पहिलो सोमबार शिवालयमा भिडभाड

बागलुङ, ६ साउन – बागलुङका शिवालयहरुमा सोमबार बिहानै देखि श्रद्धालुहरुको भिड लागेको छ । साउनको पहिलो सोमबार हिन्दुधर्ममा आस्था राख्नेहरुका लागि महत्वपुर्ण मानिन्छ ।
शिवजीको पुजाआजा र आरधाना लागि सोमबार बिहानै देखि भक्तजनहरुको भिड लागेको जैमिनी शिवालय मन्दिर व्यवस्थापन समितिका सचिव गोविन्द चापागाईंले बताउनुभयो । बागलुङको जैमिनीधाम, सदरमुकाम स्थित कालिका भगवती मन्दिर, उपल्लाचौरमा रहेको गौरीधाम शिवालय मन्दिर, बिहुँमा रहेको त्रिपुरेश्वर महादेवको मन्दिर, गल्कोट र बुर्तिबाङमा रहेका स–साना शिवजीका मन्दिरमा समेत भक्तजनको ठुलो भिडभाड रहेको छ ।

श्रद्धालुहरु कालीगण्डकीमा स्नान गरी भगवान शिव पार्वतीको पूजा अर्चनाका लागी एकत्रित भएर मन्दिरहरुमा पुगेका छन् । हिन्दुधर्मग्रन्थहरुमा कालिगण्डकीको पानी (जल) पवित्र भनि उल्लेख गरीएको छ । सोमबार चन्द्र ग्रहको दिन मानिन्छ । चन्द्रमाको नियन्त्रक भगवान शिव भएको श्विासका आधारमा भक्तजनहरुले सोमार उपासना समेत बस्ने गरेका छन् । साउन महिनाको प्रत्यक सोमवार विधिपूर्वक भगवान शिवको पूजा अराधना गरेमा रोगव्याध लगायतका अन्य बाधाहरुबाट पार पाउने विश्वासका साथ श्रयद्धालुहरुले शिव मन्दिरहरुमा पूजार्चना गर्नेगरेको पण्डित योगेश्वर शर्मा वताउनुहुन्छ ।
साउन महिनामा पर्ने सोमवारहरुमा विवाह तथा सन्तानको समस्यामा रहेका हरुले पार पाउनका लागी भगवान शिवको पूजा पाठ गर्दै आएको जनविश्वास छ । बागलुङका शिवालयहरुमा पुगेका भक्तालुहरुले शिवजीको मुर्तिलाई जल, दुध, दही घ्यू चिनी, गंगाजल आदिले स्नान गराएका छन् । भोगको रुपमा धतुरो भांग, श्रीफल शिवलाई चढाउने परम्परा रहेको छ ।