शिक्षित समाजको लागि पुस्तकालय

पुरानो इतिहास बोकेको विद्यामन्दिर पुस्तकालयलाई प्रदेशकै नमुना बनाउने उद्घोष

इतिहास बनाउन पनि गाह्रो छ, भएको इतिहास जोगाउन त झनै गाह्रो छ । अहिले नेपालमा सयौं पुस्तकालय संचालनमा छन् । महिनै पिच्छे पुस्तकालय खोल्ने नयाँ अभियान पनि चलिरहेको छ । तर, नेपालको सबैभन्दा पुरानो पुस्तकालयको इतिहास खोज्ने हो भने काठमाडौंबाहेक मोफसलमा आंैलामा गन्न सकिने पुस्तकालय मात्रै जिबित देखिन्छन् । तत्कालीन धौलागिरि अन्चलको सदरमुकाम बागलुङ जिल्लामा शिक्षाप्रेमी ओमप्रसाद गौचन र मेघ कुमार बैद्यले २००३ सालमा पुस्तकालय स्थापना गरे । सामुदायिक पुस्तकालय राणा शासनको समयमा स्थापना गर्नु नै सबैभन्दा ठूलो चुनौतीको काम थियो । पुस्तक, पत्रपत्रिका समेत जिल्लामा सहज रूपमा उपलब्ध हुन नसकेको बेला हाते पत्रिका आफै तयार गरेर पुस्तकालय संचालन गर्नु अर्को चुनौतीको काम थियो । पुस्तकालय खोल्ने ठूलो काम भन्दा पनि पुस्तकालय निरन्तर रूपमा चलाउनु थप चुनौतीको काम थियोे ।२००३ सालमा बिद्यामन्दिर माध्यमिक बिद्यालयकै मातहतमा संचालित पुस्तकालयलाई बिद्यालयबाट अलग गरेर समुदायले छुट्टै संचालन गर्ने निधो गरे । युवाहरूको त्यो समयको जोश जाँगरकै कारणले पनि पुस्तकालय नियमित रूपमा संचालन भयो । प्रत्येक बर्ष साधारणसभा गरेर हिसाब–किताब सार्वजनिक गर्ने परम्परा कमै संघ संस्थाको रहने गरेको छ । तर नेपालमा बिद्यामन्दिर पुस्तकालयले आफ्नो साधारणसभा गर्दै आएको छ । अहिलेसम्म ७२ औं साधारणसभा सफलतापुर्वक सम्पन्न गरिसकेको छ । पुस्तकालयलाई आधुनितासंग जोड्नु पर्छ, समय अनुसार सुबिधाजन्य भवन हुनुपर्छ भन्ने मान्यतालाई ध्यानमा राखेर रिड नेपालसंग सहकार्यमा बागलुङ नगरपालिका–३ भुपी चोकमा सुबिधा सम्पन्न ४ तले भवन बनेको छ । अहिले त्यहीँ भवनबाटै पुस्तकालयको सबै काम र गतिविधि हुँदै आएको छ । १७ हजारभन्दा बढी पुुस्तक भएको पुस्तकालय आफैंमा एउटा ‘खुला बिश्व बिद्यालय’ हो भन्ने जानेका बुझेका महानुभावहरू पुस्तकालयमा नियमित आउने र अध्ययन गर्ने गरेका छन् । यसै पुस्तकालयले अहिलेसम्म सयौं ब्यक्तिलाई नेपालकै उच्च शिक्षा पास गराउन मद्दत गरेको छ ।

