करुणाका प्रतिमूर्ति बुद्व

बुद्ध दर्शनका आफ्नै मौलिकता भएका कारण इतिहासले एउटा विशिष्ट मूल्य दिएको छ । आफ्ना मूलभूत विचार एवम् सारवस्तुमा उन्नाइसौं शताब्दीका प्रख्यात नास्तिक वैज्ञानिकसँग बुद्ध विचार मिल्दोजुल्दो देखिएको छ । जर्मनेली सोपेनहावर र हार्टमनले कुनै नयाँ विचारको प्रतिपादन नगरेर बुद्ध विचारको पुनरावृत्तिमात्र गरेका थिए । उनीहरूका विचारको आलोचना गर्दै आलोचकहरूले बुद्धको मतभन्दा पनि बढी असँस्कृत एवम् अप्राकृत भनेका छन् । बौद्ध दर्शनले वर्तमान समयका क्रियात्मक मागको पूर्तिका लागि अत्यन्तै अनुकुल विचार प्रस्तुत गरेको छ । यस्तो किसिमको विचार धार्मिक विश्वास र भौतिक विज्ञानका बिचमा जुन खाडल छ त्यसलाई परस्परमा मिलाएर समन्वित तुल्याउने काममा सहायक देखिन्छ । यस विषयमा विशद चर्चा गर्न सकिए पनि यस आलेखमा बुद्ध जीवनवृत्त र व्यक्त्विका वारेमा मात्र चर्चा गरिएको छ । नेपालको कपिलवस्तु जिल्लामा एक अद्वितीय राजकुमार सिध्दार्थ गौतमको जन्म भएको थियो । जसमा धर्मिक त्याग, उच्च आदर्श, जीवनको यथार्थबोध एवम् मनुष्य मात्रमा प्रेमको भावना विकसित भएका कारण उनीपूर्व र उनीपछिका व्यक्तिहरूमा एक विशिष्ट महापुरुष बन्न सफल भएका छन् । एउटा संन्यासीको रुप धारण गरेर सिध्दार्थ गौतम ‘बुद्ध’ (ज्ञान प्राप्त गरेका) नामले प्रसिद्ध भएका छन् । बुद्ध शाक्य वंशका एक उत्तरतधिकारी रुपमा पिता शुद्धोदन र माता मायादेवीका कोखबाट जन्मिएका थिए । उनी शाक्यहरूको राजधानी कपिलवस्तुमा शुद्धोदनकी दोस्री श्रीमतिको लालनपालनमा हुर्किएका थिए । किनभने बुद्ध जन्मेको सातौं दिनमा उनकी आमाको मृत्यु भएको थियो । उनकी श्रीमतिको नाम यशोधरा र छोराको नाम राहुल रहेको थियो । बुद्धले सानै उमेरदेखि यस संसारको अनित्यताको बोध गर्दै ‘रहस्य’को खोजीतर्फ आफूलाई केन्द्रित गर्दै लगेका थिए । मानव जीवनको अनित्यता एवम् अनिश्चितताले उनको आत्ममा हलचल उत्पन्न गराइ दिएको थियो । त्यसैको फलस्वरुप ‘संसारका सम्पूर्ण मानिस अज्ञानरुपी अन्धकारको गहिरो खाडलमा भासिइ रहेको र पापपूर्ण जीवन विताइ रहेको अनुभूत गरेका थिए । उनले कपिलवस्तु राज्यको बाटोमा हिँडिरहेका चार अवस्थाका मानिस देखेका थिए, उमेर गलित बृद्ध, रोगले ग्रस्त बिरामी, एक मृत व्यक्ति र त्यसको पछाडि शोकाकुल अवस्थामा रुँदै हिँड्ने मानिस । यी चार मानिसका दुःखका अवस्था देखेपछि बुद्धका मनमा उग्र पीडा उत्पन्न भएको थियो । यी चार मानवका अवस्थाले उदासी, अभाव, निरास एवम् दुःखकातरका संवेगहरूलाई संकेत गर्दछन् । यी दुःखका दृश्यहरू बुद्धको भित्री चेतनाको तह जागरुक गर्नका लागि पयाप्त थिए । अनन्त कालदेखि अज्ञानका कारण भौतिरिदै आएको मनुष्यका लागि यो घटना एक सञ्जिवनी बुटीजस्तै बनेको थियो । यसैबाट उनको अन्तरात्मा विचलित भएको थियो र जीवन अत्यन्तै भयावह र दुःखदायी रहेको बोध भएको थियो ।

