झगडा मिलाउने होइन गराउने गतिविधिमा तल्लीन छन् जनप्रतिनिधि

बाध्यता थियो केही बर्ष बिदेश बसेर घर फर्केको म । देशको राजनीतिमा सानैदेखि चासो राख्ने भएकाले होला म घर फर्केको दुई दिनपछि आमाले सुनाउनुभयो– ‘स्थानीय तहको निर्वाचनका बेला भएका गतिविधिको बिषयमा ।’ पत्रपत्रिका पढ्नका लागि साक्षर नभए पनि रेडियो र टेलिभिजन हेर्दा चुनावी परिवेश र परिणामको बिषयमा आमालाई राम्रोसँग जानकारी थियो । आफ्नै नगरमा भएको चुनावको बिषयमा त उहाँ राम्ररी जानकार हुनुहुन्थ्यो । ‘अहिले नगरपालिका भयो भनेका छन्, फलानो फलानोले जिते बाबु’ आमाको चुनावी फेहरिस्त सुनेपछि मेरो मानसपटलमा त्यतिबेलाको चित्र आयो कल्पना गरेँ । कसैले दश औंला जोडर आए, कसैले नाता सम्बन्ध पनि खोज्दै थिए । आमाले भनेको सुनेपछि मलाई लाग्यो चुनावका बेला कयौं सपना देखाउन घर दैलोमै आउनेहरुले जिते वा हारे भनेपनि केही त गर्लान् । चुनाव भएको एक महिना १५ दिनपछि बिदेशबाट फर्किएको म स्थानीय तहको चुनावका बेला केही योगदान वा मतदाननै गर्न नपाए पनि कयौं आशाहरु संगालेको थिएँ । एक नागरिकको हैसियतले आशा राख्ने अधिकार म’मा थियो । चुनाव भएको दुई बर्ष बितेको छ । आशाबादी हुनुपर्छ भन्ने मेरो मान्यता हो । कयौं आशाहरु पनि थिए । कतै स्थानीय तहमा राजनीतिका माहिर खेलाडिहरुले जितेको सुने, कतै साधु सन्तहरु पनि । खेल खेल्दै आएकाहरुले त आफ्नै पारामा काम गर्लान्, साधु सन्त बनेका वा बनाईएकाहरुले केही न केही त गरेर देखाउलान भन्ने झिनो आश पलायो ।
देश संघिय संरचनामा गएकाले पुराना संरचना केही थिएनन् । हिजोका गाविसहरु त्यतिबेला वडामा परिणत भएका थिए । नगरपालिकाले ठुलै आकार ग्रहण गरेका थिए । गाविस मिलेर कतै नगरपालिका त कतै गाउँपालिका भनेर न्वारन गरिएको थियो । उ बेला छक्कै परेको म त । मैले सोचिरहेको थिएँ के होला अब । त्यही बेला नगरपालिका र गाउँपालिकाको नीति कार्यक्रम र बजेट सार्वजनिक भएको सुनियो । हिजो गाउँ विकास समितिको सानो बजेट गाउँ परिषदले पारित गरेको सुनेको म नगरपालिका र गाउँपालिकाले वडास्तरमा पठाएको बजेट देख्दा पहिलेको भन्दै निकै धेरै लाग्यो । फेरी आशाको त्यान्द्रो न हो फैलियो उकालोमुख ।

