कृषकलाई सधैं सास्ती

‘आलु मीठो ताराखोलाको…’ गीत साह्रै चर्चित छ । उच्च भेगमा फल्ने आलु मीठो मात्रै होइन, किसानहरुको आम्दानीको स्रोत पनि हो । ताराखोलामात्र नभएर बागलुङको ढोरपाटन, म्याग्दी, मुस्ताङजस्ता उच्च भूभागमा फल्ने आलुको माग बढ्दै गएको छ । तर, अहिले बजारमा माग भएको त्यही आलुको बीऊ नै अभाव हुन थालेको खवर बाहिर आएको छ । जुन आलुको अत्यधिक माग छ ,त्यही आलुलको बीऊ नै अभाव हुनु भनेको राम्रो संकेत होइन । गतवर्ष ४० लाख मेट्रिक टन आलु उत्पादन भएको ताराखोलामा यो पटक आलु उत्पादन घट्न पुग्यो । उत्पादन नै घटेपछि बीऊ जोगाउन पनि मुस्किल प¥यो । यो शुभ संकेत होइन । आलु उत्पादन किन घट्यो र बीऊ जोाउन के गर्न सकिन्छ भन्नेबारे बेलैमा नसोचे आलुको पकेटक्षेत्र मानिएको बागलुङ आफै आलु बेसाउने अवस्थामा पुग्न बेर छैन ।

हामीले सुन्दै र भन्दै आएको कृषिप्रधान देश हो नेपाल । कृषिमा आश्रित अर्थतन्त्र भएर पनि नेपालले कृषि क्षेत्रमा उन्नति गर्न सकेको छैन । कृषि जिविकोपार्जनको लागि मात्रै भएको छ । व्यावसायिक रुपले कृषिकर्म गर्ने जमात निकै सानो रहेको छ । निर्वाहमुखी कृषिले देश उभो लाग्दैन । कृषिमा आधुनिकीकरण गर्न नसक्दा देशले तरकारीदेखि फलफूल र चामल पनि आयात गर्नुपर्ने भएको छ । बोलीमा कृषिप्रधान भन्ने तर कृषि उत्पादन नै बेसाउनु पर्ने भएपछि के को कृषिप्रधान ? यतातर्फ सोच्न ढिला भइसकेको छ । अर्कोतर्फ जो किसानहरु कृषिकर्ममा होमिएका छन्, उनीहरुलाई पनि राज्यले प्रोत्साहित गर्न सकेको छैन । धान रोप्ने बेला यहाँ मलको अभाव हुन्छ । किसानहरु धान गोड्ने बेलासम्म पनि रासायनिक मल खोज्दै हिँड्न विवश छन् । भनेको बेला मल, बीऊ नपाउने यो रोग वर्षौँदेखि उस्तै छ । उखु किसानहरुको समस्या पनि उस्तै छ । उनीहरुले वर्षौअघिको उखुको भुक्तानी पाएका छैनन् । राज्य चिनी उद्योगीलाई पोस्ने काममा लागेको छ र चिनीको आयात रोकेर नेपालीलाई महंगो चिनी खान बाध्य पार्दैछ । अर्कोतर्फ सिंचाईको अभाव, उन्नत बीऊको आपूर्ति हुन नसक्नु र परम्परागत रुपले नै खेती गरिनुले पनि नेपालले कृषिमा फड्को मार्न नसकेको हो । राज्यले कृषिलाई प्राथमिकतामा राखेको छ । अनुदानको व्यवस्था पनि गरेको छ । प्रधानमन्त्री, मुख्यमन्त्रीलगायतका नाममा कृषि आधुनिकीकरण परियोजनाहरु पनि संचालनमा आएका छन् । तर, ती परियोजनाहरु सीमित व्यक्तिलाई पोस्ने काममा मात्र प्रयोग भएको छ । वास्तविक किसानले यीय योजनाबाट लाभ लिन सकेका छैनन् ।

गण्डकी प्रदेशको कृृिष मन्त्रालयले केही समयअघि किसानहरुलाई सम्मानित गरेको थियो । घाँस किसानलाई सम्मानित गर्ने कार्यक्रममा एक किसानले भनेका थिए,‘ मैले वर्र्षौँदेखि कृषिकर्म गर्दै आएको छु तर कतैबाट सहयोग पाएको छैन, सहयोग त टाठाबाठाले मात्रै लिएका छन् ।’ उनको जस्तो पीडा अरु किसानहरुको पनि छ । वास्तविक किसानसम्म यस्ता परियोजना नपु¥याउने हो भने कृषिको विकास हुन सक्दैन र देश अझ परनिर्भर बन्नपुग्छ ।अर्कोतर्फ किसानहरुको प्रतिष्पर्धी क्षमता बढाउने, उनीहरुका उत्पादनहरुको बजारीकरण गर्ने काममा पनि सरकारले ध्यान दिनुपर्छ । किसानलाई सास्ती दिने काम अब बन्द हुनैपर्छ ।