स्थानीय जातको आलुको बिउ पाउनै कठिन

बागलुङ, १४ साउन – बागलुङका किसानहरुले हिउँदमा लगाउने स्थानीय जातको आलुको बिउँ अभाव देखिएको छ । गत चैत÷बैशाखमा परेको असिना पानीका कारण बर्षे आलुको उत्पादन घटेकाले स्थानीय जातको आलुको बिउँनै अभाव भएको हो । बिशेष गरी बर्षात्को समयमा उत्पादन गरेर हिउँदे बिउँ तयार गर्ने बागलुङको ताराखोला, भकुण्डे, दमेकको कालापाताल लगायतका क्षेत्रमा यस बर्ष आलुको उत्पादन ह्वात्तै घटेको छ । उच्च पडाडी क्षेत्रमा लगाईने स्थानीय जातको आलुलाई हिउँदको समयमा किसानले समथर भू–भागमा लगाएर उत्पादन लिँदै आएका थिए । खेतबारीको काम सकेर हिउँदे जोहोमा लागेका किसान आलुको बिउँ नपाएपछि चिन्तामा परेका छन् ।
                                                                                               ‘रोपाईको मेसो सकियो अब गोड्ने बेला नहुनेसम्म आलुको बिउँ खोजेर राखिन्थ्यो’ बागलुङको नारायाण्स्थानका किसान लालप्रसाद पौडेलले भने ‘अहिले त सधै लिन जाने ठाउँमा आलुनै फलेन भन्छन् ।’ साउनमा ल्याएर भण्डारण गरेको आलु किसानले असोज, कार्तिक महिनामा लगाउने गरेका थिए । यो बर्ष बिउँ नपाएका कारण बाहिरबाट खरिद गरेर लगाउनु पर्ने अवस्था आएको किसान पौडेलले बताए । बागलुङ नगरपालिका १० भकुण्डेको आलु बलेवा, जैमिनी नगरपालिका र पर्वतको कुश्मा तथा फलेवास नगरपालिका सम्मका किसानले बिउँको रुपमा प्रयोग गर्ने गरेका थिए । अहिले भकुण्डेमा आलुको उत्पादन शत प्रतिशतले घटेको किसान बताउँछन् । ‘पहिले–पहिले चार मुरी लगाएको ठाउँमा बिस मुरी फल्थ्यो, कोही साटिन्थ्यो कोही बेचिन्थ्यो’ भकुण्डेका आलु उत्पादक किसान चन्द्रबिर थापाले भने ‘अहिले त पाँच मुरी लगाएको ठाउँमा चार मुरी फलेको छ । आउनेलाई दिनु कि बिउँ जगाउनु ।’ भकुण्डेको आलु बिगतमा फल्ने जस्तो राम्रो पनि छैन्, निकै साना दाना लागेको थापा बताउँछन् ।
                                                                            गत बर्ष झण्डै ४० हजार टन आलु उत्पादन भएको ताराखोलामा यस बर्ष बिउँ समेत नउठेकाले बेँसीका किसानले बिउँ पाउने छैनन् । ताराखोलामा प्रतिकिसानले हरेक बर्ष १५ देखि ९० क्वीन्टलसम्म आलुको उत्पादन गर्दै आएका थिए । यो बर्ष भने चार÷पाँच क्वीन्टल समेत नपुगेको किसानको गुनासो छ । आलुको बिरुवा हुर्किने बेलामा परेको असिना पानीले उत्पादन घटेको ताराखोला गाउँपालिका–५ करिमेलाकी नन्दी घर्तिले बताईन् । आलुको बिरुवा हुर्किने बेलामा असिना पानी परेका कारण उत्पादनमा गिरावट आएको कृषि प्राबिधिकहरु बताउँछन् । ‘बिरुवा मासियो भने जमिनमुनी आलु फल्दैन्’ जैमिनी नगरपालिकाको कृषि शाखाका प्रमुख अर्जुन प्रसाद श्रेष्ठले भने ‘अहिले आलु राम्रो फलेको छैन, किचरा दाना हुनुको कारण असिनाले बिरुवा मास्नुनै हो ।’ स्थानीय जातको आलुको स्वाद मिठो हुने भएकाले किसानले अन्नबालीसँग साटासाट गरेर आलुको बिउँको जोहो गर्ने गरेका थिए । ‘धान, कोदो, मकैसँग साटिन्थ्यो, नभए पैसा लिएर बेचिन्थ्यो’ भकुण्डेका किसान थापा भन्छन् ‘अहिले त आँफैले लगाउने बिउँ छैन, के बेच्नु, के साट्नु !’ स्थानीय बजारमा हरेक बर्ष साउन महिना लागेपछि नियमित प्रयोग गर्ने र बिउँको लागि छुट्टाछुट्टै आलु गाउँबाट आउने गरेको भएपनि अहिले आलु नदेखिएको बागलुङ बजारका व्यवसायी नन्दप्रसाद घिमिरेले बताए । स्थानीय आलु बागलुङमा पाथीको १ सय ५० देखि १ सय ७० रुपैयाँ किलोसम्म बिक्री हुने गरेको थियो ।