कालिका पत्रकारिता पुरस्कार प्रदान

बागलुङ, १५ साउन – नेकपाका नेता देबेन्द्र पौडेलले सूचनाको हक सम्बन्धी बिधेयक हुबहु पारित हुन नदिने बताएका छन् । बागलुङमा आयोजित एक पुरस्कार बितरण कार्यक्रममा बोल्दै पौडेलले संचार माध्यम र पत्रकारितालाई अप्ठ्यारो पर्ने गरी कुनैपनि निर्णय नगरिने बताए । ‘बिधेयकमा भएका त्रुटीलाई सच्याएर संशोधन सहित मात्र पारित गरिन्छ’ उनले भने, ‘लोकतन्त्र र प्रेस स्वतन्त्रताको बिपक्षमा जाने अधिकार कसैलाई पनि छैन ।’ स्वतन्त्र प्रेसको कुरा गरेर जथाभावी लेख्ने छुट भने कसैलाई नभएको उनले प्रष्ट्याए ।

बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिले प्रदान गर्ने कालिका पत्रकारिता पुरस्कार पौडेलले प्रदान गरेका थिए । गुठीले यस बर्षको पुरस्कार पत्रकार राजेशचन्द्र राजभण्डारी र संगम घर्तीलाई प्रदान गरेको थियो । ५ हजार नगद सहित उनीहरुलाई पौडेलले प्रमाणपत्र पनि हस्तान्तरण गरे । सरकारले ल्याएको गुठी बिधेयक अध्ययन बिनै बिरोध आएको पौडेलले टिप्पणी गरे । ‘सयौं बर्षदेखि गुठीको नाउँमा भ्रष्ट्राचार भएको थियो,त्यसलाई नियमन गर्न खोजिएको हो’ उनले भने, ‘सडकमै आन्दोलन भैसकेपछि सरकार व्याक भएको हो ।’ गुठीको नाउँका बेथिती अन्त्य नगरे सम्म भ्रष्ट्राचारको जालो पनि नतोडिने उनले बताए । देशको अराजक अबस्थाको उजागर गर्न पत्रकारिताले महत्वपूर्ण योगदान गरेको भन्दै पौडेलले बेथिती बिरुद्ध भने निर्धक्क भएर कलम चलाउन उनले आग्रह समेत गरे ।

कार्यक्रममा पर्वतबाट पत्रकारिता गर्दै आएका दुइ जनालाई सम्मान पनि गरिएको थियो । गुठीले नेपाल पत्रकार महासंघ पर्वतका उपाध्यक्ष प्रनिस गिरी र कान्तिपुर दैनिकका संवाददाता अगन्धर तिवारीलाई सम्मान गरेको हो । कालिका मन्दिर र यहाँको पर्यटन प्रवद्र्धनका लागि सहयोग गरेको भन्दै गुठीले उनीहरुलाई सम्मान गरेको थियो । उक्त अबसरमै टिभि अन्नपूर्णलाई पनि संस्थागत सम्मान गरिएको थियो । कार्यक्रममा नेपाल कम्प्युनिष्ट पार्टी बागलुङ इन्चार्ज बलाबती शर्मा, कांग्रेस जिल्ला सभापति दिपेन्द्रबहादुर थापा, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष बिजय राना, पुरस्कृत व्यक्तित्व राजेशचन्द्र राजभण्डारी, संगम घर्ती, प्रनिस गिरी र अगन्धर तिवारीले पनि मन्तव्य व्यक्र गरेका थिए । कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष राजु खड्काको अध्यक्षता, कोषाध्यक्ष राजिन खड्काको संचालन र सदस्य नारायण शर्माको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।