पहिलो, दोस्रो र तस्रो बर्षका लागि पालिकाहरुले मेरो आशाको त्यान्द्रो उकालो लागेको जस्तो बजेट ल्याईसकेका छन् । कयौं नीति तथा कार्यक्रम बनाएर कार्यान्वयन गरेका छौं भनेका छन् । तर, हाम्रो विकास, समुदायको परिवर्तन हिजोको भन्दा माथि होईन तलतिर पो लागेको छ । केही अपबादबाहेक आशा गर्ने ठाउँ खोई रु हिजो मेरी आमाका कानले सुनेका कयौं प्रतिबद्धताहर अब स्थानीय सरकारमा पुगेकाहरु बिर्सिए तर मतदान महादान भनेर लठ्ठीको सहारामा मतदान स्थलमा पुगेका मेरी आमा जस्ता बाआमाले त्योबेला बोल्दा शव्दहरुको बिचमा मिसिएको चाईने भन्ने शव्द समेत भुलेका छैनन् । स्थानीय सरकारका गतिविधि देख्दा लाग्छ चुनावका बेला मत माग्न जोडिएका दश औंला चुनाव जितेपछि केही आशा राखेर फैलिएका छन् । त्यो आशा नागरिकका लागि घातक छ ।लामो समय नजिकमा सरकारको उपस्थिती नभएका कारण आजित बनेका सर्वसाधारणको आशा थियो । अब हाम्रो घरगाउँको सरकार बन्छ । कम्तिमा हाम्रा गुनासो बिसाउने ठाउँ त होला । अरु केही नभए पनि नजिकैको सरकार प्रमुखको कार्यकक्षसम्म हाम्रो पहुँच पुग्छ । भए देलान नभए सम्झाएर पठाउलान् । कसैले धम्क्यायो भने सरकारले सुन्छ, सबैले झगडा गरे सरकारले मिलाउँछ । हुन पनि स्थानीय सरकारले नागरिकका यस्ता सानातिना आशा पुरा गर्न सक्छ । स्थानीय सरकारको गद्धिमा बिराजमान महाशयहरु नरिसाउनुहोला अहिले पनि जनताले तपाईसम्म पुग्ने बाटो पाएका छैनन् । हिजो गुनासो बिसाउँला भन्नेहरुले अहिले गुनासो तपाईका आसेपासे र एजेन्टहरुमार्फत मात्रै बिसाउन पाउँछन् । हजुरबाले भन्दा सुनेको यस्तो व्यवस्था पञ्चायतमा पनि थियो । भए देलान नभए सम्झाएर पठाउलान् भनेर आशा लिएकाहरुले दुवै कुरा पाएका छैनन् । किनभने हजुरको आलिसान महलको ढोकामा बस्ने ढोकेहरुले सम्झाएर होईन थर्काएर पठाउँछन् । कसैले धम्क्याए सरकारले सुन्छ भन्नेहरु आज हजुरहरुकै बचनका कारण पिडित बनेका छन् । यसको एउटै उदाहरण भन्छु, जब किसानले धान रोप्छ तब मात्रै तपाईका आसेपासे खेतमा पस्छन् र धम्क्याउँदै डोजर चलाउँछन् । बोले बिकास बिरोधी, नबोले आफ्नै पेट खाली । जग्गाको मुल्य त उनीहरुले खोजेका छैनन् । तर धान रोप्दा लाग्ने खर्च त हजुरले पूर्वसूचना गर्दा बच्थ्यो नि । खै हजुरको जनप्रेम । झगडा मिलाउने होईन झगडा गराउने गतिविधिमा यहाँहरुका क्रियाकलाप बढेको पाईन्छ । आफ्नो कार्यकर्ता भयोभने सबै सत्य र साँचो देख्ने आफ्नो इतरको कोही सबैलाई बाँकी नराख्ने प्रबृत्ति त यहाँहरुले त्याग्नु भएन नि ।

नरिसाउनुहोला, तपाईको कार्यालयमा बस्ने कर्मचारीको त कुरै गरिनसक्नु छ । कतिपय ठाउँमा त यहाँहरु नै पनि अनुभवी हुनुहुन्छ । नजिकको सरकार चलाउन बिराजमान हुनुभएका यहाँहरुको कार्यालयको यि र यस्ता परिदृष्यले दुःखीको मन देखाउनेबाहेक के गर्ला छ । बाध्य भएर बाँडेको बजेट, बाध्य भएर गरेको कार्यालयको कामबाहेक यहाँहरुबाट जनताको पक्षमा वा जनताको सेवामा गरिएको काम खै रु कहाँ खरानी बनाउनु भो चुनावका बेलाका बचन बद्धताहरु रु बोलेका मात्रै होईन तपाईंहरुले नै लेखेको नीति तथा कार्यक्रममा उल्लेख भएका बुँदा बुँदाको कार्यान्वयन के अर्को सरकार आएपछि गर्नेगरी बनाईएको हो । स्थानीय सरकार स्थानीय जनताको हुनुपर्छ । तपाईलाई राजा बनाउन मात्रै स्थानीय तह बनेका होईनन् । हजुरहरुलाई त राम्रै याद छ होला अर्को चुवान पनि आउँछ । हिसाब किताब गर्नुभएको छ होला बाँकी तीन बर्ष समय छ । तर हजुरहरुको समय २०७४ बैशाख ३१ बाट सुरु भएको छ र जनताले पनि त्यसरीनै हिसाब गरे भने के होला रु