इन्द्रियजन्य पदार्थको अनित्यता, मनुष्य जीवनको हीनता तथा विषय जञ्जालको भ्रमको बोध भएछि राजपाट छोडेर एउटा परिव्राजक संन्यासी भएका थिए । तत्कालीन समयमा सत्यका अन्वेषक र पर्यटकहरू बारबार मानसिक अशान्तिको बोध भएपछि बैरागी बनेर हिँड्थे भन्ने दर्शनशास्त्री डा. राधाकृष्णन्को धारणा रहेको छ । ज्ञनरुपी प्रकाशको खोज गर्नका लागि र आफ्नो असली रुपको बोधका लागि संसारमा मूल्यवान् लाग्ने वस्तुहरूको त्यग गर्नु आवश्यक थियो । त्यसैले बुद्धले पनि राजगद्दी त्याग गरेका थिए । यही प्रचीन प्रथाअनुसार बुद्धले घर त्याग गरे र तपस्वी जीवनको आरम्भ गरे । उनी राजसी ठाँटबाँट परित्याग गरी २९ वर्षकै उमेरमा भिक्षु भए । उनले दार्शनिक विचारद्वारा आध्यात्मिक विश्वास प्राप्त गरे । केही समय विचारको अज्ञात समुद्रमा मानसिक विचरण गरे पनि मानसिक शान्ति मिलेन र तपस्यामा तल्लीन भए । उनी आफ्ना पाँच परम मित्रका साथ जंगलमा तपस्या गर्न गए । जंगलमा उपवास, तपस्या र कठोर प्रकृतिका शारीरिक यन्त्रणाहरूका अधिनमा रही शान्तिको खोजी गरे । यसबाट पनि उनलाई शान्ति मिलेन । यसरी वस्तविक शान्ति प्राप्त नभएपछि बुद्ध निराश भए र एक रात मूर्छित पनि भएका थिए । भोक र प्यासले गर्दा लगभग मरणासन्न अवस्थामा पुगेका थिए तर सत्यको प्रप्ति भएको थिएन ।करिब ६ वर्षको कठिन तपस्याबाट पनि उनले बुद्धत्व प्राप्त गर्न सफल भएनन् । उनका सम्पूर्ण कृत्यहरू निस्फल भए । बुद्ध संयमबाट इन्द्रियलाई नियन्त्रण गरी पवित्र भएको शरीरका साथ, सुसंस्कृत मनका साथ, एकान्तवासबाट अनुकूलित हृदयका साथ वनमा बसेर ज्ञानको खोजी रहेका थिए । त्यसपछि उनी ध्यान र प्रार्थनातिर केन्द्रित भएका थिए । त्यस समयमा उनलाई विभिन्न विघ्नबाधाहरू आएका थिए तर त्यसबाट उनी कत्ति पनि विचलित भएनन् । बोधी वृक्षको रुखमुनि घाँसको विछ्यौनामा आसन लगाएर उनले सङ्कल्प गरे ः “जबसम्म सर्वोपरि एवम् परम (निरपेक्ष) ज्ञान प्राप्त गर्ने छैन तबसम्म म यस आसनबाट उठ्ने छैन ।” त्यसपछि त्यही रुखमुनि उनले सात हप्ता बिताएपछि उनलाई अकस्मात एक प्रकाशमय ‘दिव्य’ ज्ञान प्राप्त भयो, त्यही समय उनालाई शिष्यहरूले बोधिनन्द भनी नाम दिएका थिए । बर्षौ वर्षको खोज एवम् ध्यानपछि उनलाई विशेष ज्ञान प्राप्त भएको अनुभव भएको थियो । उनलाई सर्वातिशयी र आनन्ददायी ज्ञानको बोध भएको थियो । बुद्धत्व प्राप्त भएछि चार आर्यसत्य र आठ प्रकारका मार्गको प्रचार गरेका थिए । उनले अध्यात्म शास्त्रका सूक्ष्म सिद्धान्ततिर आकर्षित नभएर नीतिशास्त्रको मार्ग अवलम्बन गरेका थिए । नीतिशास्त्रका माध्यमबाट पापपूर्ण एवम् निन्दित कामबाट जनसाधारणलाई रक्षा गर्ने उपायको अवलम्बन गरेका थिए । उनले आफ्नो वक्तृता शक्तिबाट सम्पूर्ण संसारका नरनारीहरूमा प्रभाव जमाएका थिए । आफ्ना पाँच परम मित्रलाई प्रथम शिष्य घोषणा गर्दै ‘धर्मचक्रप्रवर्तन’को प्रथम उपदेश गरेका थिए । त्यही उपदेशको ग्रहण गर्दै प्रथम शिष्यहरूले औपचारिक रुपमा ‘बुद्धसंघ’को स्थापना गरेका थिए र आफूहरू पनि सदस्य भएका थिए । त्यसपछि बुद्धका शिष्यहरूको मात्रा बढ्दै गयो । उपाली दोस्रो दर्जाका शिष्य भए, जसले बुद्धको ‘परिनिर्वाण’पछि ‘विनयपिटक’को पाठ गरेका थिए । उनैले बुद्धको शरीर दाहसँस्कारका लागि रोकेका थिए । उपरान्त अनेक ब्राह्मण शिक्षकहरूले बौद्ध धर्मको दीक्षा लिएका थिए । यसबाट पनि बुद्ध धर्म कुनै जाति र सम्प्रदाय विशेषमा सिमित थिएन भन्ने स्पष्ट हुन्छ ।

