बास त पाए तर गाँस जुटाउन कठिन

बागलुङ,८ साउन – बागलुङको ढोरपाटन नगरपालिका–९ नवी गाउँका मानबहादुर बिक परिवारलाई खुसी राख्ने सपना बोकेर खाडी मुलुक कतार पुगेको २२ महिना मात्रै भएको थियो । कतारको एक प्रतिष्ठित कम्पनीमा काम गरिरहेका बिक महिना मर्दा धेरथोर कमाउँथे र घर पठाउँथे । त्यसैमा उनी खुसी नै थिए । गत बर्षको मंसिर ९ गते बिहान बिभिन्न सञ्चार माध्याममा आएको समाचारले उनको मन दुःखको भारीले मात्रै थिचिएन जनतन चलेको रोजगारी छोडेर बिक नेपाल हानिए । मंसिर ९ गते बिहान ३ बजे नवीगाउँमा भएको आगलागीका कारण बिकको घर जल्यो । प्रदेशमा काम गरिरहेका बेला आफ्नै घर जलेको सुनेका बिकले बेसुरमा परिवारलाई फोन गर्ने प्रयास गरेको सुनाए । तर सम्पर्क नभएपछि उनी थप आत्तिएका थिए । कतारको रोजगारी त्यागेर नेपाल फर्किने निधो गरेपछि मात्रै उनले परिवारको खबर पाए । सिंगो गाउँका ४८ घर जल्दा बिकको घर पनि खरानीमा परिणत भएको थियो । चिसो समय भएकाले घुम्ती बसाई सरेर बस्ने नवी गाउँका सबै ढोरपाटन नगरपालिका–८ बोबाङमा झरेका थिए । 

‘बेसी झरेकी बुढीको फोन लागेन, घर जलेको खबरले कतार बस्नै मन लागेन’ बिकले भने ‘उसको फोन लाग्ने बेलासम्म मैले घर फर्किने निधो गरेको थिएँ ।’ चिसो छल्न बोबाङ झरेका कारण त्यहाँ मानविय क्षति भने हुन पाएन् । जलेको घर फेरी बनाउने र परिवारलाई खुसी राख्ने सपना बोकेर नेपाल फर्केका बिकको अहिले नवीगाउँमा घर बनेको छ । सुन्दर घर बनाउने सपना बोकेर अरबको तातोमा काम गर्दागर्दै भएकै घर जलेपछि पुनःनिर्माणको लागि आँफु घर फर्किएको बिक बताउँछन् । नगरपालिकाले प्रतिपरिवार एक लाख रुपैयाँका दरले पुनःनिर्माणका लागि रकम उपलव्ध गराएपछि नवी गाउँमा ३९ घर बनेका छन् । आगलागीका कारण मासिएका घर बनाउन नवीगाउँबासीले नगरले दिएको अनुदान र ऋणधन गरेका छन् । जसोतसो बनाएको घरमा बाँस बसेको भएपनि बिहान बेलुका खाने गाँसको समस्याले भने नवी गाउँबासीलाई पिरल्ने गरेको छ ।

‘खाने मेसो त खोसियो तर घर बनेको छ’ बिकले भने ‘घर बनाउन नगरपालिकाले पैसो दियो खाने अन्न छैन ।’ ढुंगामाटोले बनेको घरमा जस्ताको छानो हालिएको छ । ‘घर जल्दा घरभित्र भएको अन्नपात र भाँडावर्तन सबै जलेका छन्’ नवी गाउँका देविलाल बिकले भने ‘घर त बनाईयो अब गुजारा कसरी गर्नु ।’चिसो छल्नकै लागि बोबाङ झरेका बेला नवीगाउँमा भण्डारण गरी राखेको आलुको बिउ समेत मासिएकाले उनीहरु मर्कामा परेका हुन् । नवीगाउँका सबैको बारीमा आलु मात्रै फल्छ । बर्षातमा फलेको आलुलाई हिउँदको समयमा बेसी झरेर अन्नपातसँग साटेर त्यहाँका स्थानीयले गुजारा चलाउने गरेका छन् । ‘चिसो सकिएपछि लगाउने भनेर राखेको आलुको बिउ खरानी भएको थियो’ स्थानीय दिलमाया बिकले भनिन् ‘बिउ किनेर आलु लगाउँदा ऋण लागेको छ, घर छ तर‘ भकारी खाली छ ।’ नवीगाउँ अहिले निलो जस्ता पाताको छानाले भरिएको छ । मंसिरमा आगलागीका कारण क्षति भएका ४८ घर निर्माणका लागि ढोरपाटन नगरपालिकाले एकिकृत बस्ती निर्माण गर्ने घोषणा गरेर काम थालेको थियो । नगरपालिकाले भनेको जस्तो एकीकृत बस्ती निर्माण नभए पनि नवीगाउँमा ३९ नयाँ घर बनेका छन् । ‘घडेरीका कारण एकीकृत बस्ती बनाउन सकिएन’ ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले भने ‘चैतबाट पुननिर्माण थालिएको नवीगाउँ पहिलेको जस्तै भएको छ ।’

नयाँ घर बनाउनका लागि नगरपालिकाले प्रत्येक परिवारलाई एक लाख रुपैयाँ अनुदान दिएको थियो । ४८ घरमध्ये एकै व्यक्तिका केही दुईवटा घर भएकालाई कुनै एक घर मात्रै पुनःनिर्माणका लागि रकम उपलव्ध गराएको नगरपालिकाले जनाएको छ । बन्नु पर्ने ४१ घरले पेश्कीबापत पहिलो किस्ताको रकम लगेका थिए । अहिले पनि २ घर निर्माणको चरणमा छन् । १९ मिटर लम्बाई र १३ मिटर चौडाई भएको दुई कोठे घर निर्माण गर्ने गरी नगरपालिकाले सहयोग गरेको हो । सबै घरको छानाका लागि ढोरपाटन नगरका प्रमुख देवकुमार नेपालीले व्यक्तिगत खर्चमा जस्तापाता उपलव्ध गराएका हुन् । आगलागीका कारण मासिएको सिंगो गाउँ पुनःनिर्माणसँगै जुरुक्कै उठेको भएपनि घरभित्रका समस्यामा कसैले चासो नदेखाएको स्थानीय युवा धनबहादुर बिक बताउँछन् । ‘हामीसँग रोजगारी छैन्, खेतीपातीको नाममा आलुमात्रै हो’ बिकले भने ‘बिउनै मासिएको भए के लगाएर खान्छौ कसैले भनेन् ।’ नवीगाउँनै मासिने गरी भएको आगलागी के कसरी भयो भन्ने बिषयमा अहिलेसम्म पत्तो लाग्न सकेको छैन् । छरिएर रहेका घरहरुमा समेत जोडिएर रहेका घरमा जस्तै आगो लागेकाले नियतबस कसैले आगो लगाईदिएको हुनसक्ने गाउँको शंका छ ।