प्रदेशकै नमुना अस्पताल बनाउँछौंः केवी राना

बागलुङ, १० साउन – धौलागिरी अञ्चल अस्पताललाई प्रदेशकै नमूना अस्पताल बनाउने अध्यक्ष केवी रानाले दावी गरेका छन् । सरकारी संस्थाहरुमा रहेको बेथीती अन्त्य गरेर सुधार गर्न आँफू अध्यक्ष भएर आएको भन्दै उनले काम गरेर देखाउने बताए । धौलागिरी संचार क्लबले बिहिवार आयोजना गरेको एक अन्तरक्रियामा उनले अस्पतालको व्यवस्थापनलाई चुस्त बनाइसकेको समेत दावी गरे । ‘झाडीको रुपमा रहेको अस्पताललाई सफाइ गरेर अस्पताल जस्तो बनाएका छौं’ उनले भने, ‘बी ब्लकलाई संचालनमा ल्याएर काम गर्न पनि सहज भएको छ ।’ बी ब्लकमा ओपिडी, बिशेषज्ञ सेवा, निशुल्क औषधि वितरण कक्ष र फार्मेसीको व्यवस्थापन समेत गरिएको उनले बताए । अस्पतालमा शव राख्ने, मृगौला रोगीलाई डायलाएसिस, थाइराईट लगायतको समस्याका बिरामीलाई उपचार गर्न मेसिन भित्राएको उनले बताए । त्यस्तै अस्पतालमै स्तनपान कक्ष समेत बनाइएको उनको भनाई छ ।

उनले काम नगर्ने कर्मचारीलाई उचित व्यवस्थापन गरिने समेत उनले बताए । बिकल्प बिना सरुवा भएर गएका कर्मचारीलाई अझै रमाना नदिएको पनि उनले दावी गरेका छन् । अस्पतालको बी ब्लक ठेकेदारले हस्तान्तरण नगरेपनि समितिले सरसफाई गरेर बिभिन्न कक्षहरु सारिएको समेत उनले बताए । अस्पतालमा ९ जना कर्मचारी नियुक्ती गरेको भन्ने पत्रकारको जिज्ञाशामा रानाले ‘पेइट भोलेन्टीयर’ ६ जना राखेको बताए । पहिला देखि निशुल्क काम गरेकालाई पनि पारिश्रमिक पाउने व्यवस्था गरेको भन्दै उनले राजनीतिक दवावमा नभई आवस्यकताको आधारमा नियुक्ती गरिएको बताए । अझै अस्पतालमा १५ जना स्टाफ नर्स पदपूर्ति गर्नुपर्ने उनले बताए । अस्पताल बिरुद्ध आएका केही खवरमा चिकित्सकहरुले दुव्र्यवहार नगरेको भन्दै उनले अस्पतालको बचाउ समेत गरेका थिए ।