धौलागिरी अञ्चल अस्पतालमा स्तनपान कक्ष र थाइराइड सेवा सुरु

बागलुङ, ७ साउन – जिल्लामै पहिलो पटक धौलागिरी अञ्चल अस्पतालमा मंगबारबाट सुत्केरी महिलाको सहजताका लागि स्तनपान कक्ष सञ्चालनमा आएको छ । प्रदेश सरकारको ४० लाख रुपैयाँ सहयोगमा थाइराइड तथा स्तनपान कक्ष व्यवस्थापन र निर्माण गरिएको हो ।

दुबै सेवाको सुरुगर्दै प्रदेश सभाका सदस्य ईन्द्रलाल सापकोटाले अञ्चल अस्पताल व्यवस्थित रुपमा सञ्चालन हुनुपर्नेमा जोड दिए । व्यवस्थापनको कमजोरीका कारण पहिलेपहिले अञ्चल अस्पताल आलोचना गर्ने केन्द्र बनेको बताउँदै सापकोटाले नयाँ व्यवस्थापन समितिले सुरुवात गरेका सकारात्मक कामलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले पहिलेभन्दा सुधारको बाटोमा लागेको अञ्चल अस्पतालबाट प्रबाह हुने विषेशज्ञ सेवालाई पनि प्रभावकारी बनाउनुपर्नेमा जोड दिए । दरवन्दी अनुसारका बिषेशज्ञ डाक्टर नभए पनि केही सुधार आएको भन्दै त्यसले सर्वसाधारणको तहमा सकरात्मक सन्देश जानेमा उनी आशावादी देखिए । स्थानीय तहमा सरकार बनेसँगै अस्पतालको सेवालाई चुस्त बनाउन र अस्पतालमा जनशक्ति व्यवस्थापन गर्न सहज भएको उनको भनाई थियो ।


अञ्चल अस्पतालमा थाइराइड सेवा संचालन भएसँगै थाइराइडका बिरामीहरु पोखरा, काठमाण्डौ जानुपर्ने बाध्यता अन्त्य हुने भएको छ । निजी अस्पताल तथा मेडिकलहरुमा थाइराइडका उपचार गराएबापत १ हजार २ सय रुपैयाँ देखि १ हजार ३ सय रुपैयाँ खर्च गर्नुपर्ने बाध्यता रहेको थियो । अञ्चल अस्पतालमा ८ सय रुपैयाँमा उपचार गर्ने सकिने ल्याव प्रमुख सुरज बरालले जानकारी गराए । थाइराइड कक्ष स्थापनाको अवसरमा ५ जना व्यक्तिहरुलाई निःशुल्क सेवा प्रदान गरिएको थियो । सुत्केरी महिलाहरुलाई लक्षित गरेर स्थापना भएको स्तनपान कक्षले धेरैलाई सहयोग गर्ने निमित्त मेडिकल सुपरीटेण्डेण्ट डा. शैलेन्द्र बि. पोखरेलले बताए । कार्यक्रम अस्पताल व्यवस्थापन समितिका अध्यक्ष केवी राना मगरको अध्यक्षता, निमिक्त प्रमुख मेडिकल सुपरटेण्डन शैलेन्द्र वि. पोखरेलको स्वागत र व्यवस्थापन समितिका सदस्य शालिकराम शर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।