पाठेघर खस्ने समस्या र बच्ने उपाय

नेपाली महिलाहरुको प्रजनन् स्वास्थ्य सम्बन्धी समस्याहरु मध्ये पाठेघर झर्ने (खस्ने) ‘जसलाई आङ खस्ने पनि भनिन्छ’ एक मुख्य समस्या हो । अहिले पनि ग्रामिण भेगमा बसोबास गर्न कतिपय महिलाहरुले यसलाई स्वास्थ्य समस्याको रुपमा लिने गरेको पाइँदैन । बरु, उनीहरुले बच्चा भएपछि हुने स्वभाविक असरका रुपमा लिने गरेको पाइन्छ । सामन्य चेतना भएता पनि लाज मानेर लुकाइरहेका हुन्छन् ।
अर्कातर्फ प्रजनन् अंग र यसको कामको बारेमा हाम्रो परिवार समाजमा निकै न्यून मात्रामा छलफल गरिन्छ । किनकि यस्ता कुरा परिवारको ठूला साना सदस्यसँग गर्दा लाज र इज्जत जाने कुरा सम्झिने गरिन्छ । यसले गर्दा कतिपय महिलाहरु मानसिक, शारीरिकसहित श्रीमानबाट समेत पिडीत हुन बाध्य छन् ।
के हो पाठेघर झर्ने (खस्ने) समस्या ?
पाठेघर झर्नु (खस्नु) भनेको महिलाको शरीरमा पाठेघर रहनुपर्ने निश्चित ठाउँ छाडेर योनीबाट बाहिर आउनु वा शरीरभित्रै आफ्नो ठाउँ छाडेर तल खस्नु हो । यो समस्या मुख्यतया पहिलो बच्चा पाएको महिला तथा धेरै बच्चा पाएका पहिला जोसुकैलाई हुन सक्छ । यसलाई गाँउठाँउ अनुसार पाठेघर झर्ने (खस्ने) वा आङ खस्नु पनि भनिन्छ ।
पाठेघर खस्नुका कारण के ?
महिलाको पाठेघर झर्नु (खस्नु) को मुख्य कारण उनको गर्भाशयलाई बाँधेर राख्ने नशाहरु कमजोर भएर त्यससँग जोडिएका अंगहरु बिस्तारै तल खस्नाले हुन्छ । पाठेघर झर्नुका मुख्य कारणहरु निम्न छन् । कम उमेरमा विवाह गर्नाले कम उमेरमा बच्चा जन्माउनाले र गर्भान्तर नगरी बर्षेनी बच्चा जन्माउनाले । बच्चा जन्मिसकेपछि चाँडै साल झरेन भनेर बल प्रयोग गरी साल निकाल्नाले । सुत्केरी अवस्थामा टुक्रुक्क बसेर लुगा धुने वा गह्रौँ कामहरु गर्नाले । गर्भवती वा सुत्केरी अवस्थामा राम्रो स्याहार नपाउनाले । सुत्केरी अवस्थामा धेरै हिड्ने, गह्रौँ भारी उचाल्ने बोक्ने गर्नाले चुरोट खाएर बारम्बार खोकी रहनाले पनि पाठेघर खस्नुका कारण हो ।
पाठेघर झर्दा (खस्दा) देखिने लक्षणहरु ः
यस्तो बेला टुक्रुक्क बस्दा केही अप्ठ्यारो हुन्छ र ढाड पनि दुख्छ । खोक्दा, टुक्रुक्क बस्दा, बल गरेर कन्दा पाठेघरको मुख योनीको प्वालमा देख्न सकिन्छ । यस्तो अवस्थामा पाठेघरले पिसाबको थैलीलाई थिच्ने भएकोले छिनछिनमा पिसाब लाग्ने, कम्मर दुख्ने, खोक्दा, भारी बोक्दा योनीको मुखमा केही डल्लो आएर बसेको जस्तो हुन्छ । पुरै ठाउँ छोडी केही भाग योनी बाहिर पनि निस्कन सक्दछ ।
खोक्दा, हास्दा अलिअलि पिसाब चुहिने पनि हुन सक्छ । बाहिर निस्केको पाठेघरमा घाउ हुने, संक्रमण हुने, हिँड्न गाहृो हुने, ढाड दुख्ने हुनसक्छ । पाठेघर झरेपछि (खसेपछि) पर्ने समस्या हाम्रो समाजमा धेरै महिला तथा परिवारले महिलाको पाठेघर खस्ने समस्यालाई समस्याको रुपमा नलिई यसलाई बच्चा भएपछि हुने साधारण शारीरिक समस्या हो भनी लिने गरेको पाइन्छ । तर त्यसो होइन यो महिलाहरु भित्र लुकेको एउटा ठूलो शारीरिक तथा मानसिक समस्या हो । मुख्यतया उनमा निम्न समस्याहरु आउन सक्छन् । शारीरिकरस्वास्थ्य समस्या ढाड र कम्मर दुख्ने हिँड्दा, बस्दा, खोक्दा अप्ठ्यारो लाग्ने तल्लो पेट दुख्ने सेतो पानी बग्ने टुक्रुक्क बसेर काम गर्दा अप्ठ्यारो हुने पाठेघर बाहिरै आएको छ भने घाउ भएर अन्तमा क्यान्सर पनि हुन सक्छ ।
