मान्छे रहन बाघ चाहिन्छ !

बाघसँग जोडिएका उक्ति, साहित्यमा प्रयुक्त बाघको उपमाले पनि यो पुष्टी गर्छ कि, मान्छे आदिमकालदेखि नै बाघप्रति आकर्षित थियो । बाघ बूढो र स्याल तन्नेरी हुँदैन, मरेको बाघको जुँगा उखेलेर बहादुर भइन्न् भन्नेजस्ता उखानहरु हुन् कि बाघचालजस्ता चालहरु नै किन नहून् ? बाघको आनिबानीको मान्छेले लुकेरै भए पनि अवलोकन गथ्र्यो । बाघसँगको भय त छँदै थियो तर बाघ वास्तवमै साहसको प्रतिक थियो ।
बाघ कालान्तरदेखि नै मांशहारी हो । बूढोहुँदा पनि उसले घाँस खाँदैन । विचित्र बानीका कारण बाघ सौन्दर्य, साहस र निडरताको प्रतिक बन्यो÷ बनिरहेको छ । तर, दुर्भाग्य ! यो सुन्दर जनावरको अस्तित्व संकटमा छ । बाघ दिनानुदिन घटिरहेका छन् । मान्छेको आफूप्रतिको आकर्षण नै यसको लागि दुर्भाग्य बन्यो । मान्छेले लुकीछिपी बाघको सिकार गर्न थाल्यो । उसका सुन्दर अंगहरु बहुमूल्य बन्न पुगे । बाघ बस्ने जंगल मासियो । आहाराको कमी हुन थाल्यो । अनि बलशाली जनावर आत्मरक्षा गर्न बाध्य बन्यो । सन् १९९५ मा नेपालमा नै बाघको संख्या जम्मा ९५ वटामा सीमित हुन पुग्यो । संसारभर नै यस्तो अवस्था रह्यो । सुन्दर जनावरको अस्तित्व लोप हुन थालेपछि केही संरक्षणवीदहरु चिन्तित बने । उनीहरुले बाघको आवश्यकता महशुस गरे अनि संरक्षणको अभियान थाले । नेपाल पनि यो अभियानमा सामेल बन्यो । अहिले नेपालमा २ सय ३५ वटा बाघ रहेको विश्वास गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज ९३, बर्दिया राष्ट्रिय निकुञ्ज ८७, बाँके राष्ट्रिय निकुञ्ज २१, पर्सा राष्ट्रिय निकुञ्ज १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका छन् । संसारका १३ वटा देशमा मात्रै बाघ पाइन्छ । अहिले लाओसमा जम्मा २ वटा बाघ छन्भने भारतमा सबैभन्दा बढी बाघ बस्दै आएका छन् ।
बूढापाकाहरु भन्थे, ढुंगाको भर माटो र माटोको भर ढुंगा । हो, प्रकृतिले हरेक जीव जनावरहरुलाई एकअर्काको सहायकको रुप उभ्याएको छ । यहाँ एउटाको अस्तित्व मेटिँदा अर्को बच्छु भन्नु मुर्खता नै हुन्छ । बनको बाघले मान्छेलाई प्रत्यक्ष केही नगर्ला तर बन संरक्षणमा उसले दिएको योगदान चानचुने छैन र होइन । बन नै नरहे बाघ मात्र होइन, मान्छे पनि नरहने र पृथ्वीको अस्तित्व नै संकटमा पर्ने प्रमाणित विषय हो । यसैले बाघ संरक्षण गर्नु भनेको एउटा हिंश्रक जनावर जोगाउनु मात्रै होइन, पर्यावरण र मानव सभ्यता जोगाउनु हो । मानव सभ्यता जोगाउन बाघको संरक्षण हुनै पर्छ । अर्कोतर्फ यो सुन्दर जनावर भोलिका हाम्रा सन्ततिले पनि हेर्न पाउनुपर्छ । यसको लागि हुँदै गरेका संरक्षणका अभियानलाई निरन्तरता दिँदै चोरी सिकार नियन्त्रण, पर्यावरण अनि बन संरक्षणमा अझ द्रूतगतिले काम गर्नुपर्छ । अहिले नेपालले बाघ संरक्षणमा देखाएको सक्रियताले आशा जगाएको छ । विश्व बाघ दिवस मनाउँदै गर्दा बाघ संरक्षणको लागि दीर्घकालीन योजना पनि तयार पारिनुपर्छ । नत्र कवि तीर्थ श्रेष्ठको तलको कविताजस्तै बाघ त रहने छैन नै, बाघ कस्तो हुन्छ भन्ने हाम्रो भावि पुस्ता पनि संकटमै पर्ने निश्चित छ ।
एकदिन नातिले
बाजेसँग सोध्नेछ–
बाजे, बाघ भनेको कस्तो हुन्छ ?
मान्छे जस्तो हुन्छ कि
मान्छेभन्दा भयानकको हुन्छ
बाजे असमञ्जसमा
आफ्नो बूढो कपाल कन्याउने छ
अनि भन्ने छ–
बाबु, बाघ मान्छेभन्दा भयानक हुन्थ्यो
तर अहिले मान्छे बाघभन्दा भयानक भएको छ
त्यसैले तिमी छौ र म छु
तर, बाघ छैन ।