पोखरा–चीन उडानः अवसर र चुनौती

विकासले अवसर सृजना गर्छ । अवसरले सम्वृद्धिको बाटो कोर्छ । पोखरा क्षेत्रीय÷अन्तर्राष्ट्रिय विमानस्थल गण्डकी प्रदेश र नेपालकै लागि अवसर बनेर आएको छ । अहिले विमास्थलको काम धमाधम भइरहेको छ । सोचेभन्दा अघि नै विमानस्थल बन्नेमा यसका पदाधिकारीहरु ढुक्क छनन् । चीनको २२ अर्ब ऋण सहयोगमा पोखरा क्षेत्रीय विमानस्थल निर्माणले गति लिएको हो । त्यहीँको सरकारी स्वामित्वको कम्पनीले बितेको १८ महिनामा यसका धेरैजसो संरचना तयार पार्दैछ । सन् २०२१ को जुलाई १० तारिखका दिन निर्माण सम्पन्नहुँदा यो नेपालको हवाई उड्डयन क्षेत्रको लागि महत्वपूर्ण उपहार सावित हुनेछ । पोखरा हवाई मार्गबाटै अन्तर्राष्ट्रिय जगतसँग जोडिने अवसर पाउने छ । विमानस्थल बन्दैगर्दा मित्रराष्ट्र चीनले यहीँबाट चीनका केही शहरहरुमा उडान भर्ने अनुमति दिएको छ । यसले पोखराको आकास फराकिलो भएको छ, पर्यटन उद्योगमा आशा पलाएको छ । चीनले एक कदम अगाडि बढेर पोखरा र गौतमबुद्ध विमानस्थलबाट हप्तामा २१ वटा उडान भर्न दिने भएको छ । यो पोखरा विमानस्थलको लागि अवसर हो । अवसरको सदुपयोग गर्ने पनि हामीले नै हो । अब नेपालमा चिनिया पर्यटक कसरी आकर्षित गर्ने भन्नेतर्फ हामीले ध्यान केन्द्रित गर्नुपर्ने भएको छ । चिनियाहरुलाई सहज हुने पूर्वाधार निर्माण तथा उनीहरुसँग सहज बोलिचाली गर्न सक्ने जनशक्ति पनि तयार गर्नुछ । नत्र भने दिइएको सुविधा कागलाई बेल पाकेजस्तो हुने निश्चित छ ।

अर्कोतर्फ, नेपाली ध्वजावाहक नेपाल वायुसेवा निगम समस्यामा झेलिएको छ । ऊसँग जहाज नै छैनन् र भएका जहाजहरु पनि ग्राउण्डेड छन् । नेपाल एयरलाइन्सले अनुमतिप्राप्त गन्तब्यमा पनि उडान भर्न सकेको छ्रैन । आफूसँग विमान नै नहुने र अनुमतिप्राप्त गन्तब्यमा उडान भर्न नसक्ने हो भने विमानस्थलको उपादेयतामाथि नै प्रश्नचिन्ह उठ्न सक्छ । पछिल्लो समय नेपालका केही विमानस्थलहरु संचालनमा ल्याइए । उदाहरणको लागि बागलुङको बलेवामा विमान बस्ने र उड्ने तालीका बन्यो । नगरपालिकाले आर्थिक सहयोग दिएको यो उडान यात्रुको अभावमा रोकिन पुग्यो । भएका भौतिक पूर्वाधारहरुको उपयोग गर्न कसरी हामी चुकेका छौँ भन्ने यो गतिलो उदाहरण हो । पोखरामा अहिले मौजुदा विमानस्थल निजी हवाई कम्पनीको लागि आकर्षक गन्तब्य हो । यहाँ आउने र जाने पर्यटकहरुको संख्या बढी भएकाले नै यो निजी कम्पनीको रोजाईमा परेको हो । अब नयाँ विमानस्थल बन्दैछ । यसका ठूला विमान आउजाउ गर्छन् । विमान कम्पनीहरुले आफूलाई घाटा हुने विमानस्थलमा उडान भर्दैनन् । यस मानेमा पोखराले आफूले पाएका गन्तब्यहरुबाट कसरी बढी पर्यटक ल्याउने भन्नेबारे तयारीसँगै यो विमानस्थलबाट आफ्नै विमान कसरी चलाउने भन्ने सोच्नुपर्ने भएको छ । नत्र, पोखरामा बनेको विमानस्थलबाट विदेशीले नै नाफा लिने निश्चित छ । विदेशी विमान कम्पनीलाई आउनै नदिने भन्ने होइन तर ग्राउण्ड ह्याण्डलिङ गरेर केही आर्जन गर्नेभन्दा पनि नेपाली विमानहरुको क्षमता बिस्तार अहिलेको आवश्यकता भएको छ ।

जे होस्, चीनले पोखराबाट आफ्ना शहरमा उडान भर्न दिएर नेपाल र पोखराको लागि एउटा अवसर अनि आशा प्रदान गरेको छ । पोखरा विमानस्थल संचालनमा आउनुपूर्व नै अन्य गन्तब्यहरुको खोजीको जिम्मा नेपालीकै काँधमा छ । सन् २०२२ सम्म २० लाख पर्यटक ल्याउने सपना पालेको गण्डकी प्रदेश सरकारले यो दिशामा अब युद्धस्तरमा काम गर्नुपर्ने भएको छ । सबै कुरा विेदेशीले गरिदिँदैनन् र हाम्रो आवश्यकता आफैले पूरा गर्नुपर्छ, यो बह्मज्ञानबाट प्रदेश सरकार निर्देशित हुनैपर्छ ।