पारिवारिक र सामाजिक समस्या ः
यौन सम्पर्क गर्दा अफ्ठयारो हुन सक्छ । जसले गर्दा श्रीमानसंगको सम्बन्ध चिसो भएर झगडा हुने र बिस्तारै बिछोड र श्रीमानले अर्को श्रीमती ल्याउने अवस्थाको सृजना हुन सक्छ । सधैको शरीरिक समस्याबाट मानसिक तवरले पनि विक्षिप्त हुन सक्छ । सेतो गन्हाउने पानी आउने हुनाले समूहमासँगै बस्ने मान्छेलाई गन्हाउने डरले समूहमा नबस्ने बसे पनि एक्लै बस्ने र अन्तमा एक्लो महशुस हुन सक्छ ।
उपचार
पाठेघर खस्ने समस्याको विशेषगरी तीन विधिबाट उपचार गर्न सकिन्छ ।
१. व्यायाम
महिलाको प्रजनन् स्वास्थ्य सम्बन्धी तालिमप्राप्त महिलाहरुले सिकाएको ब्यायम गर्न सक्छन् । जसलाई ’किगेल्स ब्यायम’ भनिन्छ । यो ब्यायाम घरमै गर्न सकिन्छ । पाठेघर अलिकति मात्र तल खसेको भए मात्र यो व्यायामले काम गर्छ ।
२. रिङ पेसरी
खसेको पाठेघरलाई पुरानै अवस्थामा फर्काउने उपायलाई रिङ पेसरी भनिन्छ । यो विधिमा योनीमा रिङ पेसरी राख्ने गरिन्छ । योनीबाट रिङ पेसरी राखेर झरेको पाठेघरलाई भित्रै अड्काउने गरिन्छ । पाठेघरमा राखेको रिङ हरेक तीन महिनामा फेर्नुपर्ने हुन्छ ।
३. शल्यक्रिया
महिलाको पाठेघर योनीबाट बाहिरै निस्केको भएमा शल्याक्रिया नै गर्नुपर्ने हुन्छ। शल्याक्रियाबाट कसैको पाठेघर पुरानै अवस्थामा पु¥याउन सकिन्छ भने कसैमा अवस्था हेरी पाठेघर निकाल्नुपर्ने हुन्छ ।
पाठेघर खस्ने समस्याबाट कसरी बच्ने ?
१. घरै बच्चा जन्माउनु हुँदैन ।
२. कम्तिमा दुई देखि चार वर्षको अन्तरमा मात्र बच्चा जन्माउनुपर्छ ।
३. २० वर्षभन्दा अगाडि बच्चा जन्माउनु हुँदैन ।
४. गर्भवती महिलाले गरुङ्गो भारी अथवा सामान उठाउँनु हुँदैन ।
५. सुत्केरी महिलाले पटुका धेरै कस्नु हुँदैन ।
६. पौष्टिक र भिटामिनयुक्त खानेकुरा खानुपर्छ ।
७. बच्चाको उमेर अन्तरका लागि परिवार नियोजनका अस्थायी साधनको प्रयोग गर्नुपर्छ ।
८. पाठेघर सम्बन्धी समस्या भएमा चिकित्सकको परामर्श लिइहाल्नुपर्छ ।
९. किशोरीहरुलाई पोषिलो खाना खुवाउनु पर्छ ।
१०. महिलाको उमेर कम्तिमा २० वर्ष पुगेपछि मात्र विवाह गर्नुपर्छ ।
११. गर्भवती अवस्थामा कम्तिमा चारपटक र सुत्केरी अवस्थामा तीन पटक स्वास्थ्य जाँच गराउनुपर्छ ।
१२. स्वास्थ्य संस्थामा गई दक्ष प्रसुतिकर्मीबाट प्रसुति गराउनुपर्छ ।
१३. गर्भावस्था र सुत्केरी अवस्थामा पोषिलो खाना पर्याप्त मात्रामा खानुपर्छ ।
१४. गर्भावस्था र सुत्केरी अवस्थामा राम्रो स्याहार गर्नुपर्छ ।
१५. सुत्केरी भएको कम्तिमा ६ हप्तासम्म आराम गर्नुपर्छ ।
१६. सुत्केरी अवस्थामा गहृौ भारी नबोक्ने ।
१७. दोस्रो गर्भको चाहना भए परिवार नियोजनको साधन अपनाई कम्तिमा २ वर्ष पर्खने ।
घरेलु उपचार के हुन्छ ?
लुगा च्यातिएपछि सिलाउनुपर्छ, ‘लुज’ भयो या ठूलो भयो भने घटाउनुपर्छ । पाठेघर खसेको उपचार पनि यस्तै हो । कुपोषित छ भने मासुको तन्तुहरू बलियो हुँदैन, त्यसो हुँदा पोषणयुक्त खायो भने केही राम्रो हुन्छ । गर्भवती हुँदा विशेष ध्यान दिनुपर्छ । बच्चालाई स्तनपान गराइरहनुपर्छ, त्यसकारण पोषण दूधमा गएर महिलाको आफ्नो शरीरमा पोषणको कमी हुन्छ । त्यसैले पोषणयुक्त खानेकुरा खानुपर्छ । सुत्केरी हुँदा रगत बगेको हुन्छ, यसको पूर्तिको लागि पनि प्रशस्त पोषणयुक्त खानेकुरा खानुपर्छ ।