महिला, बालबालिका र सामाजिक अगुवा समेत हराए

बागलुङ, १५ साउन – पछिल्लो समय बागलुङमा मानिस हराउने क्रम बढेको छ । महिला बालबालिकाहरु हराउने र फेला पर्ने क्रम सँगै पाका मानिस पनि हराउन थालेका छन् । हराएका महिला र बालबालिकाहरु मध्ये धेरैजसो फेला पर्ने गर्छन् । तर पाका र सामाजिक सेवामा लागेका समेत हराएको हरायै हुने गरेका छन् । घरको काममै हिडेकाहरु पनि नफकेपछि परिवारजन पिडामा छन् । गत असार ३ गते बुटवलमा स्वास्थ्य परीक्षणका लागि गएका गलकोटका सामाजिक व्यक्ति अहिले सम्म बेपत्ता छन् । बुटवलको ट्राफिक चोकदेखि हराएका गलकोटका ६३ बर्षिय लोकबहादुर केसी पनि अहिले सम्म भेटिएका छैनन् । उपचारका लागि लुम्बिनी अस्पताल गएका केसी असार ३ गते दिउसो ३ बजे सम्म परिवारको सम्पर्कमा थिए । उनको मोवाइल ३ गते बेलुकी देखिनै बन्द भएको बुहारी रिता खत्रीले बताईन् । बेपत्ता केसीको रुपन्देही प्रहरी, आफन्त गलकोटबाट रुपन्देहीमा बसोबास गर्ने गाउँले लगायतले खोजी गरिरहेका छन् । तर अहिले सम्म पत्तो लागेको छैन ।

बागलुङ नगरपालिकाका पूर्व जनप्रतिनिधि पनि हराएको अझै भेटिएका छैनन् । गत चैतको २८ गते घरबाटै हराएका यहाँका पूर्व जनप्रतिनिधिको अहिले सम्म पत्तो नलागेको हो । बागलुङ नगरपालिका वडा नं. ४ कुँडुले घर भएका ६६ बर्षिय उमानाथ शर्मा बेपत्ता भएको चार महिना सम्म पनि पत्तो लागेको छैन । पुन संरचना अघिको नगरपालिका वडा नं. १० का अध्यक्ष भैसकेका उनी सामाजिक सेवामा लागेका थिए । परिवारका सदस्यले खोजी गरिदिन बेपत्ता भएकै भोलीपल्ट प्रहरीमा उजुरी गरेका थिए । तर अहिले सम्म उनी किन र कता गए भन्ने प्रहरीले पनि कुनै सूचना दिन नसकेको हो । उनी बेपत्ता भएको दिन स्थानीयले ढोडेनी भन्ने स्थानमा देखेको भनेपछि त्यस तर्फ गाउँलेहरु खोजी गर्न गएका थिए । उनको घर वरपर ठूलो भीर छ । भीर मुनी कालीगण्डकी नदी छ । प्रहरीले पनि संभावित स्थानमा खोजी गरेको बतायो । अहिले सम्म कुनै पत्तो नलागेपछि खोजी अभियानकै रुपमा राखिएको प्रहरी नायव उपरिक्षक झबिन्द्रप्रसाद भट्टराईले बताए ।

बिभिन्न घटनामा हराएकाहरुको उजुरी आएपछि एकदुइ दिन मात्र खोजी गरिन्छ । त्यसपछि प्रहरीले वास्ता नगरेको आफन्तहरु गुनासो गर्छन् । ‘निरन्तर दवाव र स्थानीयको पनि चासो नभएसम्म खोजी अभियान पूर्ण हुँदैन’ अधिवक्ता राम शर्माले भने, ‘सूचना दिएर उम्कने प्रवृत्ति पनि छ ।’ जिल्ला प्रहरीको तथ्यांक अनुसार आर्थिक बर्ष २०७५÷०७६ मा मात्र बागलुङबाट ८४ जना महिला, १४ बालक र १४ बालिका गरी १ सय १२ जना हराएको तथ्यांक छ । ती मध्ये ४३ महिला, ११ बालक र १० बालिका फेला परेका छन् । अझै ४१ जना महिला, ३ बालक र ४ बालिका सहित ४९ जना फेला पर्न नसकेको महिला सेलकी देवी पूर्जाले बताईन् । हराएको उजुरी गर्न आउने आफन्तले फेला परेको जानकारी नदिंदा यतिधेरै मानिस हराएको हुन सक्ने प्रहरी उपरिक्षक नवराज भट्ट बताउँछन् । ‘कतिपय बिबाह गरेर हराएको देखिन्छ, कतिपय बास्तविक रुपमा हराएका छन्’ भट्टले भने, ‘कतिपय खोजीको सूचिमा छन् ।’ सामाजिक क्षेत्रमा योगदान पु¥याएकै व्यक्तिहरु हराउँदा प्रहरीले सबै संयन्त्र प्रयोग गरेर खोजेको उनले बताए ।

बेपत्ता पूर्व जनप्रतिनिधि र गलकोटका केसीको अहिले सम्म कुनै पत्ता नलागेको हो । ‘म आएपछि बेपत्ताको खोजीमा एकपटक दोहो¥याएर फोन सम्पर्क पनि गर्न थालेको छु’ भट्टले भने, ‘समग्रतामा मानव बेचबिखन र अपहरणका कारणले हराउने समस्या यहाँ छैन ।’ मानसिक समस्याले हराएका तथा आत्महत्या गरेका केही घटनामा भने शव नभेटिएसम्म प्रमाणित नहुने महिला तथा बालबालिका सेलका प्रमुख बिक्रम शर्माले बताए । उजुरी गर्न आएकै जस्तो भेटिएपछि सूचना दिने चलन नहुँदा प्रहरीमा धेरै हराएको सूचि देखिएको उनले बताए ।