विपी र पुष्पलालको निष्ठा पच्छ्याउ

आधुनिक नेपालको राजनीतिका शीर्ष व्यक्तित्व विश्वेश्वर प्रसाद कोइराला र पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसर पारेर देशभर यतिबेला विभिन्न कार्यक्रमहरु आयोजना भइरहेका छन् । विपी र पुष्पलालले नेपाली राजनीतिमा दिएका योगदानबारे चर्चा÷परिचर्चा भएका छन् र उनीहरुको आदर्श जीवनबारे पनि विभिन्न कोणबाट व्याख्या भएका छन् । हरेक वर्षको साउनको पहिलो हप्ता यी दुई मुर्धन्य व्यक्तित्वको सम्झना गरिन्छ । विपी कोइराला नेपाली कांग्रेसका सभापति मात्रै थिएनन्, समाजवादी आन्दोलनका विज्ञ र कुशल नेतृत्वकर्ता पनि थिए । राणा शासनविरुद्ध उनकै नेतृत्वमा भएको आन्दोलनबाट नेपालमा प्रजातन्त्र आएको हो । जनताले बोल्न पाएका हुन् र १ सय ४ वर्षको राणा शासनले बिदा लिएको हो । नेपाली साहित्यका एक उज्ज्वल नक्षेत्रको रुपमा पनि उनलाई बिर्सन सकिँदैन । नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विपीको सिंगो जीवन संघर्षमा बित्यो । भारतीय स्वतन्त्रता संग्राममा समेत भाग लिएका यी नेताको नेतृत्वमा बनेको सरकारलाई तत्कालीन राजा महेन्द्रले अपदस्थ मात्रै गरेनन्, उनलाई जेलमा कोचे । जेल, निर्वासन र स्वदेश फिर्तीसँगै उनले प्रजातन्त्र अनि राष्ट्रियताको पक्षमा देखाएको निष्ठाको सम्झनाले मात्रै पनि हाम्रो मन पुलकित हुन्छ । उनी द्रष्टा थिए, उनले भूत र वर्तमानको आंकलन गर्दै सुन्दर भविष्यको सपना देख्थे । तर, उनले आफूले देखेको सपना पूरा गर्ने वातावरण पाएनन्÷ दिइएन । देशको प्रधानमन्त्रीको रुपमा बिताएको थोरै समयमा पनि उनले देशको सम्वृद्धिको लागि मनग्ये काम गरेका थिए । उनी बहुलवादमा विश्वास गर्थे। बहुदलीय प्रजातान्त्रिक समाजवादबाट नै देश सम्बृद्ध बन्छ भन्ने मान्यता राख्थे । क्यान्सरका कारण उनले असमयमै जीवन त्यागे तर नेपाली मनहरुमा सधैँ राज गरिरहे ।
अर्कोतर्फ पुष्पलाल श्रेष्ठ वामपन्थी विचारधाराबाट दिक्षित थिए । वर्गीय मुक्ति र साम्यवादी आन्दोलनमार्फत समाजवादको यात्रा उनको सपना थियो । संसारभर फैलिएको वामपन्थी लहरमा उनी होमिएका थिए । उनी विपीका समकालीन थिए । राणा शासनका बिरोधी थिए र सम्मुन्नत समाजको कल्पना गर्थे । वर्गीय मुक्तिको नारासहित उनी पनि देश परिवर्तनको पक्षमा उभिएका थिए । २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना गरी उनले देशलाई राणा शासनबाट मुक्त गर्ने संकल्पन गरेका थिए । उनले २०१५ सालमा भएको बहुदलीय प्रतिष्पर्धामा भाग लिएका थिए । वर्गीय मुक्तिको लागि लडेका उनी सधैँ पञ्चायती तानशाहीको कोपभाजनमा परे । उनले जुन बाटो तय गरेका थिए, त्यही बाटो हिँडेकाले नै अहिले देशमा दुई तिहाईको कम्युनिष्ट सरकार छ । नेपालको कम्युनिष्ट आन्दोलनलाई संगठित गराउन र देशमा कम्युनिष्ट सिद्धान्तको विजारोपण गर्नमा उनको योगदान ठूलो छ । उनी त्यागमा प्रतिमूर्ति थिए । विपी र पुष्पलाल दुबैले निष्ठाको राजनीति गरे । आफ्नो भन्दा राष्ट्रको हितलाई सर्वोपरी माने र जीवनपर्यन्त सम्झौतापरस्त नीति लिएनन् । जेल र निर्वासन सहे तर आफ्नो अडानबाट पछि हटेनन् ।

यतिबेलो पुष्पलालको विचारबाट प्रभावित कम्युनिष्टहरुको सरकार छ भने नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी दल रहेको छ । दुबै दलले नेपालमा लोकतन्त्र र गणतन्त्र ल्याउन ठूलो योगदान गरेका छन् । उनीहरु आर्थिक सम्बृद्धिको नारा लगाउने मामिलामा पनि उस्तै छन् । तर, विपी र पुष्पलालको जस्तो अडान र त्याग भने यी दलका नेता कार्यकर्तामा देख्न पाइँदैन । देशमा गणतन्त्र आउँदा पनि उनीहरु सुध्रन नसकेको भान भएको छ । जनता निराश भएका छन् । यस्तो अवस्थामा विपी र पुष्पलालको स्मृति दिवस मनाएर कर्मकाण्डी हुनुभन्दा उनीहरुको विचारको अनुशरण गर्ने व्यक्तिको आवश्यकता खड्किएको छ । व्यक्तिभन्दा राष्ट्र सर्वोपरि हो भन्ने मनन गर्नुपर्ने भएको छ । विपी र पुष्पलाल देवता थिएनन् । उनीहरुका पनि मानवीय कमजोरी थिए । तर, अहिले उनीहरुलाई भगवान बनाउने होड चलेको छ र उनीहरुकै नाम लिएर आफूलाई श्रेष्ठ बनाउने प्रवृत्ति बढेको छ । यो सरासर गलत काम हो । वास्तवमा उनीहरुप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भनेको आफैले आफैलाई हेरेर निष्ठामा अडिनु हो । दुबै नेताको स्मृति दिवसले नेता र दलका कार्यकर्तामा यति बुद्धि दियो भने त्यो नै स्मृति दिवस मनाएको सार्थकता हुन्छ ।