१० महिनामा लक्ष्यभन्दा बढी राजश्व संकलन

बागलुङ, ७ साउन – दश महिनाअघि स्थापना भएको बागलुङस्थित आन्तरिक राजश्व कार्यालयले लक्ष्यभन्दा बढी कर संकलन गरेको छ । गत बर्ष भदौंमा स्थापना भएको कार्यालयले ६५ करोड ९२ लाख राजश्व संकलन गरेको हो । करदाता सेवा कार्यालयबाट स्तरोन्नती भएर आन्तरिक राजश्व कार्यालय बनेपछि राखिएको लक्ष्यमा २८ प्रतिशत बढी कर संकलन गरेको कार्यालय प्रमुख हेमराज सुवेदीले बताए । आर्थिक बर्ष २०७५÷०७६ का लागि राखिएको ५१ करोड २३ लाख ५१ हजारको लक्ष्य राखिएको थियो । लक्ष्यमा २८ दशमलब ६७ प्रतिशत बढी राजश्व संकलन भएको सुवेदीले जानकारी दिए । गत बर्षको असोजमा मात्र कार्यालय स्थापना भएर काम थालिएको थियो । यसअघि करदाता सेवा कार्यालय मात्र यहाँ थियो । राजश्व कार्यालयको रुपमा काम थालेलगत्तै सुवेदीले करका दायरा फराकिलो बनाउने अभियान थालेका थिए । कार्यालयका अनुसार आयकर ४५ करोड संकलन भएको छ ।

त्यो बाहेक मूल्य अभिवृद्धि कर १६ करोड ८५ लाख, र ९२ लाख ९० हजार अन्तशुल्क कर संकलन भएको हो । करदाता बढाउने अभियान संचालन गर्दा एक आर्थिक बर्षमा ६ हजार ७ सय ४८ करदाता थपिएका छन् । बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङमा करदाता शिक्षा कार्यक्रम, नयाँ करका क्षेत्र पहिचान लगायत गर्दा कर संकलन बढेको हो । गत असार मसान्त सम्म व्यक्तिगत रुपमा २ हजार ३७ जनाले व्यपारिक पान नम्बर लिएका छन्भने व्यक्तिगत रुपमा ४ हजार ५ सय ८ जनाले लिएको उनले बताए । एक आर्थिक बर्षमा २ सय ३ व्यवसाय भ्याटमा समेत दर्ता भएका छन् । अहिलेसम्म कार्यालयमा २४ हजार २ सय ७० करदाता सूचिकृत भैसकेका छन् । कार्यालयले विभिन्न कार्यक्रम संचालन गरेर दायरामा नआएका सेवा क्षेत्रका व्यवसायलाई करको दायरामा ल्याउने काम गरिरहेको छ । यसअघि व्यपारिक क्षेत्रले मात्र करको कारोवार गरेका थिए । ‘अघिल्लो बर्ष लक्ष निर्धारणको बेला सेवा क्षेत्रको योगदान बारे खासै कुरा भएको थिएन’ सुवेदीले भने, ‘ट्युसन सेन्टर, होटल व्यवसाय लगायतमा कर शिक्षा र आवस्यकताबारे सचेतना फैलाएपछि राजश्व बढेको हो ।’ कार्यालयले बागलुङ, पर्वत, म्याग्दी र मुस्ताङका सबै स्थानीय तहसम्म कर शिक्षा संचालन गरेको छ ।

आर्थिक बर्ष २०७२/०७३ देखि तुलनात्मक रुपमा करसंकलन बढ्न थालेकोमा कार्यालयको बढुवापछि यो क्रम दोब्बर बढ्ने संकेत मिलेको छ । कार्यालयको अभियान पछि साना तथा मझौला उद्योग, व्यवसायी, सहकारी संस्था र संस्थागत विद्यालय समेतले कर तिर्न थालेका छन् । यसैबीच, कार्यालयमा आउने सेवाग्राहीको हितका लागि भन्दै कार्यालय परिसरमै नेपाल बैंकको शाखा खोलीएको छ । शाखा स्थापना पछि राजश्व बुझाउन सहज भएको काम बिशेषले आएकी सुनिता पौडेलले बताईन् । त्यस्तै बागलुङग, पर्वत र म्याग्दीका उद्योग बाणिज्य संघको सहकार्यमा निशुल्क सेवा दिने गरी हेल्प डेक्स स्थापना गरिएको छ । यो डेक्सबाट सेवाग्राहीले पान नम्बर लिने, व्यवसाय कर तिर्ने, किस्ता र करकट्टी लगायतका सेवामा भर्नुपर्ने फारक तथा अनुसूचिका लागि सहायता पाउनेछन् । तीन जिल्लाका संघले सल्लाह गरेर हरेक दिन कम्तिमा एकएक जना कर्मचारी डेक्समा खटाउनेछन् । कार्यालयले कम्प्युटर, इन्टरनेट र प्रविधि उपलब्ध गराउनेछ ।