बिजुलीको अभावमा उद्योग चल्न पाएनन्

बागलुङ, १३ साउन – गत बर्ष नुवाकोटबाट आएका दुई व्यवसायीले करोडौं लगानी गरेको कपास उद्योगको उद्घाटनमा मोटर नचलेपछि हातले घुमाएर उद्घाटन भयो । तर काम नभएपछि उद्योग संचालनमा आउन सकेन । करोडौै लगानी गरेर उद्योग खोलेका व्यवसायीले लगानीको उद्योग चलाउन अझै बिजुली पर्खेर बसेका छन् । लघु विद्युतबाट संचालन गरिने उद्योगमा क्षमता कम भएपछि उद्योगमा गरेको करोडौं लगानी त्यसै खेर गएको स्थानीय व्यवसायी चिन्तामणी शर्माले बताए ।
नगरप्रमुख देवकुमार नेपालीको होटलमा लिफ्ट जडान गरिएको छ । बिजुली अभावले त्यो पनि संचालनमा आएको छैन । यस्ता धेरै उद्योग संचालन शुरु भएर विद्युत आपूर्तिकै अभावमा बन्द हुने, विस्थापित हुने र पलायन हुनेक्रम बढेको छ ।

ढोरपाटन नगरपालिकामा अहिले भुजीखोला र रिठाखोला जलविद्युत आयोजनाको विद्युतले बिजुली बाल्न मात्र पुगेको छ । राष्ट्रिय प्रसारण लाईन नभएकोले उद्योग संचालनमा समस्या परेको छ । ग्रिल, फर्निचर, चाउमिन लगायतका उद्योग संचालन गर्न लागेका र खोलेका व्यवसायीहरु धमाधम पलायन भैरहेका छन् । व्यवसायी र नगरपालिकाले निसीखोलाको सेरामा ९ सय ५० किलोवाटको विद्युत निकाल्ने योजनासहित दर्ताका लागि जाँदा दशक अघिनै दर्ता भएर झोलामा रहेको भेटिएको नगर प्रमुख देवकुमार नेपालीले बताए ।  दर्ता गरेका दुई व्यापारी भने सम्पर्कमा छैनन् । ‘विद्युत आपूर्ति नभएपछि व्यवसायमा लगानी गर्नु बालुवामा पानी हाल्नु जस्तै भएको छ’ शर्माले भने, ‘यो समस्या समाधानका लागि झोलामा खोला राख्नेहरुलाई कारवाही गर्नुपर्छ ।’

नगरपालिका भित्रका झण्डै २० हजार घरले विजुली बाल्न पाएका छैनन् । लघु बिद्युतको बिजुलीले चाहेजती बाल्न पाउँदैनन् । मुख्य बजारमा पनि साँझको समयमा लोड नपुगेर बन्द हुने गर्छ । स्थानीयले श्रमदान गरेर बनाएका दुईवटा लघु आयोजनापनि गत बर्षको बाढीले भत्काएपछि धेरै समय अन्धकारमा बस्नु परेको शर्माले बताए । चन्दा संकलन गरेर मर्मत गरेपछि उत्पादन दिएपनि त्यसले बढ्दो जनसंख्यालाई एक एकवटा वत्ति बाल्न पनि नपुगेको गुनासो गरे । यो समस्या निसीखोला, तमानखोला र बडिगाढ गाउँपालिकामा पनि छ । यहाँका बासिन्दाले पनि लघु विद्युतबाट बिजुली मात्र बालेका छन् ।
नेपाल बिद्युत प्राधिकरणले यहाँ सब–स्टेशन बनाएर राष्ट्रिय प्रसारण लाईन लैजाने योजना बनाएको छ । तत्काल सबस्टेशन बनाउन नसकिने भएकोले हरिचौरको सबस्टेशनबाट चार्ज गरेर बालिने योजना राखिएको छ । २०६४ सालमा खोला दर्ता गरेका व्यापारी भने राजधानी बस्छन् । झोलामा खोला राख्ने दुई व्यापारीको नाम भने उनले बताउन चाहेनन् । किनेर भएपनि उत्पादन गर्ने भन्दै काठमाण्डौ पुगेका स्थानीयबासीलाई उनीहरुले भेट्ने आश्वासन मात्र दिएर भुलाएको शर्माले गुनासो गरे ।

विद्युत आपूर्ति नभएकै कारण कुखुरा पाल्न खोजेका किसान पनि लगानी पछि हटेका छन् । ‘रातभर विजुली बालेर पाल्नुपर्छ, चिसो मौषममा साना चल्ला सबै मर्छन्’ स्थानीय भुमा कुँवरले भनिन्, ‘लगानी गरेर पनि काम नभएपछि हामी अन्यत्रै बसाई सर्नुपर्ने बाध्यतामा पुगेका छौं ।’ यो पिडा होटल संचालकलाई पनि परेको छ । विद्युत अभावमा फ्रिज संचालन गर्न नपाएको गुनासो बढेको छ ।
बुर्तिवाङ सदरमुकाम पछिको ठूलो बजार हो । चलचित्र मन्दिर निर्माण गरेका व्यवसायी देखि हाल संचालनमा रहेका सामुदायिक रेडियोलाई पनि विद्युत आपूर्तिको समस्या चुनौती भएको छ । रेडियो संचालकले अझै जेनेरेटरको व्यवस्था गरिरहनु परेको बताए । नीजि र सामुदायिक विद्यालयले राखेका कम्प्युटर कक्षा प्रभावित भएका छन् भने क्याम्पसका प्रयोगशालामा पनि विद्युतकै अभाव भएको शिक्षकहरुले गुनासो गरे । नगरपालिकाले ठूला आयोजनामा लगानी गरेर केही बर्षमा उज्यालो बुर्तिवाङ बनाउने योजना बनाएको नगर प्रमुख देवकुमार नेपालीले बताए ।
प्राधिकरणले पनि काम भने थालेको छ । तर लामो दुरी र सब स्टेशन बनाउनु पर्ने भएकाले ढीला भएको प्राधिकरणको बिद्युत बितरण केन्द्र प्रमुख कपिलदेव पाण्डेले बताए । बुर्तिवाङकै सेरामा जलविद्युतको सर्भे भएको थियो । लगानी कर्ताले वास्ता नगर्दा उक्त बिद्युत उत्पादन गर्ने तयारी नभएको हो । झोलामा राख्ने बिजुलीलाई लगानी गरेर निर्माण गर्न प्रकृयाको खोजी भैरहेको नेपालीले बताए । एउटाको नाउँमा दर्ता भएको बिद्युत नामसारी गर्ने काम भने झण्झटीलो छ ।