छ । हरेक बर्ष गरिने लगानी पहिरोसँगै बगिरहेको छ । चालु बर्ष झण्डै २ करोड लगानीमा सदरमुकाम देखि वडा नं. ११ को रायडाँडा वडा कार्यालय र बस्ती जोड्नेगरी खनिएका सडकमा पहिरो खसेको वडा अध्यक्ष ज्ञानेन्द्र गौतमले बताए । ‘करोड खर्चेको सडकमा पहिरो खस्दा सवारी मात्र हैन, मानिस हिड्न नमिल्ने गरी खसेको छ’ गौतमले भने, ‘भूगोलको कठिनाईले बर्षेनी लगाएको बजेट खोलामै बगेको छ ।’ यहाँ पनि डिपिआर बनाउने र संरचनाहरु निर्माण भएपछि मात्र सडकमा लगानी गर्न अत्यावस्यक भैसकेको ईन्जिनियर त्रिलोचन गिरीले बताए । गुल्मी सिमानाको बरेङ गाउँपालिकामा बाढी पहिरो मात्र नभई गाउँपालिका कार्यालय पुग्न पनि कठिन छ ।
जैमिनी नगरपालिकाको कुश्मीसेरा देखि धुल्लुहुँदै जाने सडक र सिगाना, गाजा दह हुँदै जाने दुवै सडकमा सवारी गुड्न छाडिसकेका छन् । प्रमुख प्रशासकीय अधिकृत बैकुण्ड पौडेल गाउँपालिका पुग्न गलकोट देखि वराहकोटको बाटो हिड्न थालेका छन् । उक्त सडक समेत ठूलो बर्षात भएमा जोखिम छ । ‘निरन्तर बर्षा भयो भने गाउँपालिका केन्द्र देखि सदरमुकाम सम्म पैदल जानुको बिकल्प छैन’ पौडेलले भने, ‘केन्द्रीय योजना मार्फत व्यवस्थित सडक बनाउन नसकेसम्म सानो लगानी खोलामा बगेर जान थाल्यो ।’
गाउँपालिकाले बढीमा एक करोड रुपैयाँ सम्म खर्चेका ग्रामीण सडकबाट कालीगण्डकी नदी, दरमखोला, बडिगाड जस्ता ठूला खोलामा पहिरो खस्ने र बाढी आउने समस्या बढी छ ।
जिल्लाका सडक व्यवस्थित बनाउन निर्माण भएको यातायात गुरुयोजना पालना नहुँदा यस्ता बिपत निम्तने गरेको जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगानाले बताए । चार बर्ष अघि तत्कालिन जिविसमा गुरुयोजना बनेको थियो ।

सदरमुकाम रहेको बागलुङ नगरपालिकामा मात्र चालु बर्ष ५ सय योजना संचालनमा थिए । ती मध्ये आधाजसो सडकका थिए । जैमिनी, ढोरपाटन र गलकोट नगरपालिकाको योजना पनि यस्तै प्रकारका छन् । सबैले पूर्वाधार भित्रको बजेटलाई सडकमै खन्याएपनि संरक्षणका योजना नबनाएकोले अधिकांस सडक बर्षातमा सवारी चल्नै नसक्ने गरी बग्ने गरेका छन् ।
चारबर्ष अघि बनेको गुरुयोजना तयार हुँदा एक हजार दुइसय ६ किमी सडक संजालको ट्रयाक खुलिसकेको थियो । जिल्लामा बढीमा एक हजार चारसय ५१ किमी सडक आवस्यक देखिएको थियो । उक्त तथ्यांकमा कालीगण्डकी कोरिडोर र मध्यपहाडी लोकमार्गको तथ्यांक समावेश छैन । जिल्लाका एकसय १६ वटा ग्रामीण तथा कृषि सडकको संजाल बनिसकेको छ । सडकले नछोएका ग्रामीण र दुर्गम बस्तीमा मात्र सडक लैजाने गुरुयोजना थियो । ‘अहिले सम्म समन्वय बिना काम भएको हामीले पायौं, स्थानीय तहले आँफूखुसी लगानी गरेर सडकमा पैसा बगाएका छन्’ ढुंगानाले भने,
‘जथाभावी सडक खनेर जोखिम निम्त्याउने काम रोकिनुपर्छ ।’ जथाभावी सडक बनाउन रोक्ने संयन्त्र जिल्लामा नभएको उनको टिप्पणी छ । स्थानीय तहले सडक नपुगेका स्थानमा मात्र लगानी गरेको बताउँछन् ।