पुस्तकालयले सामाजिक उत्तरदायित्व समेत बहन गर्नुपर्छ भनेर २०६५ सालदेखि बालबालिकालाई लक्षित गरेर सुबिधा सम्पन्न बालबिकास केन्द्र पनि संचालन गरेको छ । जुन बालबिकास केन्द्रमा २० जना बालबालिकाले पढ्ने, लेख्ने र खेलेर मनोरन्जन गर्ने अवसर समेत पाएका छन् । पुस्तकालयले बालबिकास केन्द्र संचालन गर्नुलाई धेरैले सकारात्मक काम भनेर प्रशंसा पनि गरेका छन् । अहिलेसम्म पुस्तकालयलाई आधुनिकरण गर्दै अगाडि बढीरहँदा ४ बर्षदेखि बिद्युतीय पुस्तकालय समेत संचालन गरिएको छ । अहिले १० वटा कम्प्युटरबाट ई–लाइब्रेरी संचालन भएपछि बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म सामुदायिक बिद्यालय र निजी बिद्यालयमा अध्ययन गर्ने बालबालिका आएर फाइदा लिइरहेका छन् । ई–लाइब्रेरी संचालन गर्न युरोपमा बस्दै आउनु भएका बागलुङ जिल्लाका सामाजिक ब्यक्तित्व सोम सापकोटाले पुस्तकालयप्रेमीसंग आर्थिक सहयोग संकलन गरेर एउटा अभियान संचालन गरिदिनु भएपछि नयाँ सुरूवात भएको हो ।साँच्चै पुस्तकालयमा ई–लाइब्रेरी संचालन भएपछि नयाँ उभार आएको छ । अहिले हातहातमा मोवाइल, इन्टरनेटदेखि सामाजिक संजालले सबै क्षेत्रमा प्रभाव पारेको बेला फेरि एकपटक पुस्तकालय भरिभराउ गराउन यसले ठूलो भुमिका खेलेको छ । हामीले प्रविधिसंग चल्न र खेल्न सिक्नुपर्ने रहेछ । हामीले इतिहास बोकेको पुस्तकालय छ भनेर मात्रै नहुने रहेछ, त्यो भएको इतिहासलाई जोगाउन पनि जान्नु पर्ने रहेछ । पुस्तकालय संचालन भएको पनि ७२ बर्ष बितिसक्यो । नेपालकै पुरानो सामुदायिक पुस्तकालयलाई समय अनुकूल चलाउन पुस्तकालयले १० लाखको अक्षयकोष स्थापना गरिसकेको छ । पुस्तकालय र बालबिकास केन्द्रमा गरि ४ जना कर्मचारीबाट पुस्तकालय नियमित रूपमा संचालन हुदै आएको छ ।

राणा र पंचायती शासनको समेत सामना गरेर पुस्तकालय यहाँसम्म आइपुगेको छ । पुस्तकालय यहाँसम्म आइपुग्नुमा पुस्तकालयका पुर्वअध्यक्ष, संरक्षक, आजीवन सदस्य र साधारण सदस्यदेखि स्तकालयलाई माया गर्ने महानुभाव सबैको भुमिका त्यती नै महत्वपूर्ण छ । स्थानीय तहको रूपमा रहेको बागलुङ नगरपालिका, तत्कालीन जिल्ला बिकास समिति, काठमाडौंमा बसोबास गर्ने पुस्तकालयप्रेमी कै मायाको कारणले पनि पुस्तकालय जिबित रहेको हो भन्दा अन्यथा हुँदैन । पछिल्लो समय पुस्तकालयले संचालन गरेको ‘एक ब्यक्ति एक हजार’ अभियानले नयाँ छलाङ मा¥यो । सामाजिक संजालको प्रयोग गरेर शुरूवात गरेको अभियानको शुभारम्भ गर्ने जिल्ला प्रशासन कार्यालय बागलुङका तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी छवि सुवेदी, काठमाडौको प्रत्यक्ष दृष्टि सहकारी संस्था लिमिटेडलाई धन्यवाद दिनैपर्छ । पुस्तकालय दिगो रुपमा संचालन हुनु सामाजिक संजालसंग जोडिएका सबै सहयोगी, पुस्तकालयप्रेमीहरू कै माया ममताको परिणाम हो भन्ने लाग्छ । बिद्यामन्दिर पुस्तकालयलाई हामीले यतिबेला गण्डकी प्रदेशकै नमुना पुस्तकालय बनाउने भनेर साधारणसभाले निर्णय समेत गरिसकेको छ । ‘समाजको लागि पुस्तकालय, पुस्तकालयको हामी’ भन्ने नारालाई ब्यबहारिक रूपमा परिणत गर्न सबै लाग्यौं भने अबश्य पनि हामी हाम्रो लक्ष्यमा पुग्ने छौ भन्ने लाग्छ । गण्डकी प्रदेशमा बिद्यामन्दिर पुस्तकालय जत्तिको पुरानो इतिहास बोकेको पुस्तकालय पनि छैन, यसलाई यो प्रदेशकै नमुना पुस्तकालय बनाउँदा बागलुङ जिल्लाको अर्को पहिचान थपिन पुग्ने छ । एकपटक बागलुङ जिल्लामा अबलोकनको लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको लागि राम्रो गन्तव्य बन्ने कुरामा कुनै शंका छैन । यतिबेला स्थानीय तहले ‘एक स्थानीय तह, एक नमुना पुस्तकालय’ भन्ने नारा अगाडि सारिरहेको समयमा हाम्रो अभियानले गण्डकी प्रदेशको ११ जिल्ला लाई नै समेट्न सहज हुनेछ । तपाई हामी सबै मिलेर नेपालकै पुरानो पुस्तकालयलाई गण्डकी प्रदेशकै नमुना पुस्तकालय बनाउन सहयोग गरौं । भएको पुस्तकालयलाई ब्यबस्थित गरौ, नयाँ खुलेको पुस्तकालय लाई संस्थागत गरौ । समाजमा रहेका सबैलाई पुस्तकालयमा जानुपर्छ भन्ने शिक्षा दिउँ ।