लगभग चालिस वर्षसम्म धर्मप्रचार गरेर जीवन व्यतित गरेपछि एक दिनमृत्युनिकट अवस्थामा शिष्यहरूलाई उपदेश दिएका थिए । उनले ‘परिनिर्वाण’ हुने अवस्थामा भनेका थिए ः “हे मेरा दाजुभाइ अब म तिमीहरूसँग विदा हुन्छु, मनुष्यको शरीर अनित्य छ, पुरुषार्थ गर्दै आफ्नो मोक्षमार्ग खुला गर ।” यसरी असी वर्षको आयु पश्चात बुद्धले मोक्ष प्राप्त गरेका थिए । उनी पूर्वीय सभ्यताका एक नक्षत्रका रुपमा अद्यापि प्रख्यात रहेका छन् । उनमा भावनामय शान्ति, विचारमग्न नम्रता एवम् कोमल शान्त एवम् अन्तर्हृदयसम्म पुग्ने प्रेम एकसाथ चम्किएको पाउँछौं । बुद्धका अवसान पश्चात् आदर्शका महान् कुरा गरे पनि वादविवादको चौघेराबाट उम्कन सकेन । खासमा ईश्वर, आत्मा, जगत् र तथागतका सम्बन्धमा बुद्ध मौन बसेको पाइन्छ । यही मौनता पछि गएर बुद्धका अनुयायीहरूको मुख्य विवादको विषय बनेको देखिन्छ । बुद्धको मौनताको व्याख्या गर्दै परवर्ती आचार्यहरूले तत्त्व सम्बन्धी ज्ञान अनिर्वचनीय हुन्छ भन्ने बताएका छन्। यसैको फलस्वरूप आरम्भमा बुद्धका ‘हीनयान’ र ‘महायान’ दुई सम्प्रदाय देखा परेका छन् । हीनयानीले मुक्ति व्यक्तिको निजी मामिला हो भन्दै त्यसका लागि कसैको सहयोग आवश्यक नपर्ने ठान्दछन् । महायानले ‘निर्वाण’को अर्थ मृत्यु नभई बुद्धत्व प्राप्त गर्नु हो । बुद्धत्व भनेको परोपकारिता हो । परोपकारका लागि बुद्ध पटक पटक संसारमा आउँछन् भनी सामुहिकतामा जोड दिएको देखिन्छ । समग्रमा हेर्दा ‘हीनयान’ले व्यक्तिको मात्र मुक्ति चाहेको देखिन्छ भने ‘महायान’ले संसारका सबै प्राणिको मुक्तिका लागि कदम चाल्नु पर्ने कुरामा विश्वास गरेको देखिन्छ । सन्यासित्व र अदर्शको पालना गर्नु ‘हीनयान’को मूल मन्त्र हो भने ‘बोधिसत्व’को परिकल्पना र प्राप्ति ‘महायान’को लक्ष्य हो।
कालान्तरमा ‘हीनयान’ र ‘महायान’मा पनि विभाजनका रेखाहरू कोरिएको भेटिन्छ । ‘हीनयान’बाट ‘सौत्रान्तिक’ र ‘वैभाषिक’ तथा ‘महायान’बाट योगाचार र माध्यमिक नामका सम्प्रदायहरू विकसित भएको पाइन्छ । यसैलाई माधवाचार्यले ‘सर्वदर्शन संग्रह’मा “तेच माध्यमिक योगाचारा सौत्रान्तिक वैभाषिक संज्ञाभिः प्रसिद्ध बौद्धाः” भनी बुद्धका सम्प्रदायको उल्लेख गरेका छन् । ‘वैभाषिक’ वा सर्वास्तीवादीहरूले बाह्य एवं मानसिक दुबै जगत्को वास्तविकता स्विकार गरेको देखिन्छ । ‘सौत्रान्तिक’ वा बाह्यानुमेयवादीले हरेक वस्तु निरन्तर परिवर्तनशील हुन्छन् । तिनको अस्तित्व क्षणभर मात्र रहेको हुन्छ । यस कारण पदार्थको ज्ञान अनुमानका आधारमा हुन सक्छ भन्ने विश्वास गरेका छन् । माध्यमिक शून्यवादका प्रवर्तक नागार्जुनले बाह्य प्रत्यक्ष र अनुमान दुबैलाई अवास्तविक मान्दै शून्यलाई मात्र सत्य मानेका छन् । योगाचार मतका संस्थापक असङ्ग, वसुबन्धु र दिग्नाग परमसत्ता शून्य नभई विज्ञान स्वरूप हुन्छ भन्नेमा अडिग देखिन्छन् । वस्तुगत रूपमा विज्ञानवादमा आधारित भएर पदार्थको व्याख्या गरी संसारको दुःखमयता र त्यसको निवारणका उपायको खोजी गर्नु बुद्धको मुख्य काम हो । उनी अनीश्वरवादी, नित्य आत्मा नमान्ने, निर्वाणलाई जीवनको चरम लक्ष्य मान्ने र वेदको प्रमाणलाई अस्वीकार गर्ने महापुरुष हुन् ।